|

काठमाडौं : ‘प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरण’ विषयक अन्तरक्रियात्मक बृहत् परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठानको देवकोटा सभाकक्षमा नेपाल प्रज्ञाप्रतिष्ठान र प्रगतिशील लेखक संघ नेपालको संयुक्त आयोजनामा भएको हो।

समारोहमा सांसद तथा जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिले नै नेतृत्व गर्ने हो तर त्यसलाई ठिक ढंगले नेतृत्व गर्ने भनेको चाहिँ संस्कृतिले रहेको बताए। नेपालको सन्दर्भमा चाहिँ नेपाली राजनीतिमा सामन्तवादको अवशेष वा जड अहिले पनि कायम रहेको छ। नेपाली जनताका आधारभूत समस्याको समाधान नभएको धारणा व्यक्त गरे।

प्रतिष्ठानका उपकूलपति डा.जगमान गुरुङले स्वागत गर्दै साहित्यले सामाज र संस्कृतिको चित्रण गर्नुपर्ने बताए। 'बालकृष्ण समको चिसो चुल्हो, डा.मोदनाथ प्रश्रितको मानव महाकाव्य जस्ता कृतिहरूले समाज रूपान्तरणको आग्रह गरेका छन्। गीत, कविताका माध्यमबाट विचारको सम्प्रेषण हुनु चेतना जगाउने कर्म हो। समाज रूपान्तरण निम्ति पुराण वाचनको परम्परागत शैलीमा पं.नारायणप्रसाद पोखरेलले परिवर्तन ल्याएका थिए', उनले भने।

हाम्रो समाजका विसंगतिमा परिवर्तन ल्याउन सामाजिक सांस्कृतिक रूपान्तरण गर्नु आजको आवश्यकता हो र साहित्यकारहरूले सिर्जनाका माध्यमबाट त्यस दिशामा केन्द्रित हुनुपर्ने उनको धारणा थियो।

छलफलपत्रमाथि समालोचक विन्दा मैनालीले सामान्य टिप्पणी गर्दै विषय अति सैद्धान्तिक रहेको, साहित्यका प्रायः सबै विधाको इतिहास खोतल्ने काम छलफलपत्रले गरेको भए पनि गहन विश्लेषण भने नरहेको, हाम्रा संस्कृतिका नराम्रा पक्ष छाडेर राम्रा पक्ष ग्रहण गरिनुपर्ने विचार व्यक्त गरिन्।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्यायले २०६६ सालपछिको प्रज्ञाप्रतिष्ठान पहिलेको प्रतिष्ठान होइन, अहिले प्रतिष्ठान रूपान्तरणका पक्षपातीहरूसँग सहकार्य गर्न तयार रहेको बताए। 'यहाँ अब विचारको निषेध हुँदैन। वेज्ञानिक एवम् भौतिकवादी दृष्टिले लेख्ने लेखकलाई हामी सहकार्यको आग्रह गर्दछौँ', उनले भने।

जनसांस्कृतिक महासंघका संयोजक खगेन्द्र राईले आज यो विषयको बहसको थालनी अत्यन्त सकारात्मक रहेको बताए। 'सांस्कृतिक रूपान्तरणको समस्या हाम्रो चिन्तनमा रहेको छ। विचार र चिन्तन कमजोर भयो भने पनि हाम्रो सिर्जनाले रूपान्तरण गर्न सक्दैन', उनले भने, 'अहिले समाजका फरक धार समात्कानेहरूलाई पनि भौतिकवादको दबाब पर्ने गरेको पाइन्छ। यो सकारात्मक पक्ष हो। जातपात र छुवाछु्तका नाममा विभाजित समाजलाई जोड्नु स्रष्टाहरूको अहिलेको प्रमुख दायित्व हो।'

नेकपा स्थायी समिति सदस्य एवम् कला संस्कृति विभाग प्रमुख मणि थापाले स्रष्टाले लेखनको उचाइ निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे। संसारको वैचारिक आन्दोलनभन्दा नेपालको वैचारिक आन्दोलन फरक छ। हाम्रो समस्या के हो र समाधान के हो भनेर हामीले नै विचार दिन सक्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.