|

जनकपुरधाम :  धनुषाको हँसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा भएको झडपमा घाइते वृद्धको मृत्यु भएको छ।

गत साउन २१ गते भएको झडपमा घाइते भएर जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेका हँसपुर नगरपालिका–२ का ५५ वर्षीय तपेश्वर मण्डलको बुधवार राति मृत्यु भएको हो।

हँसपुर नगरपालिकाको केन्द्र अहिले बघचौरामा छ। तर मेयर रामज्ञान मण्डलले कार्यालय सारेर आफ्नो घर भएको चोक बेल्ही लग्ने प्रयास गरे। रातारात बेल्ही चोकमा कार्यालय उद्घाटन समेत गरे। त्यसको भोलिपल्ट साउन २१ गते बघचौरा कार्यालयबाट सामान सार्न खोज्दा झडप भयो। झडपमा उपमेयर रेणु झासहितका ६ जना घाईते भए।  मेयर मण्डलका सहयोगीहरु प्रहरीको सहयोगमा समान सार्न खोज्दा उपमेयर झाको नेतृत्वमा बघचौराबासीले रोक्न खोज्दा झडप भएको थियो।

मेयर रामज्ञान मण्डल पक्षका व्यक्तिहरु घरेलु हतियार बोकेर कार्यालयको समान सार्न खोज्दा झडप भएको बघचौराबासीको आरोप छ। झडपपछि लगत्तै जिल्ला समन्वय समितिको सभापति रामदेव बनरैत यादव र प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंणेलको समन्वयमा बैठक बस्यो। बैठकबाट भएको चार बुँदे सहमतीमा घाईतेको उपचार गर्ने पनि उल्लेख रहेपनि मेयर मण्डलले उपचारमा चासो नदेखाउँदा तपेश्वर मण्डलको मृत्यु भएको नेकपाका स्थानीय नेता दिपेन्द्रकुमार यादबको आरोप लगाए।

उनी भन्छन्, ‘मेयरले सम्झौता बमोजिम तपेश्वरको उपचार गराएको भए पनि उनको मृत्यु हुने थिएन। तर पावरको बलमा उपचारमा चासो देखाएनन्।’ उनले सम्झौता अनुसार उपचार नगराएको र केन्द्र विवादमा दुई गाउँलेबीच लडाएकोले मेयर मण्डलमाथि कडा कारबाही हुनुपर्ने माग समेत राखेका छन्।

मृत्युपछि गाउँले आक्रोशित

तपेश्वरको मृत्यू भएपछि बघचौराबासी आक्रोसित बनेका छन्। बुधवार राति करिब १० बजे गाउँबाट ठूलो संख्यामा आएका सर्वसधारण अंचल अस्पताल जनकपुर अगाडी प्रदर्शन समेत गरे। उनीहरु अस्पतालको गेटमै बसेर हत्यारा ‘मेयर मण्डललाई जेल हाल’ सहितका नारा लगाएका छन्।

मृतक तपेश्वरको गाउँमा शालिक बन्नुपर्ने, अपराधी मेयर मण्डलसहित झडपमा संलग्नलाई कारबाही गर्नुपर्ने, शहिद घोषणा र उचित क्षतिपुर्ती सहितको माग स्थानीयले राखेका छन्।

मेयर र प्रहरीमाथि कारबाही हुनुपर्छ : पूर्वमन्त्री झा

स्थानीयले प्रदर्शन गरिरहँदा नेकपाका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा पनि पुगे। उनले मृतक तपेश्वर आफ्ना कार्यकर्ता रहेको बताउँदै हँसपुरका मेयरले कानुनलाई हातमा लिन खोज्दा यो घटना घटेको आरोप लगाए। उनले प्रश्न गरे– राजनीतिक हिसावले समाधान गर्नुपर्ने कुरामा दुई गाउँलेलाई लडाएर के गर्न खोज्या हो?

नेता झाले कुटपिटमा संलग्नमाथि प्रहरीले मुद्दा दायर गर्न नचाहेको आरोप समेत लगाए। उनले भने, ‘अब त घाइतेको मृत्यु नै भयो। तरपनि मुद्दा दर्ता गर्न आलटाल गरे हामी आन्दोलनमा जान्छौं।’ घटनामा संलग्न मेयरसहितका व्यक्ति र पक्षपाती गरेका प्रहरीलाई कानुन बमोजिम कारबाही हुनुपर्ने माग समेत राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.