'सोल्टी’को मूल्य डेढ लाख, दिनमै बिक्छन् १५ खसीबोका

|

पर्वत : पर्वतको कुस्मा नगरपालिका-५ बडागाउँका शिवकुमार श्रेष्ठलाई लागेको थिएन कि ‘म यति सफल कृषकको रूपमा परिचित हुन्छु’ भनेर।

उनलाई आजै जस्तो लाग्छ १० लाख रुपैयाँको लगानीमा बाख्रा फर्म स्थापना गरेको। उनको फर्म सञ्चालनमा आएको ५ वर्ष पूरा भएको छ। यो बीचमा उनी गण्डकी प्रदेशकै नमुना कृषकको रूपमा परिचित भइसकेका छन्।

पशुसेवा कार्यालय प्रमुखको सल्लाहले प्रेरणा

वर्षौँदेखि कालीगण्डकी र मोदी नदीको दोभानमा पर्ने मोदीवेणीधाममा होटेल सञ्चालन गर्दै आएका श्रेष्ठलाई जिल्ला पशुसेवा कार्यालयका तत्कालीन प्रमुख उनका भिनाजु विष्णुबहादुर पाण्डेले कृषि पेसाअन्तर्गत बाख्रा पालनमा हात हाल्न सुझाव दिए।

भिनाजुकै सल्लाहबमोजिम उनले बडागाउँमा नै ‘श्रेष्ठ बाख्रा फार्म’ को स्थापना गरे। अहिलेको जस्तो सफलता हातमा आउँछ भन्ने उनले त्यो बेलामा नसोचेको भए पनि मिहिनेत गरे सफल भइन्छ भन्ने उनको मनमा गढेको थियो।

त्यही कारण उनले मोदीवेणीमा रहेको होटेल व्यवसाय श्रीमती कल्पनालाई सञ्चालन गर्न लगाए भने आफू र कान्छा छोरा मिलेर फार्मको काममा व्यस्त रहन थाले, एकजना कामदार  राखे।

बाख्रा र घाँसमा एक करोड

५ वर्षको अवधिमा नै उनले सञ्चालन गरेको फर्म प्रदेशकै नमुना बाख्रा फर्मको रूपमा विकसित भयो। उनको फर्ममा थप लगानीका लागि गण्डकी प्रदेश सरकारले ७०/३० को लगानी योजनाअनुसार ३६ लाख ८६ हजार रुपैयाँ अनुदान दियो भने उनी आफैँले ११ लाख १४ हजार रुपैयाँको लगानी गरे। अहिले उनीसँग खसी, बोका र माउ गरेर ९५ वटा बाख्रा छन्।

हालसम्म झन्डै १ करोड रुपैयाँभन्दा बढी पैसा बाख्रा खरिद गर्न, घाँस उत्पादन क्षेत्र बनाउन, घाँस काट्ने मेसिन खरिद गर्न, आधुनिक खोर निर्माण गर्न खर्च भइसकेको उनले बताए। लगानी अनुसारको मुनाफा पाउँदा शिव आफ्नो कामप्रति गौरव गर्छन्।

फेरि उनलाई बाख्राको व्यवहार निकै सफा लाग्छ। ‘आफैँले कुल्चिएको घाँस चाहिँ बाख्राले खाँदैन, हेर्नोस् त खोर। यहाँ केहीको गन्ध छैन बरु बसाउँछ।’ उनले भनेजस्तै बाख्राको खोर मानिस बस्ने घरजस्तै सिँगारिएको छ। गर्मीमा शीतलका लागि भेन्टिलेसन र फ्यान जडान गरिएको छ। जाडो यामको लागि तातो दिने जस्तापाताले छानो छाइएको छ।

प्रदेशकै नमुना बनाउने योजना

फर्मलाई गण्डकी प्रदेश सरकारले नमुनाको रूपमा विकास गरेको र साबिकको धौलागिरि अञ्चलको एक मात्र बाख्रा संकलन केन्द्रको रूपमा विकास गर्न लागिएको उनले बताए।

‘प्रदेश सरकारको योजनाअनुसार काम भइरहेको छ’ उनले भने, ‘यहाँ गाउँगाउँमा पालिएका खसी, बोका र बाख्रा ल्याएर जम्मा गरिन्छ, यहीँबाट बिक्री गरिन्छ। गाउँका कृषकहरूको उत्पादन  सदुपयोग हुन्छ।’

दिनमै बिक्छन् १५ वटा

विषादीयुक्त तरकारी तथा खसीबोका भारतीय बजारबाट नेपालमा भित्रिएको तथ्य बाहिरिएपछि पर्वत सदरमुकाममा कुस्मा बजारमा परीक्षण नगरिएको तरकारीसँगै परीक्षण नगरिएका खसी बोका पनि आएका छैनन्।

स्थानीय ठाउँमा पालिएका खसीबोकाले नै बजार धानिरहेको छ। यही बेलामा शिवलाई बजारमा खसीबोका पठाउन भ्याइनभ्याई छ। ‘भारतबाट खसी बोका आएका छैनन्, यहाँबाट बजारमा राम्रो बिक्री भइरहेको छ। उत्पादन गर्नसक्ने हो भने जति  बिक्री हुने रहेछ।’ उनले भने, ‘गर्न सक्ने हो भने यहाँकोले भाउ राम्रो पाउँछ, स्वस्थ हुन्छ।’

शिवको फर्मबाट ज्युँदो बोका प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ। कुस्मा बजारमा मात्र दैनिकजसो १५ वटासम्म बिक्री हुने गरेको त्यो माग धान्न मुस्किल भइरहेको उनले बताए। भारतीय बजारबाट आएको खसी बोकाभन्दा यहीँको उत्पादन स्वादिलो र स्वस्थ हुने भएकोले आप्mनो कर्मले सफलता पाइरहेको उनले बताए।

विदेश जान्छु भन्नेलाई उदाहरणका पात्र

नेपालमा केही प्रगति हुन सकेन भन्ठानेर बिदेसिने तयारी गरिरहेका युवाहरूलाई शिवले एकपटक आएर आफ्नो फर्मको अवलोकन गरेर मात्र बिदेसिन सुझाउँछन्। उनको बाख्रा फर्म  त्यस्तै छ, जसले कृषिमा भविष्य राम्रो रहेछ भनेर आँखा खुलाइदिन्छ।

विदेशमा गएर प्रचण्ड गर्मीमा १४ घण्टा काम गर्नुको सट्टा आफ्नै ठाउँमा आँटेर लगानी गरेर केही गर्दा ४ घण्टामा त्यस्तै खालको आम्दानी गर्न सकिने उनको अनुभव छ।

‘विदेशमा गएर १४ घण्टासम्म घाममा उभिएर काम गर्दा लाज नलाग्ने, अनि यहाँ बाख्राको गोठालो गर्दा इज्जत जाने?’ उनले प्रश्न गर्दै भने, ‘विदेशमा १४ घण्टाको गरिन्छ भने यहाँ ४ घण्टा काम गरे सोही बराबरको कमाइ हुन्छ। हामीले तरिका नजानेर हो।’

आधुनिक तरिकाले गाउँमा २० वटा मात्रै बाख्रा पाल्न सक्ने हो भने राम्रो आम्दानी गर्न सकिने भएकोले विदेश जानुको सट्टामा गाउँमा नै बाख्रा पालेर बस्न उत्तम हुने उनको अनुभव छ। ‘गाउँमा मेरो जग्गा छैन, बजारमा ठाउँको अभाव भएको छ’ उनी भन्छन्, ‘गाउँमा त चराउने ठाउँ  हुन्छ, बाख्रालाई जस्तो भन्यो त्यस्तै बनाउन सकिन्छ, आम्दानी उच्च हुन्छ।’

पौष्टिक आहार र स्वास्थ्य जाँच

उनको खोरमा तीनवटा ब्लकहरू निर्माण गरिएको छन् ‘ए’, ‘बी’ र ‘सी’। ब्लक ‘ए’ मा भर्खरै गाउँबाट ल्याएका तथा टुक्रा पारिएको घाँस खान नजान्ने बाख्राहरू राखिन्छ। त्यही ब्लकमा बाख्राको रोग परीक्षण गरिन्छ, नुन र चापटसँगै मेसिनबाट टुक्रा पारिएको घाँस खाने बानी लगाइन्छ। बाख्रा निरोगी रहेको प्रमाणित भएसँगै ब्लक ‘बी’ मा लगिन्छ, जहाँ बेच्नका लागि तयारी अवस्थाका खसी, बोका र बाख्रा हुन्छन्।

गाउँबाट ल्याइएका बाख्राहरूमा पौष्टिकताको अभावले दुब्ला हुने भएकोले केही दिन ‘बी’ ब्लकमा राखेर पौष्टिक आहार र उचित रेखदेखपछि त्यही ब्लकबाट बिक्री सुरु गरिन्छ। यदि ‘बी’ ब्लकमा रहँदा बिक्री नभएर केही लामो समय पाल्नुपर्ने अवस्था आयो भने ती बाख्रालाई ब्लक ‘सी’ मा सार्ने गरिएको छ।

मलका कारण हुने संक्रमणबाट सचेत

खोरमा बाख्राको मल ‘जुतो’ को  उचित व्यवस्थापन गरिएको छ। खोरको तल अलिकति ‘जुतो’ जम्मा हुँदासाथ बाहिर निकालिन्छ जसका कारण मलका कारण हुन सक्ने कुनै  संक्रमण खोरमा छैन। बाख्राको मल बेचेर  उनले आम्दानी राम्रै गरिरहेका छन्। एक बोरा बाख्राको ‘जुतो’ को मूल्य बजारमा ३ सय रुपैयाँ चलेको छ, उनले महिनामा ३० बोरासम्म बिक्री गर्दै आएका छन्। 

बोयर ‘सोल्टी’को मूल्य डेढ लाख

शिवको फर्ममा रहेका बाख्राहरूमध्ये सबैभन्दा आकर्षणको केन्द्र बोयर अस्ट्रेलियन क्रसको ‘सोल्टी’ हो। उनी खोरमा जाँदासाथ ‘सोल्टी... ’ भन्दै बोलाउँछन् अनि बोकोले जवाफमा कराउँदै माया देखाउँछ। बोयर क्रस जातको उक्त बोकालाई चितवनको जगतपुरबाट ल्याइएको हो। फर्मको अवलोकनका लागि आउनेहरू ‘सोल्टी’ लाई हेर्दै रमाउँछन्, तर नजिक जान सक्दैनन्।

उनले भने, ‘सोल्टीको तौल झन्डै एक क्विन्टल छ, डेढ लाख रुपैयाँ दिएका थिए तर बिक्री गरिनँ मैले।’ सोल्टीको बलियो र ठूलो शरीरको भएकोले घाँटीमा डोरी नबाँधेर खुट्टामा बाँधिएको छ। फर्ममा पालिएका अरू जातका बाख्राहरूलाई बोयर क्रस जातको बोको लगाउँदा खसी बोकाको तौल निकै धेरै हुने भएकोले ब्याडको रूपमा पाल्ने उनको योजना छ। 

घाँस र चरन क्षेत्र

फर्म बजारमा रहेका कारण बाख्रा चराउनको लागि चरन क्षेत्रको अभाव छ। यही कारण उनले बाख्रालाई घाँसको अभाव हुन नदिन २ रोपनीभन्दा बढी क्षेत्रफलमा ८ प्रकारका घाँस रोपेका छन्। उनको घाँसबारीमा नेपियर, सेटेरिया, सीओफोर, सुडान, पस्पलान, बाजुरा, किम्बु र मलाटो जातका घाँस छन्।

सग्लै हाल्दा घाँसको अलिकति कडा भाग बाख्राले चपाएर फाल्ने भएका कारण मेसिनले घाँसलाई टुक्रा पारेर बाख्रालाई खान दिइन्छ। स्थानीय जातका घाँसमा निकै कम मात्रामा प्रोटिन हुने र विकास जातका घाँसमा १५ प्रतिशतसम्म प्रोटिन हुने भएकोले स्थानीय घाँसको प्रयोग खासै नगरिने शिवले बताए।

उनको अनुभवमा जुन दिनमा घाँस काटिन्छ त्यही दिनमा पशुलाई दिनुहुँदैन। शीतलमा राखेर नओइलाएको घाँसमा कीटाणु बढी सक्रिय हुने भएकोले रोग लाग्ने सम्भावना उच्च रहन्छ भने प्रोटिनको मात्रा बढी हुने भएकाले पचाउन  कठिन हुन्छ।

छिट्टै बिक्री गरिने र मासुको प्रायोजनमा जाने भएकाले शिवको खोरमा पालिएका खसी र बोकाको बिमा गरिएको छैन। तर, माउ बाख्राहरूको लागि ४ लाख ५० हजार रुपैयाँको बिमा गरिएको छ। समय समयमा जिल्लास्तरीय र प्रदेश स्तरीय तालिमहरूमा सहभागी हुने अवसर पाएका कारण उनलाई फर्मबाट प्रगति गर्न सजिलो भएको छ।

बाख्राको मनोविज्ञान बुझ्नसक्ने भएका छन् उनी अहिले। बाख्राले के खोजेको छ? के भएको छ? स्वास्थ्य अवस्था के छ? भन्ने कुरा हेर्नासाथ थाहा पाइहाल्ने उनी बताउँछन्। अहिलेसम्म मेसिनबाट काटिएको घाँस बाख्रालाई दिँदै आएका उनले अर्को वर्षबाट ढुसी उमारेर प्याकिङ गरिएको घाँस बनाउने तयारी गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.