|

सल्यान :सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका विषयका धेरै ठाउँमा बहस हुँदै आइरहेको छ।

राज्यले धेरै लगानी गर्दा पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुन नसकी रहेको आरोप लागि रहेका समयमा जिल्लाको छत्रेश्वरी गाउँपालिका लेख पोखरामा रहेको कालिका प्राथमिक विद्यालय नमुना विद्यालय बनेको छ। शिक्षक-अभिभावकबीच आपसी समझदारीका बीच अघि बढ्न सक्ने हो भने सामुदायिक विद्यालय पनि अब्बल विद्यालय बन्न सक्छ भन्ने उदाहरण बनेको छ कालिका प्राथमिक विद्यालय।  

अभिभावक, शिक्षकको सक्रियताका कारण शैक्षिक रुपमा उल्लेख्य वृद्धि आउनुका साथै विद्यालयमा कम्प्युटर शिक्षादेखि संग्रहालयसम्मको व्यवस्थापन गरिएको छ। सैद्धान्तिक ज्ञानको माध्यमबाट भन्दा शैक्षिक सामग्रीको प्रयोगबाट सिकाउँदा विद्यार्थीमा निकै परिवर्तन आएको विद्यालयका प्रधानाध्यापक वालाराम वलीको भनाई छ। प्रविधिमैत्री र जीवनउपयोगी शिक्षालाई पहिलो प्राथमिकता दिएको उनले बताए।

‘विद्यालयलाई नमुना बनाउनका लागि हामीले गर्न सकिने सवै कुराहरू गरेका छौँ’, प्रधानाध्यापक वलीले भने, ‘अभिभावक र पूर्व विद्यार्थीको निरन्तरकाे सहयोगले मात्र यो सम्भव भएको हो।’ प्रअ वलीले शिक्षक वा अभिभावकको एकल प्रयासबाट मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नसकिने त्रिपक्षीय शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्यबाट मात्र सम्भव हुने बताए।

अभिभावकले नियमित अनुगमन तथा निरीक्षण गरेकै कारण विद्यालयलाई नमुना योग्य बनाउन सफल भएको उनको भनाई छ।

प्रयोगात्मक सिकाइले उपलब्धि बढ्यो

विद्यालयमा बालमैत्री बसाइँ व्यवस्थापन गरिएको छ। बालविकासदेखि ३ सम्मका विद्यार्थीलाई कार्पेट राखेर बालमैत्री बसाइँ व्यवस्थापन गरिएको छ भने कक्षा ४ र ५ का लागि यु र भी आकारमा अन्तक्रियात्मक तरिकाले पढाउन मिल्ने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।

विद्यालयले पढाइ सुधारका लागि विभिन्न पहल गरेपछि विद्यालयको सिकाइ उपलब्धि सुधार हुँदै गइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर वलीले बताए। ‘पहिले हाम्रो विद्यालय औसत विद्यालयको रूपमा थियो’, उनले भने, ‘अहिले हाम्रो सिकाइ उपलव्धि ६६ प्रतिशतभन्दा बढी छ। जबकी जिल्लाकै सिकाइ उपलव्धि अहिले ५५ प्रतिशतको हाराहारीमा छ।’

विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएपछि अन्य सामुदायिक विद्यालय र निजी विद्यालयबाट गरी १० जना विद्यार्थी थपिएको उनले बताए। विद्यालयले अभिभावकसँग सम्बन्ध विकासका लागि तीन महिनामा अभिभावक भेलाको साथै छुट्टै आमा अभिभावक भेला गरिरहेको अभिभावक संघका अध्यक्ष डम्बरबहादुर खत्रीले बताए।

तीनजना दरबन्दी रहेको विद्यालयमा एक जना बाल विकास शिक्षक र एक जना गाउँपालिकामार्फत करार शिक्षक गरी पाँच जना छन्। विद्यालयलाई हरित, शान्त र सुरक्षित रूपमा विकास गर्नका लागि आफूले सकारात्मक अनुशासनलाई जोड दिएको प्रअ वलीले बताए।

प्राथमिक तहमै कम्प्युटर शिक्षा

८८ जना विद्यार्थी रहेको विद्यालयमा सबै कक्षाका विद्यार्थीले हप्तामा एकदिन कम्प्युटरबारे सिक्न र चलाउन पाउँछन्। यसले उनीहरूको ज्ञान र सीपको विकासमा अझ मद्दत पुगेको विद्यालयका प्रधानाध्यापक वलीले बताए।

विद्यालयमा कम्प्युटरको व्यवस्थापनका लागि युवा क्लब, अभिभावक सामुदायिक वन समूह, पूर्व विद्यार्थी र गाउँपालिकाले सहयोग गरेका थिए। ‘हामीलाई प्रत्येक वर्ष उहाँहरूले सहयोग गर्नुहुन्छ’, प्रअ वलीले भने, ‘यो वर्ष मात्रै २ लाख बराबरको सहयोग गर्नुभएको छ।’ १२४ अभिभावक रहेको गाउँमा छोराछोरी सो विद्यालयमा नपढ्ने अभिभावकले समेत सहयोग गर्ने गरेका छन्।

‘विद्यालयमा शैक्षिक सामग्रीदेखि आवश्यक हुने सबै प्रकारका सामानहरू अभिभावकले सहयोग गर्ने गरेका छन्’ उनले भने, ‘बढीजसाे बाहिर रहेकाहरूले नगद सहयोग गर्ने गरेका छन्।’

करेसाबारीमै हुन्छ प्रयोगात्मक शिक्षण

विद्यालयले अभिभावकको सहयोगमा विद्यालयमा करेसाबारी बनाएको छ। करेसाबारीमा विभिन्न जातका मौसमी तथा बेमौसमी तरकारी रोपेर त्यस बारेमा विद्यार्थीलाई सिकाउने गरिएको छ। ‘हामीले कुनै पनि विषयलाई प्रयोगात्मक तरिकाबाट सिकाउँछौँ’, विद्यालयका व्यवस्थापन समिति अध्यक्ष वलीले भने, ‘किताबी ज्ञानका साथै जीवनोपयोगी सीपको विकासमा समेत ध्यान दिएका छौँ।’

करेसाबारीमा उत्पादित तरकारीले विद्यार्थीलाई दिवा खाजा व्यवस्थापनमा समेत सहज भएको छ। करेसाबारीमा अदुवा, काउली, टमाटर, बन्दा, साग, प्याज आदि उत्पादन हुने गरेको उनले बताए।

विद्यालयमै संग्रहालय

विद्यालयले पुराना लोप हुन लागेका ग्रामीण क्षेत्रमा पाइने सामग्रीलाई विद्यालयमा संग्रहालय बनाएर राखेको छ। ‘विद्यार्थीलाई हराइसकेका र हराउन लागेका सामग्रीको ज्ञान होस् भनेर विद्यालयमा संग्रहालयको व्यवस्था गरिएको व्यवस्थापन समितिका अध्यक्ष वलीले बताए। उनले भने, ‘स्थानीय पाठ्यक्रम अनुसारको कोर्स अघि बढाउन सजिलो भएको छ।’

उनले संग्रहालयमा सय बढी लोपोन्मुख सामग्री रहेको बताए। बढ्दो सहरीकरणसँगै पुराना सामग्री लोप हुँदै जान थालेपछि यस्तो रणनीति बनाएर विद्यार्थीलाई सिकाउन थालेको वलीले बताए।

विद्यालयको चर्चा हुन थालेपछि विद्यालयमा सरोकारवाला निकाय, शिक्षक तथा विद्यार्थीसमेत पुग्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.