|

काठमाडौं  : पच्चीस वर्षीया बिना (परिवर्तित नाम) अहिले पाठेघरमा सङ्क्रमण भएर उपचाररत छन्। स्थायी घर मोरङ बताउने उहाँ हाल काठमाडौँमा बसेर स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा पाठेघरको उपचारकै क्रममा छन्।  

दुई वर्ष पहिले विवाह भएकी बिनाको योजनाबिनै गर्भ रह्यो। श्रीमान् र श्रीमतीबीच तत्काल बच्चा नजन्माउने सल्लाह अनुसार विराटनगर बजारकै औषधि पसलेकहाँबाट एक हजार रुपियाँ तिरेर घरैमा औषधि ल्याएर खाए। औषधि खाएको सात÷आठ घण्टामा गर्भपतन त भयो तर रगत चाहिँ धेरै बग्यो। औषधिको असरका कारण उनकाे पाठेघरमा प्वाल परिसकेको र पाठेघरमा थप सङ्क्रमण हुन नदिन पाठेघर नै फ्याल्नुपर्ने भएपछि ठूलो पीडामा छन् भन्ने खबर गाेरखापत्र दैनिकमा छ।

बिनाजस्तो शिक्षित र सहरमा बस्नेलाई त गर्भपतनको औषधि कस्तो स्वास्थ्य संस्था र कस्ता चिकित्सकको सल्लाहमा खाने भन्ने जानकारी रहेनछ। अझ अशिक्षित र दूरदराजका महिलाको हालत के होला ? यसबाटै पनि सहज अनुमान लगाउन सकिन्छ। औषधिको प्रयोग होस् वा औजारबाट गरिने गर्भपतन होस् दुवै विधिबाट गर्ने गर्भपतनका लागि सरकारले चिकित्सक, नर्स र अनमीलाई तालिम दिएको छ तर जथाभावी गर्भपतनको प्रवृत्ति निरन्तर बढ्दैगएको छ।

समस्या बढ्दो क्रममा 

बिनाको घटना त प्रतिनिधिमूलक मात्रै हो। पढे लेखेकै व्यक्तिले समेत बुझ्दै नबुझी सूचीकृत नभएका औषधि पसल र यससम्बन्धी सामान्य ज्ञानसमेत नभएका औषधि पसलेको सल्लाहमा गर्भपतनका औषधि (कीट) प्रयोग गर्छन्। यसले स्वास्थ्यमा गम्भीर समस्या भोग्ने बिना मात्र होइन। पछिल्लो समयमा धेरै महिला पीडित छन् तर यसको औपचारिक अध्ययन भने भएको छैन। 

गर्भपतन सेवा आवश्यक हो र सुरक्षित गराउनुपर्छ भन्दै वकालत गर्दैआएको संस्था कृपाले यस प्रकारको औषधिको जथाभावी प्रयोगले धेरै महिलाको स्वास्थ्य युवा अवस्थादेखि नै जोखिममा परेको दाबी गर्दैआएको छ। सो संस्थाले दुई वर्ष पहिले सामान्य अध्ययन गर्दा पनि नेपालमा गर्भपतनका लागि १४ प्रकारका औषधि प्रयोग भएको पाइएको जनाएको छ। जबकि सरकारले नेपालमा सुरक्षित रूपमा गर्भपतन गराउनका लागि चार प्रकारका औषधि मात्रै दर्ता गरेको छ। 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले खुला नाकाबाट जथाभावी रूपमा भित्रायाएर ठाउँ–ठाउँमा अनधिकृत रूपमा औषधि बिक्री गरेको सरकारका जिम्मेवार नियमनकारी निकायलाई थाहा हुँदाहुँदै पनि रमिते बनेको आरोप लगाइन्। 

बिनादर्ताका औषधि बजारमा

गर्भपतन र परिवार नियोजनको प्रयोजनका लागि औषधि व्यवस्था विभागकै कर्मचारी र चिकित्सकको मिलेमतोमा अनधिकृत रूपमा औषधि भित्रायाएर राजधानीमै खुलेआम बिक्री भएको उहाँको आरोप छ। “दर्ता नै नभएका औषधि छ्यापछ्याप्ती बिक्री भएकोबारे हामीले धेरै पटक औषधि व्यवस्था विभागको ध्यानाकर्षण गराएका छौँ तर धेरै दबाब दियो भने अनुगमन गरेको जस्तोे गर्ने तर त्यस्ता व्यवसायीलाई कानुन अनुसार कारबाही गरिँदैन,” उनले भनिन्। 

औषधि व्यवस्था विभागका अनुसार नेपालमा गर्भपतनको प्रयोजनका लागि मेडावन कीट, मेरिफिस्ट कीट, ब्रेकनो कीट र एमटीबी कीटबाहेक अन्य कुनै औषधि दर्ता भएका छैनन्। 

विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले नेपालमा चारैतिर खुला नाका भएकाले गर्भपतन होस् वा अन्य प्रयोजन दर्ता नभएका औषधि बजारमा भित्रिने गरेको स्वीकार गरे। उनले जहाँ जहाँ नेपालका सिमाना जोडिएका छन् ती ठाउँमा अझै यस्ता अनधिकृत औषधि आउने गरेको पाइएको छ। 

विभागमा दर्ता नभएका औषधि नराख्न सबै औषधि पसल, फार्मेसीलाई सूचना गरिरहेको र भर्खरै पनि सूचनामार्फत सबैलाई सचेत गराएको जानकारी दिए। 
उनले भने, ‘‘दर्ता नभएका औषधि बिक्री गर्ने कयौँ औषधि पसल बन्द गर्ने काम विभागले धेरै पटक गरेको छ तर पनि यस्ता औषधि लुकिछिपी ल्याउने र बिक्री गर्ने काम भइरहेको छ, त्यसैले अब स्वयम् उपभोक्ता नै चनाखो हुनुपर्छ। ’’ 

उनकाअनुसार जथाभावी बिनादर्ताका औषधि बिक्री गर्ने फार्मेसी वा मेडिकल सञ्चालकलाई औषधि दर्ता ऐन २०३५ अनुसार कारबाही भइरहेको छ। उक्त ऐनले बिनादर्ताका औषधि बिक्री वितरण गर्नेलाई तीन वर्ष कैद सजाय वा बिगोका आधारमा जरिवानाको व्यवस्था गरेको छ। 

नौ हप्ताको मात्रै गर्भपतन 

गर्भपतनमा औजारको विकल्पका रूपमा आएका औषधिले नौ हप्ताभित्रको गर्भलाई मात्रै पतन गराउँछ। औषधि सकेसम्म प्रयोग गर्नुहुँदैन गरिहाले पनि सम्बन्धित तालिम प्राप्त चिकित्सक, नर्स वा अनमीको सल्लाह वा निगरानीमा मात्रै प्रयोग गर्नुपर्छ। यो प्रयोग गरेको २४ घण्टाभित्र गर्भपतन हुन्छ। प्रयोगकर्ताले यस्ता चेतावनी गम्भीरतापूर्वक ध्यान दिएको पाइँदैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.