|

काठमाडौं : भारतको दोश्रो पुरानो क्रिकेट मैदानका रुपमा चर्चित फिरोज शाह कोटला स्टेडियम अब नयाँ नामबाट चिनिने भएको छ। 

सन्् १८८३ मा निर्माण गरिएको कोटला मैदान भारतका पुर्व अर्थमन्त्री, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का पुर्वउपाध्यक्ष एवम् दिल्ली क्रिकेट संघ (डीडीसीए) का पुर्वअध्यक्ष अरुण जेट्लीको सम्झनामा अरुण जेट्ली स्टेडियमका रुपमा नामाकरण गर्न लागिएको हो।

यद्यपि मैदान भने फिरोज शाह कोटला नै रहनेछ। रंगशालाको आगामी १२ सेप्टेम्बरमा नाम परिर्वतन गरिने दिल्ली जिल्ला क्रिकेट संघले जानकारी दिएको छ। कोटला मैदान दिल्ली डेयरडेभिल्स (हालको दिल्ली क्यापिटल ) को होमग्राउन्ड पनि हो।

डीडीसीएले टविट गर्दै भनेको छ, ‘फिरोज शाह कोटला स्टेडियम अब पुर्व अध्यक्ष तथा देशका पुर्व अर्थमन्त्री अरुण जेट्लीको नाममा चिनिनेछ। मैदान फिरोज शाह कोटल नै रहनेछ।’ 

आगामी १२ सेप्टेम्बरमा समारोह आयोजना गरिनेछ। त्यही दिनमा स्टेडियमको एक क्षेत्रको नाम विराट कोहलीको नाममा राखिनेछ।

डीडीसीएले रंगशालाको तीनवटा क्षेत्रलाई भारतका पुर्व कप्तान विशनसिंह बेदी, पुर्व भारतीय अलराउन्डर मोहिन्दर अमरनाथ र वर्तमान कप्तान विराट कोहलीको नामबाट राखेको छ।

मैदानका रहेको घरेलु टिमको ड्रेसिङ रुमलाई रमन लम्बा र विपक्षको ड्रेसिङ रुमलाई प्रकाश भण्डारीको नाममा राखेको छ। भण्डारी दिल्लीबाट प्रतिनिधित्व गर्ने पहिलो टेस्ट क्रिकेटर हुन। 

पुर्व भारतीय व्याटसम्यान लाम्बाले सन् १९८६ देखि १९९८ सम्म क्रिकेटमा योगदान दिए। उनको निधन सन् १९९८ मा बंगलादेशमा क्लब म्याच खेल्दा बलले लागेर भएको थियो। 

रंगशाला भारत सरकारको शहरी विकास मन्त्रालयबाट लिजमा लिएको कारण डीडीसीएले आफैँले नाम परिर्वतन गर्न सक्दैन। केबल प्राविधिक रुपमा नामाकरण गरिएको हो। यसको अर्थ अब ठेगाना ‘अरुण जेट्ली स्टेडियम फिरोज शाह कोटला मैदान दिल्ली’ हुनेछ। डीडीसीएका अध्यक्ष रजत शर्माले भने, ‘अरुण जेट्लीको समर्थन र प्रोत्साहनले विराट कोहली, वीरेन्द्र सहवाग, गौतम गम्भीर, आशीष नेहरा, रिषभ पन्त लगायत अरु धेरैले भारतलाई गौरवान्वित तुल्याए।’

घोषणा समारोहमा गृह र खेलकुद मन्त्री

कोटला रंगशालालाई आधुनिक सुविधासहितको बनाउँदै दर्शक क्षमता बढाएर विश्वस्तरीय ड्रेसिङरुमसहितको कोठा निर्माण गर्ने श्रेय जेट्लीलाई जान्छ। 

उनको नाममा रंगशाला घोषणा समारोह जवाहरलाल नेहरु रंगशालामा हुनेछ। जसमा भारतीय गृहमन्त्री अमित शाह र खेलकुदमन्त्री किरण रिजिजु पनि सहभागी हुनेछन्। 

भारतीय टोलीका कप्तान विराट कोहली, वीरेन्द्र सहवाग, शिखर धवन, इशान्त शर्मा, भिभिएस लक्ष्मण र बीसीसीआई लगायतले दिग्गज क्रिकेटरहरुले पुर्व अर्थमन्त्री जेट्लीको निधनमा शोक मनाएका थिए। 

यी खेलाडी जेट्लीकालमा चम्किए

जेट्ली जब डीडीसीएका अध्यक्ष थिए दिल्ली र वरपरका क्षेत्रमा धेरै प्रतिभाशाली खेलाडीहरु अन्तराष्ट्रियस्तरमा चम्किए। 

जेट्लीकालमा वीरेन्द्र सहवाग, आशीष नेहरा, विराट कोहली, गौतम गम्भीर, इशान्त शर्मा, शिखर धवन, रजत भाटिया, अमिता शर्मा, अन्जु जैन, पुर्व कप्तान अन्जुम चोपडा लगायतका खेलाडीले भारतीय महिला तथा पुरुष राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्ने मौका पाएका थिए। उनीहरुले आफनो करियरमा उत्कृष्ट प्रर्दशन गरे। 

क्रिकेटमा जेट्लीको योगदान

अरुण जेट्लीले क्रिकेट क्षेत्रमा सन् १९९० को दशकबाट प्रवेश गरे। जति बेला उनी दिल्ली तथा जिल्ला क्रिकेट संघको सदस्य बने। सन् १९९९ मा संघियमन्त्री भए त्यसपछि उनी सन् २०१३ सम्म दिल्ली क्रिकेट संघको अध्यक्ष बने। 

त्यही वर्ष उनी भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का उपाध्यक्ष बने। छोटो समयमा नै जेट्लीले पदबाट राजिनामा दिनुपर्‍यो। इन्डियन प्रिमियर लिग (आईपीएल) मा स्पोट फिक्सिङ प्रकरणमा उनीमाथी सिबीआईले छानबिनसमेत गरेको थियो। 

जेट्लीको निधनमा शोक मनाउँदै वेस्टइन्डिजविरुद्धको तेश्रो टेस्टमा कोहली नेतृत्वको भारतीय टोलीले कालो आर्मव्यान्ड लगाएर खेलमा सहभागी भएको थियो।  जेट्ली भारतीय क्रिकेटका प्रशंसक थिए। र भारतीय क्रिकेट सम्वन्धी कुनै नितिगत निर्णय लिनु अघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अधिकारीहरु उनीसंग परामर्श गर्थे।

फिरोज शाह कोटलामा भारतका रेकर्ड

१. २८ डिसेम्बर १९५२ मा जन्मिएका जेट्लीको निधन २४ अगष्ट २०१९ मा भएको थियो। उनको निधनको ३ दिनपछि दिल्ली क्रिकेट संघले फिरोज शाह कोटलालाई अरुण जेट्ली रंगशाला भनेर नामाकरणको निर्णय गरेको थियो। सन् १९९९ देखि निधन अघिसम्म उनले सरकारमा विभिन्‍न मन्त्रालय सम्हालेका थिए। 

२. यो रंगशालाको इतिहास धेरै पुरानो हो। यो क्रिकेट रंगशाला सन् १८८३ मा स्थापना गरिएको थियो। कोटला मैदानमा सन् १९४८-४९ मा पहिलो टेस्ट खेलाइएको थियो। जुन खेल भारत र वेस्टइन्डिजबिच खेलाइएको थियो। 

३. यो मैदानमा भारतीय बलर अनिल कुम्बेले पाकिस्तानविरुद्ध टेस्ट क्रिकेटमा ऐतिहासिक १० विकेट लिएका थिए। उनी १० विकेट लिने इङ्ल्यान्डका जिम लेकरपछिको दोश्रो बलर हुन्।

४. सन् १९५२ मा हेमु अधिकारी र गुलाम अहमदले १० औ विकेटका लागी १०९ रनको साझेदारी गरेका थिए। जुन अन्तिम विकेटका लागी गरिएको सबैभन्दा लामो साझेदारी हो।  

५. सन् १९६५ मा एस बैकटरावनले न्युजिल्यान्डविरुद्ध आफनो डेव्यु सिरिजको दौरान १२ विकेट लिएका थिए। उनले पहिलो खेलमा ८ र दोश्रोमा ४ विकेट लिएका थिए।
६. १९६९-७० मा अष्ट्रेलिया विरुद्ध भारतले ७ विकेटको जित निकाल्दा बेदी र प्रसन्नाको स्पिनर जोडीले म्याचको दौरान १८ विकेट लिएका थिए। 

७. १९८३-८४ को दौरान यही मैदानमा सुनिल गावस्करले आफनो २९ औ टेस्टमा शतक प्रहार गर्दै अष्ट्रेलियाका सर डन ब्रेडमेनको नाममा रहेको टेस्ट क्रिकेटमा सवैभन्दा बढी शतक लगाउने किर्तिमान बराबरी गरेका थिए।

८. कोटला मैदानमा सन् २००५-०६ मा भारति व्याटसमेन सचिन तेन्दुलकरले आफनो ३५ औ टेस्ट शतक प्रहार गर्दै सुनिल गावस्करको नाममा रहेको ३४ औ टेस्ट शतकको रेकड तोडेका थिए।

९. सन् २०१६ अघिका २८ बर्षसम्म भएका सबै टेस्ट म्याच र १० बर्षे अवधीमा भएका एकदिवसीयमा फिरोज शाह कोटला मैदानमा भारत अपराजित रहेको थियो। अर्थात सन् १९८७ मा वेस्टइन्डिजसँग ५ विकेटले पराजित भए यताका २८ बर्षसम्म भारतले कोटला मैदानमा भएको टेस्टमा पराजय भोगेको थिएन्। 

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.