|

दैलेख : नेपालगन्जदेखि दैलेख ल्याउँदै गर्दा सुर्खेतको कटुवामा भीरबाट लडाएर मारिएका भनिएका गाईगोरु दैलेखमा उपलब्ध गराइदिन भन्दै जिल्ला समन्वय समिति दैलेखले सिफारिस नेपालगन्ज उपमहानगरपालिकालाई पठाएको रहस्य बाहिर आएको छ। समन्वयले भदौ ८ गते उपमहानगरपालिकालाई स्वच्छ गाई दैलेख पठाइदिन भन्दै सिफारिस पठाएको पत्र भेटिएको हो।

समन्वयले समिति दैलेखले जिल्लामा रहेका धार्मिकस्थलमा पाल्नका लागि र नारायण नगरपालिका लगायतका क्षेत्रमा व्यावसायिक गाईपालन प्रयोजनका लागि महानगरपालिकाबाट स्वच्छ गाई उपलब्द गराई सहयोग गरिदिन भन्दै समन्वयको सिफारिसमा उल्लेख गरिएको छ।

किसानका हितमा काम गर्न खोज्दा प्राविधिक त्रुटि

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले किसानका हितमा राम्रो काम गर्ने उद्देश्य राख्दाराख्दै प्राविधिक रूपमा केही त्रुटि भएकोले गाईगोरु मरेका बताए। यसलाई अन्यथा नबुझ्न सबैलाई अनुरोध गर्दै उनले उन्नत गाई दैलेखका किसानलाई निःशुल्क दिन सकिने बारेमा समन्वयले स्थानीय तहसँग समन्वय गर्न तयार रहेकाले सिफारिस गरेको बताए।

'धेरैलाई फोनबाट समन्वय भएको थियो नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दैलेखकै भएकाले उहाँले दैलेखका किसानको हितका लागि काम गर्ने बारेमा मौखिक रूपमा जानकारी भएको थियो। सबैसँगको समन्वयअनुसार समन्वयले नेपालगन्ज उपमहानगरपालिकाबाट गाई मगाइएको हो' उनले भने।

१५ दिनअघि दैलेखमा गाई आउँने हल्ला

उन्नत जातका गाईगोरु गाउँमा आउने र निःशुल्क पाउँने भन्दै दैलेखका विभिन्न गाउँमा १५ दिन अघिदेखि हल्ला चलेको किसानले बताएका छन्। आफ्नो गाउँमा निःशुल्क गाई आउने १५ दिन अगाडिबाट चर्चा चलेको एक किसानले नाम नखुलाउँने सर्तमा थाहाखबरलाई बताए।

'गाई आउँने हल्ला पहिलेदेखि नै चलेको हो उन्नत जातका गाई निःशुल्क पाइन्छ भन्दै आफू पाल्न सक्ने गाई लिने तयारीमा रहेको भए पनि सुर्खेतको कटुवामा अलपत्र छोडिए छन' उनले भने।

मरेको समाचार आएपछि विज्ञप्ति

सुर्खेतको कटुकामा गाईगोरु मरेको समाचार बाहिर आएपछि दैलेखका स्थानीय सरकारले आफ्नो संलग्नता नभएको भन्दै विज्ञप्ति जारी गरे। शिरिस्थान व्यवस्थापन समिति, भैरवी गाउँपालिका लगायतले विज्ञप्तिमार्फत आफ्नो संलग्नता नभएको स्पष्ट पारे। 

यता, नारायण नगरपालिकाले कसैको हस्ताक्षरबिना विज्ञप्ति १५ गते जारी गर्दै आफ्नो संलग्नता नरहेको जनाएको छ। आधिकारी पत्र नेपालगन्ज उपमहानगरपालिकाले बनाएको छानबिन समितिलाई क कसले दिए यसको बारेमा समितिको प्रतिवेदन बाहिर आएपछि मात्र थाहा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.