विनियोजित बजेट भन्दा ३६ करोड कममा काम सकियो

|

पर्सा : सरकारले दिएको रकममध्ये ३६ करोड ४६ लाख ७५ हजार ९६९ रुपैया बचत गर्दै पर्सा बाराका टोर्नाडो ( हावाहुरी) पीडितका लागि नेपाली सेनाले ८६९ वटा घर निर्माण गरिदिएको छ। ती घर बुधबार वीरगन्जमा एक कार्यक्रमको आयोजना गरी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेललाई हस्तान्तरण गरेका हुन्।

नेपाली सेनाले जनता आवास कार्यक्रम मार्फत निर्माण गर्दै आएका घर निर्माण सम्पन्न भएलगत्तै रक्षामन्त्री पोख्रेललाई गस्तान्तरण गरिएको हो। रक्षामन्त्री पोख्रेलले पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी मार्फत सम्बन्धित पालिकाकाका प्रमुखहरुलाई लगत्तै घर हस्तान्तरण गरे।

५ लाख ४५ हजार ९८५ रुपैया प्रति घरको लागत लाग्ने नेपाल सरकारको लक्ष्यअनुसार कुल ७९ करोड ३३ लाख १७ हजार ४८३ रुपैया बजेट विनियोजन भएकोमा नेपाली सेनाले सेनालाई प्राप्त मापदण्ड अनुसारका प्रति घर ४ लाख ८४ हजा ८८८ रुपैयाँ ६० पैसामा नै निर्माण सम्पन्न गरेको जनता आवास कार्यक्रमका कमाण्डर सहायक रथी विनय बिक्रम राणाले बताए।

सेनाले कम मूल्यमा नै प्रकोप प्रतिरोधी सुविधायुक्त उच्चस्तरीय घर निर्माण गर्न सक्नुमा ‘नो कमिशन नो करप्सन निर्माण सामग्री उत्पादनकर्ता कम्पनीसँग प्रत्यक्ष सामग्री खरिद गरी निर्माण गर्दा लागत कम पर्न गएको उनले तर्क गरे। कुल विनियोजित बजेटमा ३६ करोड ४६ लाख ७५ हजार ९६९ रुपैया बजेट सरकारलाई फिर्ता पठाउन सकियो जनता आवास कार्यक्रमका कमाण्डर सहायक रथी राणाले भने।

नेपाली सेनाले कम बजेट र छोटो समय र प्रतिकुल मौसममा पनि गर्न सक्नुमा राष्ट्रहित र जनअपेक्षा अनुसकारको निष्ठाको कारण भएको जनता आवास कार्यक्रम कार्यदलका अध्यक्ष उपरथी प्रभुराम शर्माले बताए।

सेनालाई बधाई

नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पोख्रेलले नेपाली सेनाले पाएको जिम्मेवारी कौशलतापूर्ण ढंगले पूरा गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट नेपाली सेनालाई दिएको बधाई सुनाए। उनले गएको बैशाख २१ गते शिलान्यास भएको यो कार्यमा तीनथरी सरकारले कसरी समन्वय गरी कार्य गर्नुपर्छ भन्ने एउटा दृष्टान्त प्रस्तुत गरेको बताए। यो कामको ऐतिहासिक सफलताका लागि सहयोग गर्ने सबैलाई बधाई दिन्छु रक्षामन्त्री पोख्रेलले भने। राज्यको पूर्वदेखि पश्चिमसम्म एउटा भरोसा गर्ने संस्थाका रुपमा नेपाली सेना रहेको उनले प्रष्ट पारे।

फरक अर्को प्रशंगमा रक्षामन्त्री पोख्रेलले सरकारी तवरबाट हुने जनअपेक्षाका काम नीतिगत कारणले केही विलम्ब भएको स्वीकार्दै अब भने कामको परिणाम देखाउँदै जाने तर्क गरे। जनहित र राष्ट्रहितभन्दा फरक सरकारको लक्ष्य छैन। यहि लक्ष्यलाई मनमा राखेर अगाडी बढ्दा जनताले आफूहरुलाई जुन ठाउँमा राख्नु हुन्छ हामी त्यहाँ बस्न तयार छौं रक्षामन्त्री पोख्रेलले भने।

विपतका समयमा कस्ले घर निर्माण गरी पीडित जनतालाई घर भित्र ओताउने? भन्ने चासोका बीच नेपाली सेनाले त्यसको जिम्मा लिई सफलतापूर्वक काम सम्पन्न गरी हस्तान्तरण गर्न पाएकोमा मुख्य मन्त्री लालबाबु राउत गद्दीले पनि नेपाली सेनाको प्रशंसा गरे।

मुलुक र नेपाली जनताको दुःखमा सधैं साथ दिँदै आएको नेपाली सेनाले मुलुकसामु जुन समस्या आइपर्‍यो। त्यहि समस्यालाई समाधान गर्न राज्यले जिम्मेवारी दिंदा सधैं काँध थापी राष्ट्र र जनहितमा काम गर्दै आए अनुसार यो कार्य पनि सम्पन्न गर्न सकेको प्रधान सेनापति पूर्णचन्द्र थापाले बताए। फेरि पनि नेपाली सेनाले जस्तो सुकै परिस्थितिमा पनि राज्यले दिएको जिम्मेवारी पूरा गरेर देखाउने उनको प्रतिवद्धता छ। यस्ता कार्य विषम परिस्थितिमा पनि गर्न पछि नहट्ने सकल दर्जालाई पनि उनले धन्यवाद दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.