|

डडेल्धुरा : डडेल्धुराका महिलाहरुले सोमबार हरितालिका तीज पर्व भव्य रुपमा मनाएका छन्। यहाँका महिलाहरुले आपसमा नाचगान गरी तीज मनाएका हुन्।

जिल्ला सदरमुकामा सचेतना महिला बचत तथा टोल विकास संस्था अमरगढी नगरपालिका–५ बागबजारले तीजका अवसरमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। चेतना महिला बचत तथा टोल विकास संस्थाको आयोजना तथा रेडियो युनिटीको सहकार्यमा उक्त तीज विशेष कार्यक्रम सम्पन्न भएको संस्थाकी अध्यक्ष पार्वती पनेरुले बताइन्। तीज विषेश कार्यक्रममा युवती, महिलादेखि हजुरआमासम्म तीजका गीतमा छमछम्ती नाचेका थिए। 

तीज विषेश कार्यक्रममा नगरप्रमुख विशेश्वरप्रसाद ओझ, वडा नं. ५ का वडाअध्यक्ष खेमराज पाठक, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टललगायतको सहभागिता रहेको थियो। 

तीजमा पानीसमेत नखाई व्रत बसेर भगवान शिवको पूजा गरिन्छ। शिवको पूजा गर्नेहरुको डडेल्धुरासहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको थियो।

तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ। तीजसम्बन्धी पौरणिक कथामा पनि हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि गरेको व्रत सफल भएको प्रसंग छ। हिमालय पर्वतले विष्णुलाई कन्यादान दिन लागेको थाहा पाएर उनका साथीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई ‘हरितालिका’ व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख छ।

अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बसेर शिवको पूजा गर्ने परम्परा छ ।भाद्र शुक्ल द्वितीयाका दिन गएराति दर खाई सोमबार (आज) तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.