|

सल्यान : जिल्लाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका छोराले हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी परेको छ। गाउँपालिकाले आह्वान गरेको टेन्डरमा ठेक्का हाल्न जाँदा हातपात भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो।

नदीजन्य पदार्थ उत्खनन्को बोलपत्र आह्वानमा आफूलाई प्रतिबन्ध गराउन हातपात गरेको डिखैरावाङ कन्ट्रक्सन प्रालिका सञ्चालक डिल्लीराज खड्काले बताए। गाउँपालिका अध्यक्षका छोरा पोखरसिहं डाँगी, अनमोल श्रेष्ठ र गाउँ प्रहरी रहेका केशव वलीको नेतृत्वमा रहेका ५० जना व्यक्तिले कार्यालयको गेटमा हातपात गरेको उजुरी पत्रमा उल्लेख गरिएको छ। प्रहरी प्रशासनको मिलेमतोमा ११ बजेर ५२ मिनेटदेखि १२ बजेर २ मिनेट जाँदासम्म आफ्नो नियन्त्रणमा लिई खुल्ला प्रतिस्पर्धाबाट विमुख बनाएको पनि उजुरीमा उल्लेख गरिएको छ। हातपात गर्नेहरूविरुद्ध सार्वजनिक स्थानमा हातपात गरेको मुद्दा लगाई उक्त दरभाउ पत्र टेन्डर रद्द गरी पुनः टेन्डर गर्न उजुरीमा माग गरिएको छ।

त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले उक्त घटनाबारे आफूलाई थाहा नभएको र खड्का १२ बजेसम्म ठेक्का दर्ता गर्न नआएको बताए। प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले उजुरी उपर छानबिन हुने बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले टेन्डर प्रक्रियामा कुनै गलत कार्य नहोस् भनेर पटकपटक प्रहरीलाई सजग गराएको बताए। उजुरीमा प्रहरीको मिलेमतोमा भन्ने विषय लान्छाना लगाउने कार्य मात्र भएको उनको भनाइ छ। यदि प्रहरी प्रशासनबाट कुनै गलत कार्य भएको प्रमाण भेटिए कारवाहीको दायरामा आउने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.