ट्राफिक भन्छ : बत्तीमै समस्या

|

काठमाडौं :  काठमाडौं उपत्यकाको सडकमा जोडिएको ट्राफिक बत्ती प्राविधिक समस्याले प्रयोगमा आउन सकेका छैनन्। उपत्यकाको आठ स्थानमा जडान गरिएका नयाँ ट्राफिक बत्ती प्रयोगमा नआएको सडक विभागले जनाएको छ।

यसरी बत्ती प्रयोगमा नआउनुमा ट्राफिक प्रहरीले प्राविधिक समस्या रहेको बताएको छ भने सडक विभागले प्रहरीसँग सञ्चालनको ज्ञान नै नभएको जनाएको छ। 

पुरानो बानेश्वर, पद्मोदय मोड, सिंहदरबार, मित्रपार्क, कालिमाटी, गौशाला, तीनकुने, बागबजारलगायत स्थानमा ट्राफिक बत्ती जडान गरिएको छ। गत आर्थिक वर्षको बजेटले ट्राफिक बत्ती जडान गरेको हो। सो बत्ती १ करोड बजेटको लागतमा  जडान गरिएको हो।

नयाँ ठाउँमा जोडिएको बत्तीलाई सहज रूपमा सञ्चालन गर्न ट्राफिक प्रहरीसँग समन्वय गरिरहेको सडक सुरक्षा तथा ट्राफिक शाखा इन्जिनियर दीप बाराहीले बताए। उनका अनुसार ट्राफिक प्रहरी नयाँ बत्तीको प्राविधिक पक्षसँग जानकार छैनन्। परीक्षणका लागि बत्ती केही दिन बालिएको थियो।

ट्राफिकलाई तालिम

निर्माण कम्पनीले ट्राफिक प्रहरीलाई बत्ती सञ्चालन गर्नका लागि तालिम दिइरहेको बाराहीको भनाइ छ। नयाँ बत्तीको सम्बन्ध ट्राफिक जामसँग भएकोले पनि बत्ती सञ्चालन गर्न नसकेको उनको भनाइ छ।  निर्माण कम्पनीको सहकार्यमा ट्राफिक प्रहरीलाई बत्तीको बारेमा जानकारी दिइरहेको उनले प्रष्ट पारे।

लाइटको निर्माण यार्सा टेक्नोलोजिले कम्पनीले गरेको हो। बत्तीको मर्मत सम्हार ५ वर्षसम्म कम्पनीले गर्ने बाराहीले बताए। बत्ती जडान गरेको चोक-चोकमा बसेको ट्राफिक प्रहरीलाई कम्पनीले बत्ती सञ्चालनको बारेमा तालिम दिइरहेको उनको भनाइ छ। 'काठमाडौं उपत्यकामा नयाँ ठाउँमा जडान गरिने बत्तीहरू स्मार्ट ट्राफिक बत्तीहरू जडान हुन्छ, ' उनले भने।

नयाँ ठाउँमा जोडिने बत्तीहरू निर्माण गर्नको लागि विदेशबाट विज्ञ ल्याइने बाराहीले बताए। 'नयाँ बत्तीहरूले एक चोकबाट अर्को चोकमा भएका ट्राफिक बत्ती र ट्राफिक जामलाई समेत जानकारि दिन मिल्ने गरि बत्तीको निर्माण हुन्छ ' उनले भने। काठमाडौंमा एउटा चौकमा भएको ट्राफिक जामलाई छोडयो अर्को ठाउँमा पुनः जाम हुने अवस्था रहेको उनको धारणा छ। नयाँ निर्माण हुने बत्तीहरूले उपत्यकाको जामलाई मिलाएर मात्र ट्राफिक बती बल्ने उनको भनाइ छ।

२१ ठाउँमा बत्ती

उपत्यकामा २१ ठाउँमा ट्राफिक बत्ती छ', उनले भने, 'भएका केही बत्ती बल्छन्, केही मर्मत गरिरहेको छौँ।'  महाराजगञ्ज, बानेश्वर, कोटेश्वर सूर्यविनायक, शंकरदेव क्याम्पस र पुतलीसडकमा पुरानो ट्राफिक बत्ती रहेको उनको भनाइ छ। नयाँ बत्ती जडान गर्दा भने सबै पुरानो बत्तीलाई विस्थापन गरी स्मार्ट ट्राफिक बत्ती राखिने उनले बताए।

चाबहिल, पुरानो बानेश्वर, मैतिदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, मित्रपार्क, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, जावलाखेल, एकान्तकुना, लैनचोर हल्चोक, सोह्रखुट्टे, बल्खु, सामाखुसी चोक, महालक्ष्मी स्थान, टेकु, गैरीधारा लगायत स्थानमा जाम बढेको भन्दै ट्राफिक प्रहरीले बत्ती आवश्यक भएको उनले बताए।

नेपालमा ट्राफिक बत्ती जडान सुरुमा २०२४ सालमा गरिएको थियो। त्यसबेला सुन्धारा, न्यूरोड गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा बत्ती जडान भए पनि पछि काम गर्न छाड्यो। सवारी जाम बढ्दै गए पनि बत्ती बलेन।

जापान सरकारले २०५८ सालमा थापाथलीमा ट्राफिक बत्ती जडान गरेको थियो। जापान सरकारले नै फेरि उपत्यकाका विभिन्न १० स्थानमा त्यसै वर्ष बत्ती जडान गर्यो। ती ११ स्थानका बत्ती २०६७ सालदेखि काम नलाग्ने भए।

यसैगरी उपत्यकामा जडान गरिएको नयाँ बत्तीले यातायातको ट्राफिक जामलाई केही सहयोग गर्न नसक्ने भएकोले सञ्चालन हुन नसकेको ट्राफिक महाशाखा प्रवक्ता रवि पौडेलले बताए। उनका अनुसार बत्तीले सवारी जामलाई सन्तुलनमा राख्न सक्नुपर्छ। बत्तीको सम्बन्ध यातायातसँग सम्बन्ध हुन्छ। बत्तीको प्राविधिक पक्ष राम्रो छैन।

बत्तीको सम्बन्ध दोस्रो चोक वा पहिलो चोक हुनुपर्छ,' उनले भने, ' जुन यातायातको चापले पछिल्लो वा अगाडिको सवारीलाई बत्तीले संकेत गर्न सक्नुपर्छ।' उपत्यकामा विकसित बत्ती चाहिने उनको धारणा छ। उपत्यकाको सवारीको चापलाई मध्यनजर गर्ने हो भने यहाँको बत्ती कुनै पनि सुहाउँदिलो नभएको उनको तर्क छ।

केही ठाउँमा भए‍को बत्ती सञ्चालन भइसककेो उनले जानकारी दिए। ट्राफिक प्रहरीको कारणले बत्तीमा अवरोध नआएको उनको दाबी छ। सडक विभागले सडकमा जडान गरेको बत्ती केही दिनमा चालू हुने उनको विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.