विमानस्थलको पक्षमा उभिए स्थानीय सरकार र सरोकार समिति

|

बारा : देशकै एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा साँघुरो पूर्वाधारका कारण ठूला विमान अवतरणमा समस्या हुने गरेको छ। धावन मार्ग सानो हुँदा एयर ट्राफिक झेल्दै आएका अन्तर्राष्ट्रिय ठूला विमानलाई नेपालसँग सीधा हवाई सञ्जालमा जोडिन समस्या भइरहेको छ।

२०७१ फागुन २२ गते त्रिभुवन विमानस्थलमा टर्किस एयरको विमान दुर्घटना हुँदा विमानको पखेटाले धावन मार्गलाई सामान्यरुपमा छेकेपछि चार दिनसम्म संसारभरका यात्रुले दुःख पाए।

विमानस्थलमा मौसमका कारण धेरै पटक अवतरणका लागि आएका विमानले आकाशमा लामो समय बिताउनु परेको छ। यो समस्याका कारण भारतमा लगेर विमान अवतरण गर्नुपरेको घटना सार्वजनिक भइरहेका छन्।

जब–जब काठमडौं विमानस्थलमा ठुलो समस्या आउँछ, तब सबैले निजगढ विमानस्थलको चर्चा गछन्। तर यस्तो चर्चा गरेको २५ वर्ष पुगेको छ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका र करैयामाई गाँउपालिकाको भूगोलमा प्राम्भिक काम थालिसकिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आगामी मंसिरमा शिलान्यास गर्ने उद्घोष पर्यटन मन्त्री योगेश भट्टराईले गरिसकेका छन्।

विमानस्थल कसले र कुन मोडलमा बनाउने टुङ्गो नलागेको अवस्थमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले मन्त्रालयको पहिलो प्राथमिकतामा राखेर अबको तीन महिनाभित्र शिलान्यास गर्ने योजना अघि सारेका छन्।

मन्त्रीको योजना सुनेर उत्साहित स्थानीयवासी तीन दिनअघि प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायको अभिव्यक्तिपछि तरङ्गित बनेका छन्।

त्यसपछि केके भयो    

मन्त्रीको अभिव्यक्तिले नयाँ विवाद खडा गरेको छ। विमानस्थल बनाउने क्षेत्रका रुख काट्न नदिने र विमानस्थल अन्यत्र सार्नुपर्ने अभिव्यक्तिको सर्वत्र विरोध भएको छ। निजगढका युवाहरुले मन्त्रीको पुत्ला नै जलाएका छन्।

स्थानीय सरकारको आपत्ति

बाराका तीन वटा स्थानीय तहले विज्ञप्ती नै सार्वजनिक गर्दै मन्त्रीको अभिव्यक्तिप्रती आपत्ति जनाएका छन्। जीतपुर-सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हवी नगरपालिकाले विज्ञप्ति जारी गर्दै शिलान्यास हुने समयमा प्रदेशका मन्त्रीबाट आधिकारिक रुपमै आएको यस्तो अभिव्यक्तिले आमनागरिकमा निराशा पैदा गरेको बताएका छन्।

'विमानस्थल निर्माणका लागि धेरै पूर्वतयारी भइसकेको र शिलान्यास हुने समयमा प्रतिकूल अभिब्यक्तिले हामीलाई निराशा बनाएको छ’, जीतपुर-सिमरा उपमहानगरका मेयर डा. कृष्ण पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'आयोजनाको काम बिनाविलम्व अघि बढाउने भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछु।’

त्यस्तै निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले विमानस्थल क्षेत्रभित्र पर्ने टाँगियाबस्तीका एक हजार चार सय ७६ घरधुरीलाई उचित ब्यवस्थापन गर्दै कम रुख कटान गरेर ग्रीन एयरपोर्ट बनाएर वन तथा वातावरण जोगाउन सकिने बताए। उनले विमानस्थल बारामा बनाउन पर्छ भन्ने धारणा राखेका छन्।

उनले विकासको काममा विरोधाभाषपूर्ण आवाज सुनिन थालेको भन्दै यसको विरोधमा उत्रिन नागरिकलाई आह्वान समेत गरेका छन्।

त्यस्तै कोल्हवी नगरपालिकाले पनि विज्ञप्ति निकाल्दै मन्त्रीको भनाईप्रति आपत्ति जनाएको छ। जग्गा अधिग्रहण गरी मुआब्जा वितरण र जग्गा तारबार समेत भइसकेको अवस्थामा मुख्य जिम्मेवार मध्येको प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातारण मन्त्रीबाट आएको गैरजिम्मेवार अभिब्यक्तिप्रति खेद प्रकट गरिएको मेयर भरत भण्डारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाइएको छ।

सरोकार समितिको ध्याकर्षण

विमानस्थल क्षेत्रका बस्तीको व्यवस्थापनका गरेर छिटो विमानस्थल बनाउनु पर्ने भन्दै विभिन्न दबाबमुलक कार्यक्रम गर्दै आएको त्यसका सरोकारवाला समितिले मन्त्रीको अभिव्यक्तिप्रति ध्याकर्षण भएको जनाएको छ।

मन्त्री रायले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने अन्यथा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

फास्ट ट्याक एयरपोर्ट निर्माण मुल व्यवस्थापन तथा सरोकार समितिका संयोजक रविराज दङ्गालले समन्वयकारी भूमिका निभाउनु पर्ने प्रदेश सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत हुनु आपत्तिजनक भएको बताएका छन्।

उनले विमानस्थलन निर्माण हुन नदिन हुँदै आएका सबैखाले चलखेललाई निष्तेज पार्दै नेपाली जनताको भाग्य र भविष्यसँग जोडिएको आयोजनाको सफलताको लागि सबै एकजुट बनेर सशक्त जनदबाब अभियान संचालन गर्नुपर्ने बताए।

त्यसैगरी कोल्हवी सरोकार समितिका संयोजक ढुण्डीराज उप्रेतीले परियोजना नेपालको लागि मात्रै नभएर प्रदेश नम्बर २ को निम्ति त झन् सुनको अण्डा पार्ने कुख्रा जस्तै भएको सुनाए। उनले प्रदेश सरकारले विमानस्थल बनाउन सघाउनुपर्ने धारणा राखे।

निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले काठमाडौं-निजगढ फास्ट ट्रयाक, मुख्य नाकासँगै वीरगन्ज र काठमाडौंसमेत नजिकको दुरीमा पर्ने भएकाले निजगढमा विमानस्थल बन्नुको विकल्प नभएको बताए। सबै दृष्टिले उपयुक्त हुँदाहुँदै पनि विरोध हुनु दुःखको कुरा भएको उनले बताए।

त्यस्तै टाँगियाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटाले टांगियाबस्तीको व्यवस्थापन गरेर विमानस्थल बनाउने ढिलो नगर्न आग्रह गरेका छन्। विमानस्थल बनाउने क्षेत्र भएकाले त्यहाँको बस्तीलाई आधारभूत पूर्वाधारबाट बञ्चित गरिएको भन्दै छिटो निकाश दिन सरकारसँग आग्रह गरेका छन्। उनले प्रदेश सरकारलाई विमानस्थ बनाउन अवरोध गर्ने नभई समन्वय गर्न सुझाव दिए।

अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प छैन

पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले बाराको टांगियाबस्तीमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन्।

 नेकपाका नेता समेत रहेका पौडेलले देशको समृद्धि देख्न नचाहाने तत्वले विभिन्न बहाना बनाएर आयोजनाको विरोध गर्दै आएको बताए।

विरोधी तत्वले वन र वातावरण विनाशको हल्ला चलाएर आयोजनालाई तुहाउन खोजेका छन्,’ पूर्वमन्त्री पौडेलले भने,‘देशभित्र र बाहिर पनि नेपालको विकास प्रकृया अवरुद्ध पार्न चाहनेहरुले छन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.