|
फाइल फोटो

हेटौँडा : प्रदेश १ को प्रदेशसभाको बुधबारको शून्य समयमा प्रदेशसभा सदस्यहरूले पूर्वलडाकुलाई प्रमाण परिचय पत्र दिनुपर्नेदेखि काठमाडौंको ट्राफिक जामसम्मको विषयहरू उठाएका छन्। 

नेकपाका प्रदेशसभा सदस्य ओम ग्लानले जनआन्दोलनका योद्धाहरूलाई परिचयपत्र वितरण गर्न माग गरेका छन्। शून्य समयको पहिलो वक्ताको रूपमा उनले पूर्वलडाकुहरूकै योगदानले नेपालमा गणतन्त्र सम्भव भएको भन्दै अकिहले ती योद्धाहरूको विजोग भएको बताए।

प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले ललितपुरको ढुंगा खानी व्यवस्थित रूपमा सञ्चालन हुनुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। 

नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले  बौद्ध स्तुपाको पुजारी परिवर्तन गर्न प्रदेश सरकारसँग माग गरेका छन्। उनले घ्याङ गुठीको पुजारीले जनताको भावना नबुझी काम गरेकोले बर्खास्त गर्न माग गरेको बताए। लामाले राजमार्गलाई सुरक्षित बनाउन माग गर्दै जनताको जीउधनप्रति सरकार गम्भीर हुनु पर्ने माग गरे। 

सांसद जगत बहादुर सिम्खडाले रुवि भ्याली एकीकृत विकास कार्यक्रम नीति तथा कार्यक्रममा आएता पनि बजेटमा नदेखिएकोले कहाँ पुग्यो? भन्दै प्रश्न गरेका थिए। उनले श्रम ऐन लागू गर्दा मजदुरहरूलाई मालिकहरूले निकालेको बताउँदै यसप्रति संघीय सरकारको ध्यान जानुपर्ने बताए।

नेकपाका सांसद दीपक निरौलाले सरकारले एकीकृत कार्यालय खोल्ने नीति कार्यक्रममा उल्लेख भएता पनि अहिलेसम्म खोल्न नसकेको प्रति सरकारको ध्यानाकर्षण गराए। सरकारले लिएको पर्यटन वर्ष २०२० को लक्ष्य पूरा गर्न तोकेका पर्यटकीय गन्तव्यप्रति सरकारको ध्यान नगएको भन्दै उनले चिन्ता प्रकट गरे।

कांग्रेसका सांसद नरोत्तम वैद्यले भक्तपुर अस्पताललाई भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेको भन्दै सरकार चुप बस्न नहुने बताए। यस्तै  कांग्रेसकै सांसद न्हुच्छे नारायण श्रेष्ठले सरकारलाई 'विपद् व्यवस्थापन कोषको प्रयोग विपद्को बेलामा किन भएन? प्रतिपक्ष दल नेपाली कांग्रेसले ५ दिन तलब बराबरको रकम उठाएर सरकारलाई दिएको थियो त्या कहाँ छ?' भन्दै प्रश्न गरे।

विवेकशीलका सांसद विराजभक्त श्रेष्ठले काठमाडौंको ट्राफिक जामप्रति सरकार गम्भीर हुन ध्यानाकर्षण गराएका छन्। उनले सडकमा ट्राफिक लाइट र जेब्राक्रसिङ निर्माण गर्न सरकारसँग माग गदै  प्रदेशमा नयाँ सवारी साधन दर्ता नगर्नसमेत सरकारलाई सुझाब दिए।

नेकपाका सांसद प्रेम बहादुर पुलामीले मकवानपुरको बकैया गाउँपालिकाको दक्षिणी भागमा सीमा विवाद भएकोले प्रदेश ३ को रौतहटबाट विद्युत् जडान गर्न रोकिएको प्रति सरकारको ध्यानाकर्षण गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.