|
फाइल फोटो

सिन्धुपाल्चोक : भूकम्पपछि बन्द रहेको चीन र नेपालबीचको ठूलो व्यापारीक तातोपानी नाका चार वर्षपछि खुल्यो। तातोपानी नाका सञ्चालनमा आएसँगै सीमाक्षेत्रको बाटो भएर तस्करीहरू सक्रय हुन थालेको पाइएको छ।

तातोपानी नाका यसअघिको दिनमा समेत अवैध कारोवारको लागि प्रख्यात थियो। भूकम्पपछि बन्द भएको बेलामा चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुद नभएकै कारणले अवैध कार्य गर्नेहरू डराएका थिए। तर, नाका खुलेको दुई महिना बित्न नपाउँदै नाकाबाट अवैध सामग्रीको ओसारपसार सुरुवात भएको छ।

चीन अवैध कारोबार गर्नका लागि भारतले समेत तातोपानी नाकालाई ‘ट्राजिन्ट प्वाइन्ट’ बनाएको छ। केही दिनयता मात्रै भारतबाट नेपालको बाटो बनाउँदै तातोपानी नाकाबाट भित्र्याउन लागेको ८३ केजी रक्तचन्दनसहित २ जनालाई प्रहरीले पक्राउ पर्‍यो। रक्तचन्दन र दुई भरियासहित काठमाडौंको बौद्धबाट प्रहरीले पक्राउ गरेको हो।

केहि साताअघि पनि तातोपानी नाका हुँदै संघीय राजधानी काठमाडौं भित्राउन लागेको अवैध खाद्य सामग्री बरामद भएको थियो। लोड गरेर फिर्ता आउँने क्रममा मितेरी पुलबाट अवैध मादक पदार्थसहित खाद्य सामग्रीको बोलेरो पक्राउ परेको थियो। पक्राउ परेको बोलेरो र चालक १ लाख ८ सय पैसठ्ठी रुपैयाँ धरौटीमा रिहा भएका थिए। तर, अवैध सामग्री बरामद परे पनि बाहिर कुनै सूचना आएको थिएन। पक्राउ परेका चालक रिहा भइसकेपछि मात्रै रहस्य बाहिर आएको थियो।

सुरक्षाको दृष्टिले चुस्त पारेको हुनाले अहिलेसम्म कुनै अवैध गतिविधि नभएको जिल्ला प्रहरी कार्यालय डिएसपी माधव काफ्लेले दावी गरे। ‘खासाबाट लोड भएर आएको सबै सामान बन्दगाहमा आएर चेकजाँच हुन्छ, यताबाट उता प्रवेश नै कठिन छ’ डिएसपी काफ्लेले भने, ‘त्यसैले अहिले कुनै अवैध सामग्री ओसारपसार हुन सकेको छैन।’

कस्तो थियो अवैध व्यापार अवस्था ?

सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पअघि अवैध व्यापारमा चर्चित थियो। सुन, रक्तचन्दनलगायत अन्य बहुमूल्य सामग्री ओसारपसारको केन्द थियो। सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिने सुन, रक्तचन्दन अरनिको राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्न लाग्दा धेरै पटक प्रहरीले पक्राउ गरेको थियो।

केही वर्षअघि रक्तचन्दनको अवैध ओसारपसार हुँदा प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल, दोलालघाट, उग्रचण्डीनाला, धुलिखेल लगायतका क्षेत्रबाट विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो। उता, सिन्धुपाल्चोकको विभिन्न ठाउँबाट पनि रक्तचन्दन बरामत हुनुका साथै तस्करसमेत समातिएका थिए।

तातोपानी नाका बन्द भएपछि तस्कारीले व्यापारिक केन्द्र परिर्वतन गरेको पाइन्छ। तातोपानी नाका बन्द भएपछि अवैध सुन रसुवाको केरुङ नाकाबाट समेत बरामद भएको थियो। तस्करीले विभिन्न ठाउँबाट धेरै संयन्त्र अपनाएर तस्कारी गर्दै आएका थिए।

चीनको चासोमाथि ठेस

नेपाल र चीनबीचको प्रमुख व्यापारिक केन्द्र हो तातोपानी नाका। तातोपानी  नाका भूकम्पपछि बन्द भयो। लामो कसरतपछि नाका सञ्चालनमा आएको दुई महिना बित्यो। तर, नाकामा अवैध व्यापारमा तस्कारी सक्रिय भएको खुल्न आएको छ।

चीनले तातोपानी नाका सञ्चालनमा ल्याउनको लागि सुरक्षाको दृष्टिले ठेस पुगेको हुनाले आनाकानी गरिहरेको थियो। तातोपानी नाकाबाट पहिलेको जस्तो अवैध व्यापार नियन्त्रण गर्नका लागि चिनियाँ पक्षले नेपाली टोलीसँगको वार्तामा पटकपटक भन्दै आएको थियो।

नेपाली सरकारी टोलीले सुरक्षा प्रत्याभूत गराएपछि मात्रै चिनियाँ टोली नाका सञ्चालनमा तत्पर भएको थियो। गृहमन्त्री रामबहादुर थापाले नाका सञ्चालनको एक साताअगाडि नाकाको सुरक्षा अवस्था चुस्त राख्न निर्देशन दिएका थिए। तर, नाकाको पछिल्लो अवस्थालाई हेर्दा नेपालले चीनको चासोमाथि ठेस पुर्‍याएको प्रष्ट हुन्छ।

रक्तचन्दन र सवारी अलपत्र

तातोपानी नाकाबाट बरामद भएका रक्तचन्दन र सवारी साधन अहिले अलपल अवस्थामा थन्किएर बसेको छ। बरामद भएका रक्तचन्दन सड्ने अवस्थामा पुगेका छन् भने सवारी साधन कवाडी बनिसकेका छन्।

अवैध रूपमा भित्राउने क्रममा प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन कुहिने अवस्थामा पुगेको छ। चीनको खासाबाट लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। बरामद भएका सामग्रीको विषयमा कानुन नहुँदा के गर्ने भन्नेमा अन्यौलता छाएकै कारणले अलपल परेको हो।

प्रशासन कार्यालयको प्रांगणमा ६२ सालदेखि बरामद गरिएको रक्तचन्दन र कवाडी बनिसकेका सवारी थन्किएर बसेका छन्। २०६२ सालमा बाह्रबिसे प्रहरीले बरामद गरेको ७ हजार ८ सय किलो, ६४ सालमा जिल्ला प्रहरी कार्यालयले बरामद गरेको ६ हजार ६ सय किलो, ६४ मा विशेष अनुगमन टोलीले बरामद गरेको ८ हजार २ सय किलो रक्तचन्दन अपलपत्र अवस्थामा छ।

व्यापारमा वृद्धि

नाका सञ्चालन भएपछि तातोपानी नाकाको व्यापारमा वृद्धि भएको छ। जेठको १५ गतेबाट औपचारीक रूपमा सञ्चालनमा आएको नाकामा अहिले विस्तारी व्यापारमा वृद्धि हुँदै आएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।

नाकामा व्यापार वृद्धि भएपछि राजस्व संकलनमा समेत वृद्धि भएको उनले जनाए। नाका सञ्चालन भएपछि करिब डेढ महिनाको अन्तर्रालमा ५३ लाख मात्र राजस्व संकलन भएको थियो। यसअघि यस नाकाबाट दैनिक करौडौँ राजस्व संकलन हुँदै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.