आफ्नो देशको रेफ्री नहुँदा जिते पनि हराउने चिन्ता

|

डडेल्धुरा : देशमा माओवादी जनयुद्धको अन्त्य भइसकेको थिएन। गाउँमा माओवादीको आतंक चलिरहेकै थियो। माओवादीहरूले स्कुल पढ्ने विद्यार्थीहरूलाई आफ्ना कार्यक्रममा लैजान खोज्ने, आफूसँगै हिँड्न दबाब दिने लगायतका कामहरू हुने गर्थे।

माओवादीहरूका यस्ता क्रियाकलाप देखेर डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको-३ (साबिकको मष्टामाण्डौँ गाविस–४) सेल्तडाका तेजबहादुर देउवा दिक्क थिए। उनलाई पनि कैयौँपटक माओवादीले आफूसँगै लैजान खोजे। तर उनी माओवादीसँग हिँड्न मानेनन्। उल्टै माओवादीप्रति औँला ठड्याउने गर्थे। जसका कारण उनी माओवादीहरूको निशानामा पर्न थाले। उनलाई माओवादीहरूले खोज्न थाले।

गाउँभन्दा केही टाढा रहेको जनता माध्यामिक विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा उनलाई खोज्न माओवादीहरू कक्षा कोठासम्मै पुग्न थाले। साथीभाइ र शिक्षकको सुराकीका आधारमा उनी कक्षाबाट माओवादीहरूलाई छलेर भाग्ने गर्थे।

चैतको महिना कक्षा ८ को वार्षिक परीक्षा चलिरहेको थियो। तेजले परीक्षा हलभित्रै रहेका बेला माओवादीले आफूलाई समात्न आएको चाल पाए। अनि परीक्षा दिन छोडेर उनी त्यहाँबाट भागे। ‘म चैतको महिना वार्षिक परीक्षा दिइरहेको थिएँ’ उनले भने, ‘शिक्षकले माओवादी आफूलाई लैजान आएको चाल दिएपछि म त्यहाँबाट भागेँ।’

माओवादीहरूले लगातार खोजी गर्न थालेपछि उनले घरपरिवारसँग कुरा राखेर नपढ्ने विचार गरे। घरपरिवारले पनि उनलाई विद्यालय परिवर्तन गराउने मनशाय बनायो। उनलाई डोटीको राजपुरमा रहेको एउटा विद्यालयमा भर्ना गरियो। तर माओवादीहरूले तेज डोटी गइसकेको समेत थाहा पाइसकेछन्।

त्यहाँसमेत उनलाई खोज्न थाले। त्यसपछि उनले अब कि त भागेर भारत जाने, कि त तत्कालीन नेपाली सेनामा भर्ना हुने र माओवादीविरुद्ध नै लड्ने मनशाय बनाए। उनले भने, ‘म माओवादीबाट आजित भइसकेको थिएँ, त्यही बेला सेनामा भर्ना पनि खुलेको थियो, मलाई पढ्न नै दिँदैनथे, त्यसैले अब माओवादीविरुद्ध नै लड्नका लागि सेनामा भर्ना हुने सोच बनाएँ।’

परिवारलाई ढाँटेर सेनामा जागिर

तत्कालीन शाही नेपाली सेनामा भर्ना हुनको लागि एक दिनको मात्रै म्याद बाँकी थियो। उनले नेपाली नागरिकतासमेत बनाएका थिएनन्। भर्ना समय एक दिन मात्रै बाँकी तर उनीसँग नागरिकता नभएपछि उनलाई छटपटाहट हुन थाल्यो।

तर पनि उनी एकैदिनमा सबै काम भ्याएर भर्ना फाराम भर्ने मनाशायका साथ नागरिकता बनाउने भनेर बिहानै सिधै डोटी(राजपुर)बाट हतारिँदै डडेल्धुरा सदरमुकाम खलंगातिर निस्किए।

त्यही दिन भर्नाको म्याद सकिँदै थियो। असिन–पसिन हुँदै जिल्ला प्रशासन पुगेका उनको समस्या बुझेर सुरक्षार्थ खटिएका एकजनाले तुरुन्त गाविस सचिवलाई भेटेर नागरिकताको सिफारिस बनाउन भने।

उनी दौडिँदै फेरि करिब ३–४ किलोमिटर टाढा रहेको गाविस सचिवको घरमा पुगेर नागरिकताको सिफारिस लिएर फिर्ता आए। सुरक्षार्थ खटिएका व्यक्तिले लाइनबाटै सहयोग गरेर आवश्यक प्रक्रियाअनुसार नागरिकता बनाउन सघाए।

कडा मिहिनेतका बीच उनले नेपाली नागरिकता त पाए। तर भर्ना फाराम भर्नको लागि फेरि डडेल्धुरा खलंगाबाट डोटीको दिपायल पुग्नुपर्ने भयो। डडेल्धुरा बागबजारबाट गाडी चढेर उनी समयमै दिपायल पुगे र नेपाली नेपाली सेनाका लागि भर्ना फाराम भरे।  तालिममा क्रमश सहभागी हुनेक्रममा उनी सबै चरणमा पास भए र सेनामा भर्ना पनि भए।  ०६१ फाल्गुन १० मा उनी नेपाली सेनाका जागिरे भए।

उनले एकै दिनमा नागरिकता सिफारिस बनाउनेदेखि नागरिकता बनाएर डडेल्धुरा सदरमुकामबाट डोटी सदरमुकाम पुगेर सेनाको भर्ना फारामसमेत भर्न भ्याए। छनोट तालिमपश्चात सेनामा नाम निकाले तर पनि घरपरिवारले उनी सेनामा भर्ना भएको जानकारी पाएका थिएनन्।

उनी भन्छन्, ‘नेपाली सेनामा भर्ना भएको तीन महिनापछि मात्रै घरपरिवारले आफू सेनामा जागिरे भएको थाहा पाए।’ पढिरहेको  छु भनेर घरपरिवारलाई ढाँटेर सेनाको छनोट तालिममा आफू दौडिरहेको उनले सम्झिए।

खेलप्रति निकै रुचि

उनी खेलप्रति निकै रुचि राख्थे। उनले कक्षा ६–७ मा पढ्दा नै एक वर्षसम्म तेक्वान्दो सिकेका थिए। सेनामा भर्ना भइसकेपछि उनले सेनाका आन्तरिक प्रतियोगिताहरूमा तेक्वान्दोमा प्रतिस्पर्धा गर्न थाले।

तर पछि एकजना सेनाकै मेजरले उनलाई ज्यान बलियो भएको भन्दै तेक्वान्दो नभई बक्सिङ खेल्न सुझाए। मेजरको सुझावअनुसार उनले बक्सिङ सिक्न थाले र विस्तारै प्रतिस्पर्धासमेत गर्न थाले।

त्रिभुवन आर्मी क्लब प्रवेश

केही वर्षपछि पहिलो पटक उनले त्रिभुवन आर्मी क्लबबाट २०६९ सालमा २५औँ बृहत् राष्ट्रिय खेलकुदमा लाइट वेटमा बक्सिङ खेल्ने अवसर पाए। त्यसमा उनले तेस्रो स्थान हासिल गरे। त्यसपछिका विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा उनले फड्को मारेर अहिलेसम्म पनि कसैलाई पहिलो हुन दिएका छैनन्।

उनी २०६९ देखि हालसम्म लगातार राष्ट्रिय टिममा छनोट हुँदै आएका छन्। अहिलेसम्म उनले लगातार आधा दर्जन बढी राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान बनाएका छन्।

२०७० मा भएको वीर गणेशमान खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता, २०७१ मा भएको १२ औँ दक्षिण एसियाली खेलकुद छनोट, २०७२ मा भएको वीर गणेशमान खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता, २०७३ मा भएको गल्फटार खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता,  २०७३ मा ललितपुरमा भएको खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता, २०७५

मा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियागिता, त्यस्तै १८औँ एसियाली खेलकुद छनोट, प्रतियोगितासहित लगातार सात वर्षदेखि राष्ट्रिय प्रतियोगितामा उनले पहिलो स्थान बनाउँदै आएका छन्।

सुरुमा ४९ केजीमा खेल्ने गरेका तेजले हाल ५२ केजीमाथि खेल्ने गरेका छन्। उनले  आठौँ बृहत राष्ट्रिय बक्सिङ प्रतियोगितादेखि ५२ केजीमाथि खेल्न थालेका हुन्।

त्यस्तै सन् २०१८ मा भएको फस्ट इन्द्रमाया इन्टरनेसनल टुर्नामेन्ट र सन् २०१६ मा भएको नेपाल–भारत मैत्रीपूर्ण खेलमा समेत पहिलो भएका तेजले अन्य अन्तर्राष्ट्रिय खेलहरूमा समेत सहभागिता जनाइसकेका छन्।

सन् २०१८ मा भएको फस्ट थाइल्याण्ड इन्टरनेसनल टुर्नामेन्ट, सन् २०१६ मा भएको १२औँ दक्षिण एसियाली खेलकुद, सन् २०१८ फस्ट इन्डिया ओपन इन्टरनेस्नल टुर्नामेन्ट, सन् २०१९ मा भएको सेकेन्ड थाइल्याण्ड ओपन इन्टरनेस्नल बक्सिङ टुर्नामेन्ट, २०१९ मा भएको सेकेन्ड इन्डिया ओपन इन्टरनेसनल टुर्नामेन्ट र सन् २०१८ मा भएको १८औँ एसियन खेलकुदमा समेत सहभागी भइसकेका छन्।

सागमा स्वर्णपदक जित्ने लक्ष्य

नेपालमै आयोजना हुन लागेको १३औँ दक्षिण एसियाली खेलकुद(साग)को तयारीका लागि थाइल्याण्ड गएका तेज डेढ महिना लामो तालिम सकाएर बुधबार मात्रै नेपाल फर्किएका छन्। यसपटक अन्तर्राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने ठूलो आशा छ।

‘यसपटक तयारी राम्रो छ। थाइल्याण्डमा राम्रो ट्रेनिङ पाएको छु।’ उनले भने, ‘अरू देशभन्दा मुख्य प्रतिस्पर्धी भारत हो, योपटक भारतलाई जित्ने आशा छ।’ मंसिरमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) अघि उनी आउँदो कात्तिकमा चीनमा आयोजना हुन लागेको आर्मी ओलम्पिकमा सहभागिता जनाउन चीन जानेछन्। उनले त्यहाँ लाइट फ्लाईमा प्रतिस्पर्धा गर्नेछन्।

आफ्नो देशको रेफ्री नहुँदा जिते पनि हराउँछन्

अन्तर्राष्ट्रिय खेलहरूमा जहिले पनि एक अंकले हार्ने गरेको बताउँदै उनले प्रतिस्पर्धात्मक खेलमा आफ्नो देशको रेफ्री नुहँदा जितेर पनि हार्नुपरेको अनुभव सुनाए। ‘प्रतिस्पर्धात्मक खेलमा आफूले हार व्यहोरेमा आफ्नो देशको रेफ्री नहुँदा आफ्नो कमजोरीबारे रेफ्रीसँग बुझ्ने अवसर मिल्दैन।’ उनले भने, ‘जबसम्म नेपालबाट

अन्तर्राष्ट्रिय लेबलमा रेफ्री, जजहरू हुँदैन, तबसम्म प्रतिस्पर्धात्मक खेलमा जित्न कठिन रहेको उनको तर्क छ। ‘कि त ढाल्न सक्नु पर्‍यो, होइन भने प्रतिस्पर्धात्मक खेलमा पक्षपातको सम्भावना पनि रहन्छ।’

खानपान, तयारी आदिका हिसाबले अन्य देशका खेलाडीसँग नेपाली खेलाडीको कुनै पनि स्तर नमिल्ने उनी बताउँछन्। ‘अन्य देशको जस्तै सबै सेवासुविधा हुने हो भने, नेपाली खेलाडी पनि कुनै देशको खेलाडीभन्दा कम हुने थिएनन्’ उनले भने, ‘रेगुलर ट्रेनिङ हुँदैन, डाइट छैन। कसरी हुन्छ? त्यस्तो अवस्थाबाट पनि यतिसम्म त पुगेका छौँ।’ लगानी अनुसारको फल मिल्ने उनको तर्क छ।

अहिले नेपालमा विभागीय टिमहरूले नै खेल क्षेत्रको इज्जत धानिरहेको उनको दाबी छ। राष्ट्रिय वा अन्तर्राष्ट्रिय सहभागिताको लागि विभागीय टिमहरूबाटै खेलाडी उत्पादन भइरहेको उनी बताउँछन्। राष्ट्रिय टिममाभन्दा त्रिभुवन आर्मी क्लबमा साँझ बिहान राम्रो ट्रेनिङ हुने गरेकै कारण विभागीय टिमहरूले इज्जत धानिरहेको उनको भनाइ छ। 

जन्म र बाल्‍यकाल

२०४२ मा बुबा मानबहादुर र आमा नारुदेवीबाट जन्मिएका तेज बुबाआमाप्रति कृतज्ञ छन्। उनले भने, ‘बुबाआमाले बेलैमा राम्रोसँग खुवाइदिनुभएको रहेछ, सोही कारण ज्यान बलियो भएको हो। म बुबाआमाप्रति धेरै खुसी छु।’ पाँच भाइमध्येका उनी कान्छा हुन्। हाल उनी नेपाली सेनाको ‘जमदार’ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.