|

जनकपुरधाम : विश्व प्रसिद्ध जानकी मन्दिरको सौन्दर्यीकरण काम मापदण्डविपरीत भइरहेको छ। मन्दिर परिसरमा गुणस्तरहीन मार्वल धमाधम लगाइँदैछ।

पानी निकासका लागि माटोमूनि जडान गरिएको ह्यूम पाइप पनि गुणस्तरहीन प्रयोग गरिएको स्थानीय युवा अभियन्ता बताएका छन्। मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जानकी मन्दिर सौन्दर्यीकरणको काम मापदण्डविपरीत भइरहेको भन्दै स्थानीय युवाले कामकाज ठप्प पारेका छन्।

ठेकेदारलाई पटकपटक मापदण्डअनुसार काम गर्न आग्रह गर्दा पनि बेवास्ता गरेपछि काम रोकेको युवा अभियन्ता सरोज मिश्रले बताए। उनका अनुसार मापदण्डअनुसारको काम भइरहेको छ/छैन विषयमा छानबिन हुनुपर्ने र मापदण्डलाई पालना नगरेको पाइए ठेकेदार कम्पनीलाई कारबाही हुनुपर्ने युवाको माग छ।

मापदण्ड पालना नभएपछि मंगलबार युवाले मुख्यमन्त्री कार्यालयका इन्जिनियर भगवान झा र ठेकेदार कम्पनीका प्रतिनिधि खुःशीलाल ठाकुरलाई मन्दिर बोलाएका थिए। युवाले लपरबाही भएको सबै ठाउँमा उनीहरूलाई लगेर देखाए। पछि ठेकेदार कम्पनीका प्रनिनिधि ठाकुरले केही त्रुटि भएको स्वीकारे। उनले त्रुटी सुधार गर्ने प्रतिबद्धता जनाए। ढलाई कार्यमा केहि त्रुटि भए पनि मार्बल मापदण्डअनुसारकै लगाउने काम भइरहेको दाबी गरे।

यता, इन्जिनियर झाले ठेकेदार कम्पनीको बचाउ गरेका छन्। इन्जिनियर झा पनि ठेकेदारकै भाषा बोले। उनले त्रुटि सच्याउन सकिने भन्दै काम अवरुद्ध नपार्न युवालाई आग्रह गरे। जसका कारण युवा इन्जिनियर झामाथि आक्रोशित बनेका थिए।

युवा अभियन्ता सुशिल कर्णले मुख्यमन्त्री कार्यालयकै मिलोमतोमा गुणस्तरहीन काम भइरहेको आरोप लगाए। ‘चासो देखाएको भए यति ठूलो र पवित्र मन्दिरको सौन्दर्यीकरणमा लापरबाही नै हुने थिएन्’ उनले भने।

यस्तै, मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दास ‘वैष्णव’ले पनि सौन्दर्यीकरणमा गुणस्तरहीन सामग्री प्रयोग भएको बताएका छन्। ‘पहिले ल्याएको मार्वल राम्रो थियो। तर अहिले ल्याएको मार्वल मापदण्ड अनुसारको छैन’ उनले भने।  मन्दिर सौन्दर्यीकरणमा प्रयोग भएको अन्य सामग्रीसमेत मापदण्डअनुसारको नभएको उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.