विचार

अर्थतन्त्रको आकार बराबर बैकिङ क्षेत्रको निक्षेप र ध्यान दिनुपर्ने विषय

भदौ ९, २०७६

    आर्थिक उदारीकरणको अवधारणाले नेपालमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनबाट तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गरी आर्थिक असमानताको अन्त्य, स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखेको छ।

    राष्ट्रिय अर्थतन्त्रलाई सवल र सुदृढ बनाउन सार्वजनिक, निजी र सहकारी क्षेत्रको अहम् भूमिका रहने भएकोले बैंक तथा वित्तीय संस्थाको सहभागिता बढाउन जरुरी छ।

    नेपालमा वि.सं.१९९४ बाट सुरुवात भएको बैकिङ व्यवसाय क्रमिकरूपमा विस्तार र सुधार हुँदै जंगलको रूपमा विकास भएको छ। बैंक तथा वित्तीय संस्था जुन उद्देश्यले स्थापना भएपनि शहरको पुँजी, प्रविधि, ज्ञान र सीपलाई ग्रामीण क्षेत्रसम्म पुर्‍याउँदै जनताको आय, आर्जनको सहयात्री बनेको देखिन्छ।

    नेपालका बैंक तथा वित्तीय संस्थाहरूको जम्मा योग १७६, कुल चुक्ता पुँजी करिब दुई खर्ब नब्बे अर्ब, कुल ८,५६४ शाखा र ७३५ स्थानिय तहमा वित्तीय संस्था संचालन रहेको नियमनकारी निकायको तथ्यांकबाट जानकारी हुन्छ।

    बैंक तथा वित्तीय संस्थाले नेपालको अर्थतन्त्रको बारेमा अध्ययन, अनुसन्धान र विश्लेषण गर्दै आफ्नो लगानी सुरक्षित बनाउन, समस्या र समाधानका उपायहरू पत्ता लगाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरणले ल्याएका परिवर्तन स्वीकार गरी उपलब्धिको रक्षा गर्न सक्नु पर्दछ।  

    अर्थतन्त्रको आकार बराबर बैकिङ क्षेत्रको निक्षेप पुग्न लागेको हुँदा बैंक तथा वित्तीय संस्थाको पुँजी तथा स्रोतको उचित प्रयोग गरी अर्थतन्त्रमा यसक्षेत्रको योगदान बढाउनु पर्दछ। प्रायः बैंक तथा वित्तीय संस्थाको सेवा तथा सुविधा फरक भए पनि सम्पूर्ण सेवाहरू सन्तुलित प्रवाह हुन सकेको छैन।

    अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्थाको संख्या, शाखा, कारोबार र अवसर बढ्दै गएपनि तीव्र प्रतिष्पर्धा, कर, स्प्रेट दर, संस्थागत सुशासन, तरलताको दबाब, जनशक्ति, उच्च शिरोभार खर्च, प्राथमिकता प्राप्तक्षेत्रमा लगानीलगायत नियमनकारी निकायको दबाब जस्ता चुनौतीहरू रहेका छन्।

    त्यसैले विभिन्न विषयउपर अध्ययन, विश्लेषण र समीक्षा गरी समग्र बैंकिङ्ग क्षेत्रको लागि आवश्यक नीति, रणनीति, कार्यक्रम र योजना बनाउन आवश्यक छ। बैंक तथा वित्तीय क्षेत्रमा झण्डै २ करोड ८० लाख निक्षेपकर्ताको करिब रु.३२ खर्ब ३५ अर्ब निक्षेप संकलन गरेको र झण्डै १४ लाख ३० हजार कर्जाग्राहीको करिब रु.२९ खर्बको हाराहारीमा कर्जा लगानी गरेको देखिन्छ।

    त्यसैगरी करिब ३२ सय एटिएम, ६३ लाख डेबिट कार्ड, १ लाख २० हजार क्रेडिट कार्ड, ७० लाख मोबाइल बैकिङ र ९ लाख इन्टरनेट बैकिङका ग्राहक नेपाली बैकिङ प्रणालीमा जोडिएको देखिन्छ।

    ग्रामीण क्षेत्रमा बैकिङ सेवा

    बैकिङ व्यवसाय शहरी क्षेत्रमा तीव्र भए पनि ग्रामीण क्षेत्रमा बैकिङ सेवा पुग्न सकेको देखिदैन।क वर्गका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको तुलनामा ११.४३ प्रतिशतले निक्षेप बढाएर रु.२७ खर्ब ९० अर्ब र कर्जा १५.१९ प्रतिशतले बढाएर रु.२४ खर्ब ८७ अर्ब पुर्‍याएको देखिन्छ। यसैगरी गत आर्थिक वर्षमा ११ वटा वाणिज्य बैंकहरूले १ खर्ब भन्दा बढी निक्षेप संकलन गरेको र ८ वटा बैंकले १ खर्ब भन्दा बढिको लगानी गरेको देखिन्छ।

    त्यसैगरी, वाणिज्य बैंकहरूको नाफा पनि गत आर्थिक वर्षमा २४.१६ प्रतिशतले सुधार गरी झण्डै रु.६५ अर्ब पुर्‍याई २६ वटा वाणिज्य बैंकहरू  अर्बपति क्लब (एक खर्बभन्दा बढी नाफाको सूची) मा आफ्नो नाम सूचीकृत गराउन सफल भएका छन्।

    यसरी अध्ययन गर्दा नेपालको अर्थतन्त्रको आकारमा वाणिज्य बैंकहरूको निक्षेपको योगदान झण्डै ७९ प्रतिशत र कर्जाको ७० प्रतिशत योगदान रहेको देखिन्छ।

    अर्थतन्त्रको आकार बराबर बैकिङ क्षेत्रको निक्षेप पुग्न लागेको हुँदा बैंक तथा वित्तीय संस्थाको पुँजी तथा स्रोतको उचित प्रयोग गरी अर्थतन्त्रमा यसक्षेत्रको योगदान बढाउनु पर्दछ। प्रायः बैंक तथा वित्तीय संस्थाको सेवा तथा सुविधा फरक भए पनि सम्पूर्ण सेवाहरू सन्तुलित प्रवाह हुन सकेको छैन।

    अर्थतन्त्रमा तरलताको अभाव, नियमनकारी निकायको दबाब, राजनीतिक हस्तक्षेपलगायत आन्तरिक र बाह्य वातावरण असहजका वाबजुत पनि बैकिङ क्षेत्रले आफ्नो व्यवसायसँगै नाफामा पनि राम्रो प्रगति हासिल गरेको छ।

    बैकिङ क्षेत्र अहिले अधिक नाफा आर्जन गर्ने, कर बढी तिर्ने, छिटो तथा छरितो सेवा प्रदान गर्ने, आधुनिक प्रविधि प्रयोग गर्ने, प्रतिष्ठित र आर्कषक पेसा तथा व्यवसाय बनेको छ। नेपालमा बैंक तथा वित्तीय संस्थाको संभावना, आवश्यकता र खाँचो प्रशस्त रहेकोले आफ्नो सेवा तथा सुविधासँगै ज्ञान, अनुभव, सीप र प्रविधिलाई पनि सबै स्थानिय तहसम्म पुर्‍याउन जरुरी छ।

    कुल जनसंख्याको झण्डै ५८ प्रतिशतभन्दा बढी जनसंख्या अहिले पनि वित्तीय पहुँचभन्दा बाहिर रहेकोले बैंक, वित्तीय संस्थाको भूमिका बढाउँदा वित्तीय साक्षरता अभिवृद्धि भई बैंकिङ क्षेत्रको महत्व, भूमिका, योगदानसँगै अर्थतन्त्रले समेत गति पाउँछ। बैंक तथा वित्तीय संस्थालाई अर्थतन्त्रको गतिविधि बढाउने आर्थिक इन्जिनको रूपमा स्वीकार गरिएकोले यस क्षेत्रलाई चलायमान बनाउँदा अर्थतन्त्रका अन्यक्षेत्रको पनि गति बढ्ने देखिन्छ।

    उदयमान रूपमा रहेको नेपालको बैकिङ बजारका आफ्नै विवशता र आवश्यकता भएपनि बैकिङ औजारहरूको शुष्म अध्ययन र विश्लेषण गर्दै नीति तथा रणनीति समयसापेक्ष सुधार गर्दै जानु पर्दछ।

    केन्द्रीय बैंकले सम्पूर्ण बैकिङ बजारलाई चार भागमा विभाजन गरी नजिकबाट नियमित, विशेष र आकस्मिक अनुगमन तथा सुपरिवेक्षण गरिरहेको भए पनि बैकिङ बजारलाई समयसापेक्ष, आधुनिक, परिवर्तन र सम्पूर्ण क्षेत्र समेट्ने अनुगमन प्रणालीको विकास गर्न चुकेको आभास मिल्छ।

    नेपालमा उत्पादनमूलक उद्योग, औद्योगिक तथा विशेष आर्थिक क्षेत्रको संख्या न्यून हुनुका साथै यसक्षेत्रको अर्थतन्त्रमा योगदान पनि घटिरहेको कारण सेवा व्यवसायमा सुधारसँगै प्रतिस्पर्धी क्षमता पनि बढेको छ। अर्थतन्त्रलाई सक्रिय, चलायमान र गतिशिल बनाउन अर्थतन्त्रको आर्थिक पांग्राको रूपमा वित्तीय क्षेत्रलाई लिन सकिन्छ भने वित्तीय क्षेत्र अन्तरगत पर्ने बैकिङ क्षेत्रलाई वित्तीय क्षेत्रको मेरुदण्ड मान्न सकिन्छ।

    अर्थतन्त्रमा बैकिङ क्षेत्रले झण्डै ५० लाख जनशक्तिलाई प्रत्यक्ष रोजगार प्रदान गरेको, लगानीकर्तालाई निरन्तर प्रतिफल दिएको, कर लगायतमा राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्‍याएको, निक्षेप र कर्जा प्रवाह (तरलता) मा सहजता ल्याएको, जनताको गर्जो टार्ने माध्यम बनेको र नियमनको प्रणालीमा रहनुका साथै नेपालीको आर्कषण पेशा बन्दै गएकोले बैंक तथा वित्तीय क्षेत्रलाई आर्दश र सम्मानित पेशा तथा व्यवसाय मान्न सकिन्छ।

    बैकिङ क्षेत्रले आर्थिक वर्षको पहिलो छ महिनामा लगानीलाई प्राथमिकता दिने र बाँकी अवधिमा लगानीयोग्य पुँजीको अभाव गराउने, रेमिट्यान्सको अस्थिर आगमन हुने, पूँजीगत खर्च न्यून, संस्थागत सुशासन र वित्तीय पहुँच बढाउन नसक्नु, नियमनका प्रावधान तथा निर्देशनहरूका कारण नेपालको अर्थतन्त्रमा कहिले अधिक र कहिले न्यून तरलताको अवस्था देखा परिरहेको छ।

    तसर्थ वित्तीय संस्थाहरूले अर्थतन्त्रमा कोषमा आधारित व्यवसायसँगै गैरकोषको व्यवसायलाई पनि प्राथमिकता दिदा बैकिङ प्रणालीको कारोबारले सम्पूर्ण अर्थव्यवस्थालाई थप क्रियाशिल बनाउन सहयोग पुग्ने देखिन्छ।

    नेपालका सबै वित्तीय संस्थाहरू सवल नभए पनि सबै खराब भने अवश्य छैनन् तसर्थ वित्तीय संस्थाहरूमा प्रविधिको उच्च प्रयोग गर्न लगाई दैनिक र ठूलो कारोबारको घण्टाघण्टामा समेत अनलाईन अनुगमन प्रणालीको थालनी गर्नु पर्दछ।

    अर्थतन्त्रमा रोजगारीउन्मूख लगानी, लगानीमैत्री वातावरण, साधन तथा स्रोतको प्रभावकारी उपयोग, बचतमूखी आम्दानी र वितरणमूखी उत्पादनले नै नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने हुँदा यसका लागि बैकिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ।  
    बैंक तथा वित्तीय संस्थालाई अर्थतन्त्रका हरेक क्रियाकलापको व्यवस्थापन, प्रणालीगत र प्रक्रियागत बनाउने भरपर्दो माध्यम मानिन्छ।

    तसर्थ बैकिङ क्षेत्र भनेको पैसा रोप्ने, उत्पादन गर्ने, पैसा किन्ने र बेच्दै वित्तीय क्रियाकलाप बढाउने आर्थिक प्रणाली भएकोले यस क्षेत्रको संरक्षण, व्यवस्थापन र नियमन गर्नु आवश्यक छ।

    नेपालका सबै वित्तीय संस्थाहरू सवल नभए पनि सबै खराब भने अवश्य छैनन तसर्थ वित्तीय संस्थाहरूमा प्रविधिको उच्च प्रयोग गर्न लगाई दैनिक र ठूलो कारोबारको घण्टाघण्टामा समेत अनलाईन अनुगमन प्रणालीको थालनी गर्नु पर्दछ। नेपालको अर्थतन्त्र र वित्तीय संस्थाहरूमा कुनै समस्या नआएको भए पनि नियमनकारी निकायले काउन्टर साईक्लिनिङ्ग वफर पुँजीको व्यवस्था गरेको छ।

    विकसित देशमा सम्पूर्ण आर्थिक क्रियाकलापहरू बैकिङ प्रणालीमा ल्याई प्रविधि र वित्तीय कारोबारको सम्बन्ध स्थापित गराई अर्थतन्त्रलाई भरपर्दो, सुरक्षित र आधुनिक बनाइएको हुन्छ।

    नेपालमा अर्थतन्त्रको तुलनामा बैंक तथा वित्तीय क्षेत्रको विकास र विस्तार तीव्र भइरहेको हुँदा यसक्षेत्रलाई आधुनिक प्रणालीको भरपर्दो माध्यमद्वारा नियमनको व्यवस्था मिलाउनु पर्दछ।

    वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी थुप्रिनु भनेको अर्थतन्त्र निष्क्रिय हुनु हो र लगानीयोग्य पुँजीको अभाव हुनु भनेको अनियन्त्रित लगानी हुनु पनि भएकोले अर्थतन्त्रमा आर्थिक चरहरूको अवस्थासँगै प्रभाव र दबाबको नियमित अध्ययन गर्नु पर्दछ।

    बैंक तथा वित्तीय बजारमा निष्क्रिय तथा गैरबैकिङ सम्पत्ति, खराब कर्जा, नोक्सानी र राजनीतिक हस्तक्षेप विस्तारै घटे पनि प्रविधि, बजार, प्रतिस्पर्धाका नयाँ आयामबाट बैकिङ बजारसँगै अर्थतन्त्र पिल्सिरहेको छ।

    वित्तीय क्षेत्रले उच्च, मध्यम र निम्न तिनै प्रकारको जनशक्तिलार्ई रोजगारको वातावरण बनाउँदै अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। बैकिङ क्षेत्रले प्रतिस्पर्धात्मक र अपेक्षाकृत लाभ उठाउन नसके पनि बजारका सम्‍भावना र चुनौतीहरू बोकिरहेको, नियमन र प्रवर्द्धनात्मक वातावरण पाएको, मर्जर र मिलनको रणनीतिअनुरूप सञ्‍चालन भएको बजारको रूपमा बैंक तथा वित्तीय क्षेत्र हो।

    समावेशी विकासमा योगदान पुग्ने व्यवसाय आवश्‍यक

    बैकिङ क्षेत्रले कृषि, जलविद्युत्, पर्यटन, उद्योग, आवास, सेवा, पूर्वाधार र खानी जस्ता क्षेत्रमा प्रसस्त संभावना भएकोले यसक्षेत्रलाई अवसरको कमि हुँदैन। तर पनि प्रतिस्‍पर्धा, संस्थागत शुसासन, जनशक्ति व्यवस्थापन, लगानीमैत्री वातावरण, उच्च स्प्रेड दर, छाया बैकिङको प्रभाव, सूचना तथा प्रविधिको व्यवस्थापन जस्ता चुनौतीहरूको चाङमा बैकिङ व्यवसाय अगाडि बढेको छ।

    तसर्थ बैकिङ क्षेत्रले अबका दिनमा समयसापेक्ष व्यवसाय गर्दै राष्ट्रको पुँजी निर्माणका क्षेत्रमा लगानी गरी उत्पादन, आम्दानी र रोजगारी विस्तार गरी आर्थिक बृद्धि र समावेशी विकासमा योगदान पुग्ने व्यवसाय बन्न सक्नु पर्दछ।

    तसर्थ बैंक तथा वित्तीय क्षेत्रले नेपालको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याइरहेकोले यस क्षेत्रलाई हेटेरोटोपिया अर्थात् सबैले आ–आफ्नै खुबी र क्षमताले अनुमान गर्ने स्वस्थ, प्रतिस्‍पर्धी र अर्थतन्त्रको बहु–आयामिक, गतिशील क्षेत्र बन्न पुगेको छ।

डा. सुरज टण्डन

टण्डन वित्तीय क्षेत्रका विश्लेषक हुन्। उनी कृषि विकास बैंकमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]