|

सुर्खेत : सुर्खेतमा भएको गौहत्या प्रकरणको छानबिनका लागि गृह मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ। सुर्खेतको कटकुवा र सुब्बाकुना नजिकैको भीरमा मृत भेटिएका गाईगोरुको विषयमा छानबिन गर्न गृह मन्त्रालयको टोली नेपालगन्ज हुँदै सुर्खेत आइपुगेको हो।

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा उप–सचिव सागरमणि पाठकले नेपालगञ्जबाट गाईगोरु मृत भेटिएको बारेमा अनुसन्धान अघि बढाएको जानकारी दिए। ‘बाँकेबाट नै अनुसन्धान शुरु गरिसकेका छौँ’ पाठकले भने, ‘सुर्खेतको कटकुवा घटनास्थलको स्थलगत अध्ययन र गाई लैजाने भनिएको ठाउँ दैलेखको शीरस्थानसम्म  टोली पुग्छ।’

समितिले घटनाको वस्तुगत तथ्य पत्ता लगाउने र आगामी दिनमा यस्ता समस्या उत्पन्न हुन नदिन सुझाबसहितको प्रतिवेदन गृह मन्त्रालयलाई दिने पाठकले बताए। टोलीले नेपालगञ्जको काञ्जिहाउसको अनुगमन गरिसकेको छ।

यसैबीच, नेपालगञ्ज उपमहानगर नगरपालिकाले गठन गरेको छानबिन टोली पनि दैलेख पुगेर सुर्खेत आएको छ। समितिले सुर्खेत र दैलेख पुगेर छानबिन गरेको समितिका संयोजक विकास आचार्यले जानकारी दिए।

उनले नेपालगञ्जको काञ्जिहाउसदेखि गाई मृत भटिएको घटनास्थलको स्थलगत अध्ययन गरिएको बताए। घटनाको सम्पूर्ण विवरण १५ दिनभित्रै सार्वजनिक हुने उनको भनाइ छ।

घटनामा संलग्न रहेको आरोपमा आठजना गाई बोक्ने ट्रक चालक र सहचाल पक्राउ परेका छन्। ट्रकका चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी, सहचालकहरू सरोज विश्वकर्मा, कमलप्रसाद नेपाल र अमृत चौधरीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ।

यस्तै, गाई ल्याउन प्रयोग गरिएका ना ५ ख ६६७४, ना ६ ख ४९४९, ना ६ ख ९१७७, ना ६ ख ९९०५ र ना ६ ख १०१५ नम्बरका ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा राखेको छ।

बाँकेको नेपालगञ्जबाट दैलेख लैजान लागिएका भनिएका गाई भदौ १३ गते वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुनाको भीरमा मृत भेटिएका थिए। नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २ सय ९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुनामा ३६ वटा गाईगोरु मृत अवस्थामा भेटिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.