काठमाडौं । लगनखेलस्थित आर्मी कभर्डहलमा जारी एसियाली भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगिताको फाइनल शनिबार हुँदैछ। दिउँसो २ बजे हुने फाइनलमा किर्गिस्तान र उज्वेकिस्तान प्रतिष्पर्धा गर्दै छन्।
बिहीबार भएको सेमिफाइनलमा किर्गिस्तानले साबिक विजेता तुर्कमिनिस्तानलाई हराउँदै अन्तिम दुई स्थान पक्का गरेको थियो भने उज्वेकिस्तानले माल्दिभ्सलाई निराश पार्दै फाइनलयात्रा पक्का गरेको थियो।
नेपालको सान्त्वना जित
प्रतियोगितामा लगातार दुई खेलमा पराजित भएर उपाधि होडबाट बाहिरिएको नेपाल पाँचौ बनेको छ। शुक्रबार अफगानिस्तानसँग पाँचौ स्थानका लागि भएको प्रतिष्पर्धामा नेपालले ३–१ को सेटमा जित निकाल्दै प्रतियोगितामै पहिलो जित आत्मासाथ गर्यो।
अफगानिस्तान समुह ‘बि’ मा तेस्रो बन्दै सेमिफाइनल पुग्न असफल भएको थियो। त्यस्तै, नेपाल पनि समूह ‘ए’ किर्गिस्तान र माल्दिभ्ससँग पराजित हुँदै सेमिफाइनल पुग्न असफल भएको थियो। दुबै समूहमा तेस्रो स्थानमा रहेका दुई टिमबीच पाँचौ स्थानका लागि भएको खेलमा नेपाल अघिल्लो प्रदर्शनको तुलनामा सम्हालिएर कोर्टमा उत्रिँदा अफगानिस्तानमाथि जित निकाल्न सफल भयो।
खेलमा पहिलो सेटमा नेपालले २५–२३ को नतिजा आत्मासात् गर्यो। पहिलो सेटमा सहज जित निकालेको नेपाल दोस्रो सेटमा भने केही धर्मरायो। अफगानिस्तानले खेलमा पुनरागमन गर्ने क्रममा २५–२३ ले नतिजा आफ्नो पक्षमा पार्दै खेल १–१ को बराबरीमा ल्यायो। खेल १–१ को बराबरीमा पुगेपछि रोचक बनेको भिडन्तमा नेपालले तेस्रो सेट २५–१८ आफ्नो पक्षमा पार्यो। निर्णायक सेटका रुपमा रहेको चौंथो सेटमा संघर्षपूर्ण खेलमा नेपाल २६–२४ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।