|

पोखरा : तनहुँको सदरमुकाम दमौलीबाट सात किलोमिटर माथिको स्थान। अहिले प्रायजसो मानिस दामौलीको झण्डै ३५ डिग्रीको गर्मी छल्न ११ सय मिटरभन्दा अग्लो डाँडामा उक्लिन्छन्। मानहुँ (मानुङकोट)।

विस्तारै पर्यटकीय संरचनाहरु बनिरहेका छन्। स्थानीय सरकार बनिसकेपछि प्राथमिकतामा परेको त्यस क्षेत्र अहिले आन्तरिक पर्यटकहरूको आउजाउले भरिन थालेको छ। मानुङकोट, हिमश्रृंखला अवलोकन र मानिसहरूलाई प्रकृतिसँग रमाउने उत्कृष्ट थलो बताउँछन् व्‍यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने।

‘यहाँ मौसम खुलेको बेला आउनुपर्छ जो कोही पनि हिमाल देखेर मोहित हुन्छ,’ उनले भने, ‘त्यसो त यहाँको वातावरण नै मानिसलाई मोहनी लगाउने खालको छ। हामीले यसलाई हाम्रो नगरभित्रको पर्यटकीय गन्तव्‍यको रूपमा विकास गर्न लागेका छौँ।’

उक्त ठाउँमा पर्यटकीय गतिविधि बढ्न थालेपछि अव्‍यवस्थित बसोबास नहोस् भनेर ल्याण्ड पुलिङको योजना लागू गर्ने सोचमा नगरपालिका रहेको नगरप्रमुख न्यौपानेले बताए।

मानुङकोट पुग्नका लागि कच्ची सडक खुलिसकेको छ। अहिले सडक स्तरोन्नतिको काम भइरहेको छ। सडक पक्की बनाउन ठेक्का सम्झौता भएर काम अघि बढिसकेको व्‍यास ५ का वडाअध्यक्ष मोहनकुमार श्रेष्ठ बताउँछन्। ‘यहाँ अहिले खाजाघरहरु खुलिरहेका छन्। रोड पक्की हुँदै छ,’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘गतवर्ष हामीले छेउपट्टिको भागमा भीर भएकोले रेलिङ हाल्यौँ।

यो वर्ष पनि बजेट विनियोजन भएको छ। अन्य विभिन्न संरचनाहरु बनाउने योजनामा छौँ।’ ब्यास नगरप्रमुखका प्रेस सल्लाहकार प्रदिप काफ्ले मानुङकोट दमौलीसँगै गण्डकी प्रदेशकै एक महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिका लागेको बताउँछन्।

उनले गण्डकी सरकार र नगरपालिका मिलेर विभिन्न पर्यटकीय संरचना बनाउने, पर्यटकीय गतिविधिका कार्यक्रमहरू पनि गर्ने तयारीमा रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.