|

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ इम्बुङमा रहेको स्वास्थ्य चौकीमा गाउँपालिकाले दिएको डिफ्रिज तत्कालीन स्वास्थ्य चौकी इञ्चार्जले बेचेको पाइएको छ। थाहाखबरकर्मीलाई नाम नबताउने शर्तमा एक स्थानीयले सूचना दिएपछि पुष्टिको आधार खोजी गर्ने क्रममा तत्कालीन स्वास्थ्य चौकी इञ्चार्ज चन्द्रसिं कार्कीले स्थानीय रुपनारायण नेम्बाङलाई डिफ्रिज बेचेको पाइएको हो।

डिफ्रिज किनेका रूपनारायणको गाउँमै डेरी उद्योग छ। उनले डिफ्रिज ४५ हजारमा किनेको स्वीकारेका छन्। ‘स्वास्थ्य चौकी इञ्चार्ज र वडाध्यक्ष आएर तपाईंलाई काम दिन्छ। राख्नुहोस् भन्नुभो। मैले किनेर राखेको छु’ उनले भने। उनले ५० हजार दिए डिफ्रिज फिर्ता गर्ने पनि बताए।

केही महिनाअगाडि सरुवा भएर गृहजिल्ला हुम्ला पुगेका कार्कीलाई ‘किन बेच्नु भयो डिफ्रिज?’ भन्दा स्वास्थ्य चौकीमा ल्याब राखिँदा पूरै सामग्री नभएपछि सापटीस्वरूप आफूले २० हजार ७०० रुपैयाँ लगाएर आवश्यक सामग्री खरिद गरेको भन्दै सरुवा भएर जाने बेलामा उक्त रकम उठाएको भन्ने आशय व्यक्त गरे। यससँगै उनले स्वास्थ्य चौकीको लेखा परीक्षण गराएको र ल्याबको सामानको बिलसहित करिब ७ हजार रुपैयाँ पनि छोडेको बताए।

इम्बुङ स्वास्थ्य चौकीमा भ्याक्सिनलगायतका औषधि राख्न फ्रीज अभाव नरहेको समेत उनले बताए। ‘स्वास्थ्य चौकीमा फ्रिज छ। नभएको होइन। तर गाउँपालिकाले दियो। फेरि ठूलो छ’ उनले भने, ‘ट्रयाक्टरमा ल्याएर आउँदा कुच्चिएको छ। मासु पसल र डेरीमा राख्न मिल्ने छ।’ 

इञ्चार्ज कार्कीको सरुवा भएपछि स्वास्थ्य चौकीको निमित्त इञ्चार्जको जिम्मेवारी स्वास्थ्यकर्मी नीरमायाँ नेम्बाङले पाएपछि गैरकानुनी रुपमा नेम्वाङलाई प्राप्त जिम्मेवारी खोसेको बताइएकी अर्की स्वास्थ्यकर्मी इन्दिरा भट्टराईले गाउँपालिकालाई बोधार्थ दिँदै जिल्ला प्रशासन कार्यालयमा पनि डिफ्रिज खोजीका लागि निवेदन दिएकी छन्।

आफूमाथि डिफ्रिज हराएको सवाल जोडिन सक्ने भएकोले उनले फ्रिज खोजी गरिदिन निवेदन दिनु परेकी बताइन्। वडाध्यक्ष बहादुर सिं नेम्बाङले डिफ्रिज चाँडै फिर्ता गराइने बताएका छन्।

स्वास्थ्य संस्थामा चरम राजनीति

इम्बुङ स्वास्थ्य चौकी नेकपा र नेपाली कांग्रेसप्रति नजिक कर्मचारीबीच आपसमा असहयोग पनि हुने गरेको पाइएको छ। एकजना नेकपा निकट युवा नेता सागर नेम्बाङ भन्छन् ‘कर्मचारीबीच बोलचाल नै बन्द भएको सुनेको छु। यस्तो अवस्थामा सेवा प्रवाह कसरी भइरहेको होला?’

इम्बुङकै अर्का एकजना कांग्रेस निकट युवा अगुवा राजन रम्तेलले पनि कर्मचारीबीचको ठुस्क्याइँले सेवाग्राही मारमा पर्दै आएको बताए। उनले स्वास्थ्य संस्थामा राजनीति घुस्नु उचित नहुने पनि बताए। संसदमा हुने सत्तापक्ष र प्रतिपक्षको अभ्यासको नक्कल इम्बुङ स्वास्थ्य चौकीमा देखिने गरेको कतिपयले टिप्पणी गरेका छन्। जसको असर सेवाग्राहीलाई परेको छ।

आरोप–प्रत्यारोप

सरुवा भएर गएका स्वास्थ्य इञ्चार्ज चन्द्रसिंले स्वास्थ्यकर्मी (हाल निमित्त इञ्चार्ज) इन्दिरा भट्टराईले खोप लगाउनसमेत छुटाउने गरेको बताए। यससँगै बैठकमा समेत अनुपस्थित हुने गरेको उनको भनाई छ।

यस प्रसंगमा सोध्दा इन्दिराले भनेकी छिन् ‘गत वर्ष वडा क्षेत्रमा ३६ वटा खोप कार्यक्रम थियो। तर ३५ वटा मात्रै भयो। पानी साह्रै ठूलो परेकोले एउटाचाहीँ छुट्न पुग्यो र उहाँ (चन्द्रसिं) हुञ्जेल कहिले पनि स्वास्थ्य संस्थाको हातामा बैठक भएन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.