जङफुट प्रतिबन्ध गर्दै स्थानीय उत्पादनमा जोड

|
फाइल फोटो

सोलुखुम्बु : बाह्य तरकारीलाई प्रतिबन्द गर्दै आन्तरिक उत्पादनमा जोड दिने महाकुलुङ गाउँपालिकाको योजनाप्रति स्थानीय सकारात्मक देखिएका छन्। गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिने योजना बनाएसँगै यहाँका स्थानीयले समेत अनुशरण गरेका हुन्।

सोही गाउँपालिका-४ र ५ का स्थानीयले विद्यालय क्षेत्रभित्र जङफुटलाई प्रतिबन्ध गर्ने स्वस्फुर्त निर्णय गरेको शिक्षक तारा कुलुङले जानकारी दिइन्। शिक्षक कुलुङका अनुसार सोमबार आयोजित तीज विशेष कार्यक्रमको अवसरमा भेला भएका सरोकारवालाले जङफुट प्रयोग नगर्ने निर्णय गरेका हुन्।

“विद्यालय क्षेत्र भित्र तयारी खानेकुरामा प्रतिबन्ध लगाईने भएको छ” कुकलुङले भनिन्, “स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अर्गानिक खानेकुरालाई प्रवर्द्धन गर्न हामी एक मत भएका हौँ।”

वडाका महिला जनप्रतिनिधि, आमा समूह र महिला स्वाथ्य स्वयमसेवीकाहरूको उपस्थिति रहेको भेलाले गरेको निर्णय महत्त्वपूर्ण भएको स्थानीयको दावी छ। बजारमा पाइने तयारी खानेकुराले स्वास्थ्यमा असर पार्ने बुझेपछि स्थानीय उत्पादनलाई जोड दिइने स्थानीय बताउँछन्।

विभिन्न परियोजनाले अर्गानिक खानेकुरा सम्बन्धि चेतनामुलक कार्यक्रम सञ्चालनको प्रभावले पनि विद्यालयमा जङफुट प्रयोग नगर्ने निर्णयमा पुग्न सहज भएको महिला स्वास्थ्य स्वयमसेवीका रमिता कुलुङले बताइन्। बाबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भन्दै तत्कालैदेखि वडा नम्बर ४ मा रहेको गुदेल माध्यामिक विद्यालयमा तयारी खानेकुरामाथि प्रतिबन्ध लगाइएको कुलुङको भनाई छ। उनको अनुसार यो अभियानलाई सबैतिर लागू गरिने छ।

कृषिमा आत्मनिर्भर बन्ने गाउँपालिकाको योजना

जङफुटको विकल्पसहित बार अनुसारको विद्यार्थीलाई खाजासमेत निर्धारण गरिएको छ। सोमबार गरिएको निर्णयअनुसार विद्यार्थीका लागि आइतबार भुटेको भात, सोमबार आलु, मंगलबार भुटेको मकै, बुधबार गहुँको रोटी, बिहीबार कोदोको हलुवा र शुक्रबार आलु पिडालुलगायत कन्दमुल खाजाको रूपमा खुवाउनु पर्ने छ।

महाकुलुङ गाउँपालिका क्षेत्र कृषिमा आत्मनिर्भर बन्नको लागि संभाव्यता अध्ययन भइरहेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए। किराँतीले भने, “कुन क्षेत्रमा कुन समयमा आत्मनिर्भर बन्न सक्छौँ सोहीअनुसार बाह्य आयतलाई हामी रोक्दै जान्छौँ।”

सोही गाउँपालिकाभित्र काम गर्ने गैरसरकारी संस्था जिफाउण्डेशनसँगको सहकार्यमा गाउँपालिकाले विभिन्न योजना निर्माण गरि समृद्ध गाउँपालिका निर्माणको अभियानलाई अगाडि बढाउँने योजना बनाएको बताइन्छ।

जिल्लाको निक्कै दुर्गम मानिले उक्त गाउँपालिकामा साविक तीन गाविस मिलाएर पाँच वटा वडा कायम गरिएको छ। मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रले समेत छोएको महाकुलुङ गाउँपालिका कृषिसँगै पर्यटनमा समेत उत्तिकै संभावना बोकेको छ। त्यस क्षेत्रमा विशेष गरि अलैँची, किवि, चिराइतोलगायतको खेती गर्ने सकिन्छ भने यसैलाई जोडेर पर्यटन प्रवर्द्धनको संभावना भएको पर्यटन व्यवसायी तिलक राम कुलुङले बताए।

“यस गाउँपालिका भित्र पाँच पोखरी, साल्पा पोखरी लगाएतको धार्मिक मान्यतासहितका तालतलैया र हिमालसमेत छन्” उनले भने, “गाउँपालिकाभित्रको हिमाल, ताल, जडीबुटी र कृषिलाई व्यवस्थित बनाउने हो भने अरू केही गर्नुपर्दैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.