|

डडेल्धुरा : सुदूरपश्चिमेलीको महान पर्व गौराको अवसरमा डडेल्धुरामा आयोजित ‘राष्ट्रिय गौरा महोत्सव २०७६’ सम्पन्न भएको छ। विगतका वर्षहरूझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले आयोजना गरेको राष्ट्रिय गौरा महोत्सव बिहीबार समापन गरिएको हो।

यहीँ भदौ ९ गतेदेखि शुरु भएको गौरा महोत्वस बिहीबार एक कार्यक्रमकाबीच समापन गरिएको हो। सदरमुकाम बागबजारस्थित बसपार्कमा सञ्चालित चार दिने राष्ट्रिय गौरा महोत्सव विधिवत रुपमा गौरा विर्सजन गर्दै समापन भएको राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले बताए।

जिल्ला सदरमुकामको बसपार्कमा आयोजना भएको महोत्सवमा प्रतिस्प्रधात्मक गौरानाच, वालो नाच, चैत, धुमारी, फाग, घुइच्म्फा, हुडकेली, महिला तथा पुरुष खुल्ला देउडा प्रतियोगिताको आयोजना गरिएको थियो।

गौरा महोत्सवको अन्तिम दिन बिधिवत रुपमा गौरा बिसर्जनसँगै प्रतियोगितामा उत्कृष्ट स्थान ल्याउने महिला-पुरुष देउडियालाई सम्मान गर्दै पुरस्कार वितरण गरिएको छ। पुरुष देउडामा भूपेन्द्र पन्त सर्वोत्कृट हुँदा करवीर ऐर उत्कृष्ट भए। महिला देउडामा देबकी जोशी सर्वोत्कृट भइन् भने पशुपति पाण्डेय उत्कृष्ट भएको अध्यक्ष भट्ट जानकारी दिए। उनका अनुसार चैततर्फ मदनराज भट्ट उत्कृट भएका छन्।

गौरा महोत्सवमा डडेल्धुरालगायत अन्य जिल्लाहरुबाट आएका हजारौंले गौरा महोत्सव अवलोकन गर्नुका साथै सुदूरपश्चिमको संस्कृति सँगै रमाएका थिए। देउडियाले राजनीतिक व्यंगसँगै सामाजिक कुरीति र विसंगतिविरुद्ध देउडा गाउने गरेका छन्।

जसबाट समाजमा परिवर्तनको सन्देश प्रवाह हुने गरेको छ। पुराना माया प्रितिका देउडा भाका भने हाल विरलै सुन्न पाइने गरेको छ। सुदूरपश्चिमेलीको महान पर्व गौरा भदौ ३ गतेबाट आरम्भ भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.