|

काठमाडौं : नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’मा यसपाली लेकालीका गीत प्रस्तुत भएका छन् । शुक्रबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा लेकालीले सृजना गरेका १४ वटा गीतहरू प्रस्तुत गरिएको हो।

विसं २०२४ सालमा स्थापना भएको लेकालीले समूहले लामो समयपछि प्रस्तुति दिएको हो। उक्त प्रस्तुतिमा लेकालीले यसअघि २०२८ सालमा आफ्नो पछिल्लो सांगीतिक कार्यक्रम गरेको झम्झिएको थियो। लेकालीले शुक्रबार साँझ तिनै पुराना र चर्चित गीतहरू गाएर नेपालयको ‘आर’शालामा उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो।

कार्यक्रममा लेकालीका प्रारम्भिक चरणका तीन सदस्य गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठको सहभागिता रहेको थियो। लेकालीमा निर्मला श्रेष्ठ, शशि भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीनकिशोर राई, नीरा श्रेष्ठ, न्हुच्छे बहादुरलगायतको संलग्नता रहेको थियो। यीमध्ये ‘आर’शालामा उपस्थित नीरा श्रेष्ठ भने स्वस्थ्यका कारण मञ्चमा उपस्थित भइनन्। शशी भण्डारी र कमला श्रेष्ठ दिवंगत भइसकेका छन्।

कार्यक्रमको शुरुवात एकताका रेडियो नेपालबाट घन्किएर लोकप्रिय बनेको गीत ‘लहरा पहरा छहराको देश’बाट भएको थियो। लेकालीले वि.सं. २०२५ मा गरेको आफ्नो पहिलो कार्यक्रमलाई यही गीतको बोलबाट नामाकरण गरेको जानकारी गराएको थियो। आफ्ना संस्मरणसहित गीत प्रस्तुत गरिरहेका लेकाली सदस्यका रोचक प्रसंगहरूले कार्यक्रममा थप रौनक थपेको थियो ।

अर्को गीत शुरु गर्ने क्रममा गायक रसिकले भोजपुरबाट काठमाडौं आउँदाको आफ्नो विगत सम्झँदै आफ्नो सांगीतिक शुरुवात ‘राल्फा’बाट भएको स्मरण गरेका थिए। ‘राल्फा’बाट पृथक् भएपछि हिरण्य भोजपुरेसँगको भेट र लेकालीको आरम्भ भएको प्रसंग जोड्दै उनले ‘हुस्सुले छोपेको शहर’ सुनाएका थिए।

चौथो गीत लेकालीको पलेँटीमा अतिथि गायिकाको रुपमा संलग्न भएकी लोकप्रिय गायिका मीना निरौलाले सुनाएकी थिइन्। हिरण्य भोजपुरेले सृजना गरेको गीत ‘म सानो मेरो मन सानो’ मीनाको स्वरमा निकै सुहाएको प्रतिक्रिया दर्शकहरूबाट आएको सुनिन्थ्यो।

त्यसपछि गणेश रसिकले सृजना गरेका दुईवटा युगल गीतमा पनि रसिकलाई मीनाले साथ दिएकी थिइन्। रसिकले पछिल्लो चरणमा सृजना गरेका यी दुई गीतमा उनले काव्यिक प्रयोग गरेको छनक पाइन्थ्यो। स्लो नम्बरका यी गीत ‘ओ शून्यता’ र ‘तिम्रो सुन्दर रुपमा बस्छु म’ मार्फत् रसिकले मानवीय संवेदनालाई पृथक बिम्बकासाथ अभिव्यक्त गरेका छन्।

कार्यक्रमको अर्को चरणमा महिला र पुरुष युगल गीत प्रस्तुत भएका थिए। महिलायुगल गाउनु पहिले उर्मिला श्रेष्ठले आफ्नो पारिवारिक पृष्ठभूमिलाई सम्झँदै त्यतिबेला महिलाले गीत गाउनुलाई काठमाडौंको रैथाने नेवार परिवारले सहजतापूर्वक नलिएको सन्दर्भ सम्झिइन्। उर्मिला र मीनाको स्वरबाट ‘खोलाको तिरमा’ र ‘काफल पाक्यो’ गुञ्जनसँगै कार्यक्रमले लोकशैलीका गीतमा प्रवेश गरेको थियो।

पलेँटीमा वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर महर्जनले साथ दिएका थिए।

पलेँटीको आउँदो महिनाको शृंखलामा गीतकार तथा कविहरू कालीप्रसाद रिजाल, मञ्जुल र तीर्थ श्रेष्ठ प्रस्तुत गरिने कुरा आयोजक संस्था नेपालयले जानकरी गराएको छ। सो अवसरमा तीनजनै श्रष्टाहरूको पुस्तक सार्वजनिक गर्ने कुरा पनि जानकारी गराइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.