चीनमा बनेको योजना नेपाल आएपछि तुहियो

|

काठमाडौं : शनिबार राति ११ बजे दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट अस्वभाविक रूपमा रकमको कारोबार भयो। बैंकले एक पटकमा २० हजार भन्दा धेरै रकम निकाल्न नमिल्ने निति बनाएको थियो। तर त्यहाँ त्यस विपरीत गतिविधि भएपछि बैंकले प्रहरीलाई जानकारी दियो।

बैंकको सूचना पाएपछि तत्कालै महानगरीय प्रहरी परिसरको टोली सक्रिय भयो। उक्त बुथबाट पैसा निकालिरहेको अवस्थामा सबैभन्दा पहिले चिनियाँ नागरिक झु लियाङयाङलाई डिएसपी होबिन्द्र बोगटीसहितको टोलीले पक्राउ गर्‍यो।

राहदानी नम्बर ईसी १९३७५५८ भएका उनी पक्राउ परेपछि प्रहरीले उनको साथबाट २० थान नक्कली भिषा कार्ड फेला पार्यो।  त्यसपछि उनले आफु बस्‍ने होटलको साँचो देखाए। प्रहरी टोली तत्कालै हात्तीसारस्थित माया मनोहर बुटिकको कोठा नम्बर २०१ , ६०२ र ६०४ मा खानतलासी गर्न पुग्यो।

भाग्दा भाग्दै समातिए

प्रहरी पुग्नेबित्तिकै ती चिनियाँका अन्य साथीहरु भाग्न तम्तयार भइसकेका थिए। होटलको लिफ्ट प्रयोग गरी भाग्दै गरेको अवस्थामा अन्य चार चिनियाँ नागरिक पनि पक्राउ परे। पक्राउ पर्नेहरुमा चिनियाँ ह्याकर लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन छन्।

पाँच चिनियाँ ह्याकरको उक्त गिरोहका चार सदस्य होटलबाटै पक्राउ परे। उनीहरूलाई होटलबाट हिरासतमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा दरबारमार्ग, कमल पोखरी र ठमेल क्षेत्रका तीनवटा एटिएम बुथबाट चिनियाँ ह्याकरले रकम निकाल्न भ्याइसकेका थिए।

उनीहरूको साथबाट एक करोड २६ लाख २९ हजार४५ नेपाली रूपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ११ चिनियाँ नगद, २ सय ५० युरो, क्याम्बोडियन ५ हजार र ८० हङकङ डलर प्रहरीले बरामद गरेको छ।

चीनमै बनेको थियो योजना

बितेको २४ घण्टामा चिनियाँ ह्याकरहरूले नेपालका विभिन्‍न बैंकबाट रकम निकालेको घटनाले तरङ्गित बन्यो। नेपाल प्रहरी, नेपाल बैंकर्स संघ, नेपाल राष्ट्र बैंकले यो घटनालाई विशेषा अनुसन्धान गरिरहेका छन्। चोरीको योजनासहित चिनियाँ नागरिकको छोटो नेपाल यात्रा कसरी सम्भव भयो त? यसका लागि दुई दिन अघि फर्किनुपर्छ।

भदौ १३ गते चीनबाट हवाई मार्ग हुँदै नेपाल छिरेका  उनीहरूले बैंक ह्याक गर्ने योजना चीनमै बनाएका थिए। उनीहरु नेपालबाट रकम चोरेर सोमबारै चीन फर्किने योजनामा थिए। तर सबैजना सँगै फर्किने योजना थिए थिएनन्? यो अनुसन्धानबाटै खुल्ने सुवेदीले जानकारी दिए।

१३२ नक्कली भिजा कार्ड

उनीहरूले यो चोरीका लागि १३२ वटा नक्कली भिजा कार्ड प्रयोग गरेको खुलेको छ। १६ वटा व्यक्तिगत भिजा कार्ड प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। चीनबाट आएर यति छोटो समयमै नेपाली बैंकिङ क्षेत्रलाई तरंगित बनाउने गरी ह्याकिङको योजना बनाउन त्यति सजिलो छैन। सुवेदीका अनुसार यस गिरोहमा नेपालीहरू पनि संग्लनता छ। उनले लामो समय नेपालमै बस्ने चिनियाँ नागरिककै संग्लनताको अर्को पाटोबारेमा अनुसन्धान थालिएको बताए।

सिधै बैंकमा आक्रमण

ह्याकरहरुले व्यक्तिको भन्दा सिधै बैंककै खाताको प्रणालीलाई आक्रमण गरेर रकम निकालेका थिए। प्रहरीले रकम निकाल्न प्रयोग गरिएका डिभाइस पनि बरामद गरेको छ। 'एक पटकमा २०/२० हजार रुपैयाँ मात्रै निकालेको देखिँदैन। त्यो भन्दा धेरै रकम निकालेको जानकारी हामीलाई आएको छ,’ सुवेदीले सिसिटिभी फुटेज पनि हेरिरहेको जानकारी दिँदै भने।

‘हामीले विभिन्‍न कोणबाट अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘थप अनुसन्धानका लागि अन्य प्रविधि पनि प्रयोग गरिरहेका छौँ। केही प्रविधि प्रयोग गरेर बढी रकम निकालेको देखिन्छ।’

नेपाली बैंकहरू असुरक्षित छन्?

बैंकबाट अनिधिकृत रुपमा रकम निकालिएको घटना यो पहिलो होइन। यस अघि पनि विभिन्‍न समयमा नेपालका विभिन्‍न बैंकबाट पैसा निकालिएको छ। एनआइसी एसिया बैंकमा यसअघि यस्तै प्रकारको आक्रमण भएको थियो। त्यसबेला पनि ह्याकरहरु बैंकको सिस्टममै घुसेका थिए। 

पटक पटक भइरहेको ह्याकरहरुको आक्रमणलले नेपालका बैंकहरूको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष तथा नेपाल बगलादेश बैंकको सिइओ ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले अहिलेसम्म ह्याकरले  एक करोड ६८ लाख रूपैयाँ निकालेको प्रारम्भिक तथ्यांकराष्ट्र बैंकलेले देखाएको बताए।

अझै पनि तथ्यांक आउने क्रममा छ। ति रकम मध्ये प्रहरीले १ करोड २६ लाख नेपाली रपैयाँ बरामद गरिसकेको छ। अन्य नगद भने खोजी कार्य जारी रहेको छ। अध्यक्ष ढुङ्गानाले यदि अन्य पैसा विदेश पुगेको खण्डमा पनि स्वदेश फिर्ता गर्ने र यदि फिर्ता नभए बैंक स्वंयले व्यहोर्ने बताए।

बैंकहरूबाट अनाधिकृत रूपमा रकम निकाल्ने विश्वमा नेपाल मात्र नभएको ढुङ्गानाले बैंकहरू बचाऊ गरे। 'प्रविधिको विकाससँगै यसले निम्त्याएको चुनौतिबारे बैंक र नेपाल राष्ट्र बैंक गम्भ‍ीर भइरहेको छ।' उनले भने, 'दोषीलाई कारवाही मात्र होइन, आगामी दिनमा बैंकलाई कसरी सुरक्षित बनाउने भन्‍नेतर्फ सचेत बनिसकेका छौं।' 

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालि विभागमा कार्यरत बोमबहादुर मिश्रले  ह्याकरहरूले निकालेको पैसा व्यक्तिको नभई बैंकको रहेको बताए। 'कुनै पनि व्यक्तिको पैसा डेबिट भएको छैन। बैंकलाई विश्वास गरेर निक्षेप जम्मा गर्ने जनतालाई कुनै असर हुदैँन।'

स्विफ्अटको सिस्ट्‍टम आक्रमण

प्रहरीका अनुसार स्विफ्अटको सिस्ट्‍टममा रहेको सफ्टवेयरलाई भाइरस प्रयोग गरि  सिधा भिजा कार्डबाट स्वीकृति लिएर पैसा निकालेको देखिएको छ। नेपालमा हाल चारवटा स्विचहरु छन्। ती मध्ये कुनलाई आक्रमण गरियो भन्‍ने अनुसन्धान भइरहेको छ। 

सुरक्षा चुनौतीबारे बैंकहरू गम्भीर रहेको र यो प्रकारको चुनौतीलाई समाधान गर्न बैंकर्स संघले काम थालिसकेको ढुङ्गानाले बताए। के नेपालमा नै एटिएम कार्ड निर्माण गर्ने चुनौती बढेको हो भन्‍ने प्रश्नमा ढुङ्गानाले यो एटिएम कार्ड प्रिन्टरबाट आएको समस्या नभएको बताए।

अहिले बैंकको डाटा ह्याक भएर ह्याकरले मालवेयर एट्याक गरेर रकम निकालिएको हो। यो स्विचमा समस्या हो। यो सबै रकम नेपालबाट निकालिएको हो या होइन? अर्को खोजीको विषय बनेको छ। नेपालको कार्डले नेपालको अलवा भारत र भुटानमा पनि काम गर्छ। ह्याकरहरूले बैंकबाट एकै पटक धेरै रकम निकाल्न सक्दैनन्। उनी भन्छन्, 'हरेक बैंकमा निश्चित रकम राखिएको हुन्छ।'

चिनियाँ भाषा बुझ्न गार्हो

नेपालमा चिनियाँको सक्रियता बढ्दो छ। चिनियाँका लागि चाहे अध्ययन,चाहे पर्यटन वा अन्य विषय। यसबाट नेपालले नै लाभ त लिइरहेको छ। तर पछिल्लो समय अपराधमा पनि चिनियाँ नागरिकले नेपालको भुमि प्रयोग गर्दै आएका छन्। 'यी क्रियाकलाप रोक्न पनि जरूरी छ। अब चिनियाँ भाषाको हामीले अध्ययन गरेर अघि बढ्नुपर्ने देखिएको छ', सुवेदीले भने। 

पत्रकार सम्मेलनमा सुवेदीले ह्याकर गिरोहमाथि  दोभाषे प्रयोग गरेर सोधपुछ गरेको समयमा उनीहरु निराश नदेखिएको बताए। उनी भन्छन्, 'एकजना गम्भीर देखिए। अरु चार जना त हाँसिखुसी नै छन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.