|

रौतहट : १२ बालक हत्यामा संलग्न अभियुक्तहरूलाई धमाधम अदालतले छाडेको भन्दै आमाबावु चिन्तित बनेका छन्। गोली हानी हत्या गरिएका १२ वर्षीय बालक युवराज साहका आमाबुवाले धमाधम अभियुक्तलाई धरौटीमा रिहा गर्न थालेपछि अदालतप्रतिको विश्वास घटेको समेत बताएका छन्। गत २०७५ जेठ २६ गते कटहरिया नगरपालिका-८ डुमरियाटोल निवासी दीलिप साहका १२ वर्षीय छोरा युवराजको गोल हत्या भएको थियो।

उक्त घटनामा संलग्न आरोपमा पक्राउ परेका राम बालक राय यादव र कृष्ण राय यादवलाई पाँच लाख धरौटी लिएर तारेखमा छाड्न बिहीबार सर्वोच्च अदालत काठमाडौंले आदेश दिएको थियो। छोरोको हत्यामा संलग्न अझै पाँचजना फरार रहिरहेको अवस्थामा उल्टै पक्राउ परेकाहरूलाई पनि न्यायालयले छाडनुले पीडित परिवारलाई झन दुःखी बनाएको उनहरूले बताए। चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरी मृतक बालक युवराजका बुवा दीलिप साह र आमा वविता देवीले अपराधीलाई कडाभन्दा कडा सजाय हुनुपर्ने माग गरेका छन्।

मृतकका बुवा साहका अनुसार हत्यामा संलग्न कटहरिया नगरपालिका-९ डुमरियाटोलका खिरोदन राय यादव, प्रहरी जवान होस नारायण यादव, लालबाबु यादव र अन्य एकजना अझै फरार रहेका छन्। हत्याको अभियोगमा कटहरिया नगरपालिकाका-९ का वडा अध्यक्ष रामज्ञा यादव, शक्ति यादव, विवेक पटेल, रवि पटेल र सुनिल यादव भने जेलमै छन्।

हत्यामा संलग्नहरू धमाधम छुट्दै जानुले आफू नै असुरक्षित भएको मृतक बालककी आमा वविता देवीले बताइन्। उनले भनिन् ‘हत्यामा संलग्नहरू धमाधम छुट्दै छन्,अब हामीलाई नै मार्लान भन्ने ठूलो भय छ।'

गत २०७५ जेठ २६ गते राति १ बजे बालक सुतेकै ठाउँबाट अपहरण गरी हत्या भएको थियो। उक्त घटना मुख्य योजनाकारको भूमिका खेलेका वडा अध्यक्षसहित १२ जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले अपहरण, हत्या तथा हात हतियार मुद्दा दर्ता गराएको छ। नाबालक हत्या प्रकरणमा संलग्न रहेको भन्दै पीडित पक्षले यादव दाजुभाइसहित १७ जनाविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दर्ता गराएका थिए।

अपहरणकारीले एक करोड फिरौती मागेको र त्यो नपाएपछि युवराजको कन्चटमा गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ। अपहरणकारीले साहको घरभन्दा २५ किलोमिटर टाढा गढीमाई नगरपालिका-५ स्थित मदनपुरको बागमती किनारमा लगेर गोली हानी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.