राजनीति

मुख थुनेर कान नसुन्‍ने नेकपा
SHARES

'दुई अध्यक्ष नै अनुशासनमा छैनन्'

भदौ १५, २०७६

    काठमाडौंः पार्टीलाई चुस्त राख्‍न उसका विभिन्न निकाय तन्दुरुस्त हुनुपर्छ। अझ कम्युनिष्ट पार्टीमा छरितो कमिटीलाई पार्टी संगठनको बलियो आधार मानिन्छ। क्रान्ति र आन्दोलनका बेला पार्टी कमिटी साना र चुस्त बनाएको कम्युनिष्ट पार्टीको इतिहास छ। तर, जब कम्युनिष्टहरू खुला राजनीति र चुनावी प्रतिस्पर्धामा आउँछन्, उनीहरूका पार्टी कमिटी ठूला र भद्दा हुन पुग्छन्। अनि नेताहरू पनि ‘बेलगाम’ हुन्छन्।

    यसको पुष्टि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को २०७६ भदौ ९ को सचिवालय बैठकको निर्णयले नै गर्छ। सचिवालय बैठकको निर्णयको दशौँ बुँदामा ‘अनुशासनको पालना’बारे उल्लेख छ। ‘बैठकले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्थाबमोजिम प्रस्तुत हुन र अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न निर्देशित गरेको छ।

    पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ। पार्टीको नीति वा नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारबाहीको प्रक्रिया अघि बढाइने पनि निर्णय गरेको छ।’ पार्टी महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    यस्तै, २०७६ भदौ ५ मा ललितपुरमा भएको प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्रको अनुशासन विस्तारै खस्कँदै गएको बताएका थिए। ‘हिजो हामी निकै अनुशासित थियौँ, आत्म अनुशासनबाट मात्र हामी अहिलेको अवस्थामा आइपुगेका हौँ।

    आज अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो बोल्ने, सामूहिक हितलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको छ। यसलाई परिवर्तन गर्नुपर्छ। विगतमा सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी हुन्थ्यो। आजकल त्यो उल्टिएको छ। व्यक्तिगत निर्णयको जिम्मेवारी सबैले लिनुपर्ने। यो निकै उल्टो भएको छ। यो प्रवृत्तिलाई सच्याउने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ।’ प्रचण्डले भनेका थिए।

    चिढ्याउने कि फकाउने?
    पार्टी एकताको १५ महिनासम्म बेलगाम अभिव्यक्ति दिएका नेता तथा कार्यकर्तालाई अनुशासनको पालना गराउने कसरतस्वरूप नेकपाले अनुशासनको निर्देशन जारी गर्‍यो। पार्टीले जारी गरेको सर्कुलर र अध्क्षय प्रचण्डको अभिव्यक्तिले पार्टीमा अनुशासनको कमी छ भन्ने प्रष्ट छ। यस्तै, पछिल्लो पटक वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयका कतिपय निर्णयहरूप्रति असहमति जनाउँदै २०७६ भदौ ३ मा दर्ता गराएको ‘नोट अफ डिसेन्ट’ले नेकपामा मन मिल्न नसकेको देखाउँछ। 

    असन्तुष्टिले वरीयता हेरफेर

    योसँगै प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच बैठकमै भनाभन भएको खबर, वरिष्ठ नेता झलनाथ खनाल र नेपालको वरीयता हेरफेर पनि असन्तुष्टिका उदाहरण हुन्। सचिवालय सदस्यहरूबीच नै असहमति छताछुल्ल भएका बखत कार्यकताका असन्तुष्टि नेतृत्वका लागि गौण छन्। कार्यकर्तालाई असन्तुष्टि राख्‍ने निकाय नहुनु र आलोचना गर्न बन्देज लगाइँदा पार्टी कसरी लोकतान्त्रिक बन्ला? नेकपाको अनुशासन सर्कुलरले कतिपय नेता तथा कार्यकर्ता नै चिढिएको छ। 

    राजनीतिक विश्लेषक खगेन्द्र प्रसाईंका अनुसार अनुशासन दुई किसिमका हुन्छन्। एउटा लोकतान्त्रिक अनुशासन र अर्को अधिनायकवादी/तानाशाही अनुशासन। ‘नेतृत्वको आलोचना स्वस्थ्य ढंगले गर्न पाइँदैन, वैचारिक हिसावले गर्न पाइँदैन भने त्यो तानाशाही अनुशासन हो।’, प्रसाईं भन्छन्, ‘नीति वा नेतृत्वका विरुद्ध लेख्ने, बोल्ने वा गतिविधि गर्नेलाई पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारबाहीको प्रक्रिया अघि बढाइने व्यवस्था पनि तानाशाही मनस्थितिकै उपज हो।’

    गुनासा फुकाउने ठाउँ चाहियो
    सबैलाई कार्यविभाजनमा समेट्ने क्रममा पार्टी कमिटी भद्दा बनाउँदा नेकपामा तल्लो तहसम्म गुटबन्दी मौलाउने जोखिम छ। अर्कोतर्फ पार्टीका कमिटीहरू तथा जनवर्गीय संगठन सक्रिय नहुँदा फुर्सदिला बनेका नेतृत्वको आलोचनामै सन्तुष्ट छन्। गुनासाका पोका फुकाउने निकाय नहुँदा सामाजिक सञ्जाल उनीहरूका माध्यम हुन्।

    २०७५ जेठ ३ मा पार्टी एकता भएकै दिनदेखि नै कहिले कार्यविभाजनका नाममा त कहिले वैचारिक नाममा अनुशासन तोड्ने काम हुँदै आएको छ। त्यसयता नेकपामा अनुशासनको स्तर कमजोर भएको पाइन्छ। नेकपामा यो अवस्था आउनुमा पार्टी अनुशासन आयोग गठनमा ढिलाइ पनि एक हो। 

    अनुशासनकै कमीका कारण एकतामा ढिलाइ भएको र बेलाबेला समस्या बल्झिने गरेको नेकपा नेताहरू स्वीकार छन्। पार्टी पंक्तिलाई लगाम लगाउने आयोगको गठनमा नै ढिला भइदिँदा एकता प्रक्रियामा पनि असर परेको उनीहरूको बुझाइ छ। तत्कालीन नेकपा एमालेका अनुशासन आयोगका अध्यक्ष एवं नेकपा नेता अमृतकुमार बोहोराका अनुसार कार्यकर्तालाई रोक लगाउनुपूर्व जनवादलाई भरपुर उपयोग गर्ने वातावरण बनाएका छौं छैनौं भनेर नेतृत्वले सोच्नुपर्छ। 

    ‘हामीले उनीहरूलाई कमिटी व्यवस्था गरेका छौं कि छैनौं? पहिला कमिटी बनाइदिनुपर्‍यो। कमिटीमा आलोचना माग गर्नुपर्‍यो। आलोचनालाई विरोधको रूपमा लिने र आलोचना गर्नेप्रति आग्रह राख्‍ने र जिम्मेवारीबाट निषेध गर्ने प्रवृत्ति बढ्नु ठिक कुरा होइन।’

    भागबण्डाको पर्खाइमा कार्यकर्ता
    करिब ९ करोड ६ लाख सदस्य संख्या रहेको चिनियाँ कम्युनिष्ट पार्टीको २०५ पूर्ण र १७१ वैकल्पिक गरी ३७६ सदस्यीय केन्द्रीय कमिटी छ। जबकि १० लाख संगठित सदस्य रहेको नेकपाले ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ। यसले के प्रस्‍ट हुन्छ भने तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सैद्धान्तिक भन्दा पनि भागबण्डाको आधारमा एकीकरण भएको देखाउँछ।

    भागबण्डामा नपर्नेहरूले नै असन्तुष्टि व्यक्त गर्ने गरेको नेतृत्वको बुझाइ छ। तर, पार्टी एकता घोषणा भएको १५ महीनासम्म कमिटीले पूर्णता नपाउँदा नेकपाका कार्यकर्ता तहमा देखिएको निराशाले असन्तुष्टिको आकार ग्रहण गरिसकेको छैन। यद्यपि सह–इन्चार्जको कार्यविभाजनसम्म आइपुग्दा ‘सिनियर’ र ‘जुनियर’का कारण केही असन्तुष्टि देखिन थालेका छन्। नेकपाका धेरै नेता तथा कार्यकर्ता एकता प्रक्रिया पूरा होस् भन्ने चाहना भएकाले नै ती असन्तुष्टिलाई अहिले नै सार्वजनिक गर्ने पक्षमा छैनन्।

    दुई पार्टी मिलाउँदा भएको अप्ठेरो बुझेर नै कार्यकर्ता अनुशासित भएको र नबोलिएको केन्द्रीय नेता बताउँछन्। उनीहरु सबै महाधिवेशनको पर्खाइमा छन्। नेकपा नेता विरोध खतिवडाका अनुसार आलोचना गर्न पाउँदा रमाइलो हुने र आलोचना गर्न नपाउँदा रोएर बस्ने हुँदैन। ‘घर चलाउने नियम भएजस्तै पार्टी चलाउने पनि विधि र विधान हुन्छ। यो आवश्यकताअनुसार खासखास ठाउँमा खासखास तरिकाबाट आलोचना र समर्थन दुवै हुन्छ।’ खतिवडा भन्छन्, ‘जयजयकार र धिक्कार समय, विषय र मुद्दा हेरेर हुन्छ।’

    अनुशासनको प्रेरणा नेतृत्वबाटै
    नेकपाको अन्तरिम विधान–२०७५ को धारा–१९ मा केन्द्रीय अनुशासन आयोगको परिकल्पना छ। राष्ट्रिय महाधिवेशनप्रति उत्तरदायी रहने यो आयोग पार्टी एकताको १५ महिना बित्दा पनि गठन भएको छैन। जसले नेकपामा अहिलेसम्म अनुशासनको विषय प्राथामिकतामा छैन भन्ने प्रष्ट छ। 

    राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार कार्यकर्तालाई लगाम लगाउने नेतृत्व नै पहिले सुध्रिनुपर्ने छ। ‘नेताहरू जथाभावी बोलिरहेका छन्। कसैले अनुशासनको पालना गरेको पाइँदैन। मूल नेता अनुशासनमा बसे पो बाँकीलाई अनुशासनमा बस्ने प्रेरणा मिल्छ। अध्यक्ष दुईजना नै अनुशासनमा छैनन्।’

केशव घिमिरे

घिमिरे थाहा सञ्‍चार नेटवर्कमा आबद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]