|

सल्यान : सल्यानमा सुरक्षित गर्भपतन गर्ने महिलाको संख्यामा वृद्धि आएको छ। अनिच्छिक गर्भधारण रोक्नका लागि अस्थायी साधनको प्रयोग नगर्दा चेतना भएर पनि हेलचेक्र्याइँ गर्ने गरेका कारण जिल्लामा गर्भपतन गर्नेको संख्यामा वृद्धि आएको हो। 

परिवार नियोजनको साधनको उपलब्धता हुँदा हुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गरेको पाइन्छ। गर्भवती महिलाको मञ्जुरीमा कानुनले मान्यता दिए अनुसार सूचीकृत स्वास्थ्यकर्मीद्बारा सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउन सकिन्छ।  

सल्यान अस्पताल सल्यानका अनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा १६८ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। जसमध्ये १४ महिला २० वर्षभन्दा कम उमेर समूहका रहेका छन्। 

अवैध गर्भ बसेपछि अविवाहित किशोरीले समेत गर्भपतन गराउने गर्दछन्। अन्य आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा सुरक्षित गर्भपतन गर्नेको संख्यामा कमी देखिए पनि जिल्ला बाहिर गएर गर्भपतनको गर्नेको संख्या पनि धेरै रहेको छ। 

आर्थिक वर्ष २०७४/०७५ मा गर्भपतन गराउनेको संख्या २ सय ८१ रहेको थियो। जसमा ४४ महिला २० वर्षमुनिका रहेका थिए। यस्तै आर्थिक वर्ष २०७३/०७४ मा २३१ महिलाले गर्भपतन गराएकोमा २४ महिला २० वर्षमुनिका रहेको सल्यान अस्पतालका सूचना अधिकारी श्रीदोस महर्जनले बताए। 

गर्भपतन गर्नेको संख्या बढी भए पनि डर, लाजका कारण छिमेकी जिल्लामा गएर गर्भपतन गराउने गरेको समेत उनले बताए। परिवार नियोजनको साधनको प्रयोगको कमीका कारण अनिच्छित गर्भधारण धेरै भएको हुनसक्ने महर्जनले बताए। उनले भने यतिका धेरै जनसंख्या यौन उमेरको छ तर परिवार नियोजनका साधनको प्रयोग न्यून छ।

राज्यले बढीमा १२ हप्तासम्मको गर्भ भएको गर्भवती महिलाको इच्छाअनुसार सुरक्षित गर्भपतन गराउनुलाई आकस्मिक सेवाको रुपमा मान्यता दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.