|

चितवन : नेपालका विभिन्‍न ७ वटा विमानस्थलका लागि अत्याधुनिक वारुणयन्त्र चितवन आइपुगेका छन्। भरतपुर विमानस्थलसहित ७ विभिन्‍न विमानस्थलका लागि ७ वटा आधुनिक वारुणयन्त्र चितवन आइपुगेको भरतपुर नागरिक उड्डयन कार्यालयले जनाएको छ । 

कार्यालयका उपप्रवन्धक एवम् भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकका अनुसार २ वटा ठूला क्षमताका र ५ वटा साना क्षमताका गरी ७ वटा आधुनिक वारुणयन्त्र भरतपुर आइपुगेका हुन् । अस्ट्रियाबाट ल्याइएका उक्त वारुणयन्त्र डेढ साताअघि भरतपुर विमानस्थलमा आइपुगेका हुन्।

कुन कुन विमानस्थललाई

भरतपुर विमानस्थल र धनगढी विमानस्थलका लागि ठुलो क्षमताको वारुणयन्त्र रहनेछन् । यस्तै पहाडी क्षेत्रका मुस्ताङको जोमसोम, मुगुको रारा, जुम्ला विमानस्थल, हुम्लाको सिमकोट र सङ्खुवासभाको तुम्लिङटार विमानस्थलका लागि सानो क्षमताका वारुणयन्त्र रहेका छन् । 

ठुलो क्षमताको प्रतिगोटा ३ करोड र सानो क्षमताका प्रतिगोटा १ करोड पर्ने उक्त वारुणयन्त्र नागरिक उड्डयन प्राधिकरण केन्द्रीय कार्यालयले खरिद गरी पठाएको हो । नेपाली ११ करोड रुपैयाँमा खरिद गरी अस्ट्रियाबाट ती वारुण यन्त्र नेपाल ल्याइएको विकले बताए । अन्य २ ठूला वारुणयन्त्र  यसअघि नै जनकपुर र चन्द्रगढीका लागि पठाइएको छ।

क्षमता ?

२ ठूला क्षमताको वारुणयन्त्र २५०० लिटर पानीको ट्याङ्की र ३ सय लिटरको फम ट्याङ्की छ । फम एक प्रकारको रसायन हो, यो पेट्रोलियम पदार्थमा भएको आगलागी लगायत ठूला आगो नियन्त्रणमा पानीको साटो प्रयोग गर्ने गरिन्छ । ठूला क्षमताको वारुणयन्त्रले पाइपमार्फत् ४५ मिटर टाढाको आगो निभाउन सक्छ। 

यस्तै साना क्षमताका ५ वटा वारुणयन्त्र प्रतिगोटा १ करोडमा खरिद गरी ल्याइएको हो । यसमा २ सय लिटरको पानीको ट्याङ्की र २० लिटरको फम ट्याङ्की रहेको छ । यसले २० मिटर टाढासम्मको आगो निभाउन सक्ने बताइएको छ । 

यी ७ वटै वारुणयन्त्र विमानस्थल वरपरको ४ किलोमिटर क्षेत्रमा भएको आगलागी नियन्त्रणमा प्रयोग गर्न सकिने सूचना अधिकारी विकले बताए । ठूला भौतिक संरचना, विमान दुर्घटना लगायत ठूला आगलागीका घटनामा प्रयोग गर्न सकिने बताइएको छ। आधुनिक प्रविधि जडित रहेकाले प्रभावकारी हुने विकले बताए । खबर पाएको ३ मिनेटमा घटनास्थलमा पुग्ने गरी यी वारुण यन्त्र तयारी अवस्थामा रहनेछन् । 

तालिमपछि प्रयोग

यी ७ वटै वारुणयन्त्र अहिले भरतपुर विमानस्थलमा छन् । विकका अनुसार सेप्टेम्बरमा अस्ट्रियाबाट विज्ञ टोली नेपाल आएर प्रयोग गर्ने तरिका, चुनौती लगायत विषयमा सम्बन्धित विमानस्थलका कर्मचारीलाई तालिम दिनेछन् । त्यसपछि सम्बन्धित विमानस्थलले प्रयोग गर्नेछन् । तालिमका लागि सम्बन्धित विमानस्थलका अधिकारीहरू भरतपुर आउनेछन् । 

सन् २०१५ सालबाट सञ्चालनमा आएको चितवनको भरतपुर विमानस्थलसहित सातै विमानस्थलमा पहिलो पटक आधुनिक वारुणयन्त्र ल्याइएको हो । अब विमानस्थल क्षेत्रमा ठूला आगलागीका घट्नाबाट हुने क्षति न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.