|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीका ११ हजार ४ सय ६२ घरधुरीमा अझै केन्द्रीय प्रशारण लाईनको बिजुलीको पहुँच पुगेको छैन्।

म्याग्दीमा २०६८ को जनगणना अनुसार  २७ हजार ७ सय ६२ घरधुरी रहेका छन्। त्यस मध्ये अहिले सम्म १६ हजार ३ सयमा मात्र केन्द्रीय प्रशारण लाईन पुगेको नेपाल विद्युत प्राविधिकरण म्याग्दी वितरण शाखाले जनाएको छ। म्याग्दीका अन्य घरधुरीमा भने कुनै ठाउँमा साना जलविद्युत आयोजनाबाट विद्युत बाले पनि धेरै जसो ठाउँमा टुकी र सोलारको नै भरमा बस्नु पर्ने बाध्यता रहेको छ।

आर्थिक वर्ष २०७५/७६ मा म्याग्दीका सात सय बढी घरमा केन्द्रीय प्रशारण लाइनको विद्युत सुबिधा विस्तार भएको छ। नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले थप एक हजार घरमा विद्युत विस्तारको तयारी भएको जनाएको छ। धवलागिरी गाउँपालिकाको मुना, मालिका गाउँपालिकाको बाइन्दफाँट, दिच्याम, मंगलाको सातबिसे, नेटामा गत आर्थिक वर्षमा विद्युत विस्तार भएको केन्द्रले जनाएको छ। ७ सय ११ घरधुरी नयाँ उपभोक्ता थपिएका बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले बताए। 

ताकम र मुनाका एक हजार घरधुरीमा नयाँ मिटरबक्स जडानको माग आएको छ। केन्द्रका प्राविधिक हेमराज शर्माले देविस्थान, रुम, ओखरबोट, ताकम, मराङमा पनि विद्युतीकरणका कारण मुख्य र शाखा लाइन विस्तारको काम भइरहेको जानकारी दिए। पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका सहित बेनी वितरण केन्द्र अन्तरगत १६ हजार ३ सय उपभोक्ता छन्।

दुर्गम गाउँबस्तीमा विद्युत सुबिधा विस्तार भएपछि स्थानीयको दैनिकिमा सहज भएको छ। उज्यालोका लागि टुकी र सोलारमा निर्भर हुनुपर्ने बाध्यता हटेको छ। मोवाइल चार्ज गर्न, टिभी हेर्न, रेडियो सुन्न सजिलो भएको छ। फर्नीचर, राइसमिल, कुखुरापालन लगायत ब्यवसाय र उद्योग सञ्चालन हुन थालेको छ। म्याग्दीमा यस वर्ष केन्द्रीय प्रशारण लाइनको विद्युत सुबिधा विस्तार गर्न सिचाई, ऊर्जा तथा जलस्रोत मन्त्रालयले दुई वटा शिर्षकमा १२ करोड ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो। ४५ मध्य ११ वटा वडामा केन्द्रिय प्रशारण लाईनको विद्युत पुगेको छैन्। पिक आवरको समयमा चार मेगावाट विद्युत खपत हुने गर्छ।

रघुगंगगाको कुईनेमंगले, चिमखोला, दग्नाम, धवलागिरीको मुदी, बगरा, चेचुङ, खिबाङ, मालिकाको रुमको केही गाउँमा अझै विद्युुत नपुगेको र त्यसको विवरण केन्द्रमा पठाएको प्राबिधिक शर्माले बताए। केन्द्रले गत आर्थिक वर्षमा ७ करोड ३७ लाख ४१ हजार ७ सय १३ रुपैयाँ विद्युत महशुल संकलन गरेको छ। 
सह–लेखा अधिकृत रामप्रसाद मुडभरीका अनुसार ७ करोड ४५ लाख ६६ हजार ९४० रुपैयाँको विद्युत बिक्री भएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.