|
फाइल फोटो

बाँके : बाँकेको नरैनापुर गाउँपालिकाले अवकाश प्राप्त कर्मचारीलाई पुनः कर्मचारीमा नियुक्त गरेको रहस्य बाहिर आएको छ। साविकको नरैनापुर गाविसमै सचिव रहेका नायब सुब्बा मोहम्मद इस्माइल खाँलाई अवकाशपछि पनि गाउँपालिकाले पुनः नियुक्त गरेको रहस्य बाहिर आएको हो।

निजामती सेवा ऐन, २०४९ को दफा ३३ बमोजिम व्यक्तिगत विवरण (सिटरोल) मा उल्लेखित जन्ममिति अनुसार २०७५ मंसिर ३ गते ५८ वर्ष पूरा भएपछि उनले अनिवार्य अवकाश पाएका थिए। अनिवार्य अवकाशपछि पनि उनी हालसम्म नरैनापुर गाउँपालिकामै कार्यरत रहेको पुष्टि भएको छ।

कर्मचारी संकेत नं. १२२३३६ रहेका खाँ अनिवार्य अवकाश भएको भन्दै मिति २०७५ वैशाख ७ गते नै जिल्ला समन्वय समितिलाई जानकारी पत्र पठाइसकिएको छ। उक्त पत्र मिति २०७५ वैशाख २६ गते जिल्ला समन्वय समितिमा दर्ता भएको देखिन्छ। तर, उनी हालसम्म पनि नरैनापुर गाउँपालिकामै कार्यरत छन्।

अवकाश प्राप्त कर्मचारी खाँ अहिले पनि गाउँपालिकाको जिन्सी प्रशासन तथा खरिद एकाइ प्रमुखका रूपमा कार्यरत रहेको गाउँपालिकाको वेबसाइटमा समेत देखिन्छ। उनले राज्यकोषको चरम दुरुपयोग गर्दै दोहोरो सुविधा लिइरहेको अन्य कर्मचारीहरु बताउँछन्। उनले अवकाशपछि पाउने निवृत्तिभरण, औषधोपचार र अन्य सुविधाहरूका साथै गाउँपालिकाको कर्मचारीका रूपमा तलबभत्ताका साथै अन्य सेवा सुविधा लिँदै आएका छन्।

स्थायी कर्मचारीलाई पन्छाएर अवकाश लिइसकेका कर्मचारीलाई पुनः नियुक्ति गरी महत्वपूर्ण जिम्मेवारी दिएपछि गाउँपालिकाका कर्मचारीहरूसमेत रुष्ट बनेका छन्। 'स्थायी कर्मचारीलाई जिम्मेवारी नदिएर अवकाश लिइसकेका कर्मचारीलाई पुनः नियुक्त गरेर महत्वपूर्ण शाखामा हालीमुहाली गर्न दिइएको छ,' गाउँपालिकाका एक कर्मचारीले भने।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले अवकाश प्राप्त कर्मचारी खाँ गाउँपालिकामै कार्यरत रहेको स्वीकार गरे पनि थप जानकारी दिन चाहेनन्। यस विषयमा जनप्रतिनिधिहरूसँग बुझ्न भन्दै उनी पन्छिए। गाउँ कार्यपालिकाले निर्णय गरेको भन्दै उनले भने, 'जनप्रतिनिधिसँग बुझ्नुस्, उहाँहरूले गरेको निर्णयबारे मलाई थाहा छैन।'

गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले आफूलाई यस विषयमा जानकारी नभएको बताए। 'अहिलेसम्म भएको व्यवस्थाअनुसार ५८ वर्षमा अनिवार्य अवकाश हुनुपर्छ, उहाँले काम गरिरहनुभएको छ, मलाई थाहा भएको त्यतिमात्रै हो,' उनले भने, 'नियुक्ति कसरी र कहिले हुनुभयो भन्ने मलाई थाहा छैन।'

कर्मचारीले दोहोरो सुविधा लिन नपाउने व्यवस्था भए पनि इस्माइल खाँले निवृत्तिभरणसँगै गाउँपालिकाबाट पाउने सेवा सुविधा लिइरहेको त्यहाँ कर्मचारीहरूको गुनासो छ। यस विषयमा मोहम्मद इस्माइल खाँसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.