|

म्याग्दी : विगत ३ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दर्ता हुन आएका आपराधिक क्रियाकलापको घटनालाई हेर्दा अपराध नियन्त्रणमा प्रहरीको सक्रियता बढ्दै गएको छ। प्रहरी कार्यालयमा दर्ता हुन आएको तथ्याङ्कलाई मध्यनजर गर्दैगर्दा जिल्लामा प्रहरीको सक्रियता बढेको र अपराधजन्य गतिविधिमा कमी आएको छ।

समुदायस्तरमा सचेतनामूलक विभिन्न गतिविधिहरु सञ्चालन गरेपछि अपराधिक क्रियाकलापहरुमा कमी आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। समाजमा नागरिक सुनुवाई, मुस्कानसहितको प्रहरी सेवा, टोलटोलमा प्रहरी, समुदाय–साझेदारी कार्यक्रम, आमासँग प्रहरी, प्रहरी मेरो साथी जस्ता विभिन्न कार्यक्रमहरु चलाएपछि अपराधका घटनाहरु कम घटेको प्रहरीको दावी छ।

पछिल्लोपटक प्रहरीले विप्लव नेतृत्वको नेकपा माओवादीका म्याग्दी इन्चार्ज कमानसिंह नकाल क्षत्री (विकिरण) र जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई पक्राउ गरेको थियो। यस्तै अपराधिक क्रियाकलापमा संलग्न भई अदालतबाट विभिन्न अपराधमा दोषी प्रमाणित भएर फरार रहेकामध्ये गएको असारसम्म १ सय ४० जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। अझै ४ जना दोषीहरु भने फरार नै रहेको हुँदा विभिन्न माध्यमबाट प्रहरीले तिनीहरुको खोजी गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दर्ता भएको मुद्दाको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७३/७४ मा कुल १ सय ६२ ओटा मुद्दाहरु दर्ता भएकोमा ०७४/७५ मा आउँदा त्यसबाट घटेर १ सय ३७ ओटा दर्ता भएका थिए। यसैगरी गतवर्ष जम्मा १ सय १ ओटा मात्रै मुद्दा दर्ता भएकोमा ८९ ओटा फस्र्यौट भई १२ ओटा मात्रै बाँकी रहेका छन् । ज्यानसम्बन्धी कसुरमा २, आत्महत्यातर्फ विषसेवन २, झुण्डीएर ६, सामाजिक अपराध अवहेलनातर्फ २९ र अभद्र व्यवहार अन्तर्गत कुल २६ ओटा मुद्दा दर्ता भएका थिए।

त्यस्तैगरी लागूऔषध कारोबारमा संलग्न ६, केही सार्वजनिक अपराध ८, महिला तथा बालबालिकासम्बन्धी अपराध अन्तर्गत बहुविवाह ३, बालविवाह १, जबरजस्ती करणी ५, जबरजस्ती करणी उद्योग ७, सवारी ज्यान ३, बालयौन दुरुपयोग १ र गौबध (गाई मारेका) ३ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले सफल अनुसन्धान, सुरक्षाको प्रत्याभूति र प्रहरीको सक्रियताले गर्दा आपराधिक क्रियाकलापमा कमी आएको बताए । गतवर्ष कार्यालयमा दर्ता हुन आएको मुद्दाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै पुस महिनामा १६ ओटा घटना दर्ता भएको उहाँले जानकारी दिनुभएको छ।

प्रहरीको तथ्याङ्क अनुसार म्याग्दीमा लैङ्गिकताको हिसाबले महिला बढी पीडित भएको र पुरुष बढी पीडक भएको देखिएको छ । त्यस्तै जनजाति र दलित समुदायमा अपराधिक क्रियाकलापहरु धेरै रहेको पाइएको छ । जिल्लामा सामाजिक अपराध, अभद्र व्यवहार, जबरजस्ती करणी, लागूऔषध, पशुबध, महिला तथा बालबालिकासँग सम्बन्धी अपराधका घटनाहरु रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.