दैलेखमा पशुचौपाय प्रवेश निषेध

|

सुर्खेत : सुर्खेतमा गौहत्या गर्नेलाई कार्वाहीको माग राख्दै प्रदर्शन गरिएको छ। नेपालगञ्जबाट दैलेखको पठाएका भनिएका गाई सुर्खेतको वीरेन्द्रनगर १४ कटकुवा र सुब्बाकुना नजिकै दुई दर्जन बढी गाईगोरु मरेको अवस्थामा भेटिएपछि कार्वाहीको माग राख्दै प्रदर्शन गरिएको हो।

सुर्खेतको मंगलगढी चौकबाट निकालिएको र्‍याली वीरेन्द्रचौकमा पुगेर कोणसभामा परिणत भएको थियो। सभामा बोल्ने अधिकांसले रातारात नेपालगञ्जका गाईगोरु सुर्खेत हुँदै दैलेख लैजानुको कारण सार्वजनिक गर्न माग गरेका छन्।

इलेक्ट्रोकोनी वस्तुगत समिति सुर्खेतका अध्यक्ष भुवन ज्ञवालीले दर्जन बढी गाई मृत भेटिनु रहस्यमय भएकाले उचित छानबिनको माग गरे। उनले घटनामा ट्रक चालक मात्रै नभई अन्य व्यक्तिको संलग्नता रहन सक्ने भन्दै निष्पक्ष छानबिन गर्न आग्रह गरे।

यसैबीच, सुर्खेतको वीरेन्द्रनगर १४ कटकुवामा अलपत्र गाईगोरु नेपालगञ्ज फिर्ता पठाइएको छ। कटकुवामा जीवित एक सयबढी गाईगोरु नेपालगञ्ज पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी पूर्णचन्द जोशीले जानकारी दिए।

‘शुक्रबार साँझ नै जीवित पशुचौपायलाई नेपालगञ्ज पठाइएको छ’ जोशीले भने, ‘बाँकी रहेका गाईगोरु पनि पठाउने तयारी भइरहेको छ।’ उनले गाईगोरु ल्याउने पाँच ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए।

नेपालगञ्ज उपमहानगरपालिकाले २९१ गाईगोरु दैलेख पठाउने भन्दै  सुर्खेततिर पठाएको कागज भेटिएको थियो। दैलेख पठाइएका सयौँ गाईगोरु भीरबाट खसालेर मारेको भन्दै चौतर्फी आचालोचना भइरहेको छ।

उता, सुर्खेतमा मरेका पशुचौपायका बारेमा दैलेखका तीन वटा स्थानीय तहले आफूहरूलाई यो विषयमा नेपालगंज उपमहानगरपालिकाले कुनै पनि समन्वय नगरेको बताए। दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले दैलेखको श्रीस्थानमा नेपालगञ्जबाट पशुचौपाय पठाउनेबारे आफूलाई कुनै जानकारी नभएको बताए। ‘श्रीस्थान मन्दिरका पुजारी र महन्तलाई यो विषयमा बुझ्दा उहाँहरूले पनि आफूलाई जानकारी नभएको बताउनुभयो,’ उनले भने ‘यो विषयमा नगरपालिकासँग कुनै समन्वय भएको छैन्।’

यस्तै, भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले पनि यस विषयमा खबर पाएलगत्तै प्रहरी र प्रशासनलाई गाउँपालिकाको क्षेत्रमा पशुचौपायहरु ल्याउन नदिन आग्रह गरेको बताए।

नारायण नगरपालिकाका रत्नबहादुर खड्काले रानीमत्ता चेक पोष्टमा प्रहरीसँगको भेटमा सुर्खेतको कटुवामा रहेका पशुचौपायलाई दैलेख प्रवेश गर्न नदिन भनेको बताए।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले दैलेख क्षेत्रभित्र ती पशुचौपायलाई ल्याउन नदिन सम्बन्धित सीमा क्षेत्रमा आफूले जानकारी गराएको बताए।

नेपालगञ्ज उपमहानगरपालिका र बाँके प्रशासनसँग यो विषयमा कुनै पनि सहकार्य नभएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललेको भनाइ छ।

यसैबीच दैलेखको श्रीस्थान मन्दिर व्यवस्थापन समितिले नेपालगंज उपमहानगरमालिकाले श्रीस्थान क्षेत्रमा गाई पठाएको भनिए पनि श्रीस्थान मन्दिर व्यवस्थापन समिति र गाँउपालिका कसैलाई पनि आधिकारिक जानकारी नभएको स्पष्ट पारेको छ। साथै सामूहिक गौहत्या प्रति दुःख पनि प्रकट गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.