|

इलाम : काठमाडाैं बाहिर अनियन्त्रित रुपमा भइरहेका गोल्डकप एवम नकाउट फुटबल प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियमन गर्ने भएको छ।

एन्फाले मोफसल फुटबल प्रतियोगिता नियमन नियमावली २०७६ जारी गरेर प्रतियोगितालाई वर्गीकरण गर्न लागेको हो। चुनावको समयमा कर्माछिरिङ शेर्पा नेतृत्वको टिमले मोफसलको प्रतियोगितालाई व्यवस्थित गर्ने एजेन्डालाई समावेश गरेको थियो।

एन्फाको निगरानीमा सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित बनाउन खेल मैदानको अवस्था, सुरक्षा व्यवस्था, सहभागी टोलीको संख्या, विदेशी टोलीको सहभागितालाई आधारमा मानेर ३ वर्गमा विभाजन गरेको हो। क वर्गको प्रतियोगितामा कम्तीमा १० टिमको सहभागीता हुनुपर्नेछ। जसमा ए डिभिजनका ६ क्लब सहभागी हुनुपर्ने छ। 

लिग तालिकाको शीर्ष ६ मध्ये ४ क्लब, ७ देखि १० औसम्मको भए १, ११ देखि १४ सम्मकोबाट १ क्लब सहभागी हुनुपर्नेछ। त्यस्तै सम्भव भएसम्म एउटा विदेशी टोली, आयोजक टोली, मोसफल वा प्रदेशमध्येबाट एउटा टोली हुनुपर्ने बताइएको छ। त्यस्तै ‘ख’ वर्गको प्रतियोगिता आयोजनाका लागि कम्तीमा १० टोलीको सहभागिता हुनुपर्नेछ। 

जसमा ६ वटा ए डिभिजनका क्लबको सहभागिता हुनुपर्नेछ। त्यसमा शीर्षस्थानदेखि छैटौं स्थान आउने मध्ये २, सातौं देखि १० औं स्थान प्राप्त गर्ने मध्येबाट २ तथा ११ औं देखि १४ औं स्थानसम्म आउने २ टोलीको सहभागिता हुनुपर्नेछ। त्यस्तै सम्भव भएसम्म एक विदेशी टोली, आयोजक, मोसफल र प्रदेश टोलीमध्येबाट एक हुनुपर्ने नियमावलीमा उल्लेख छ।

त्यस्तै ‘ग’ वर्ग प्रतियोगिताको लागि कम्तिमा पनि ८ वटाको सहभागिता अनिवार्य गरिएको छ। जसमध्ये ४ वटा ए’ डिभिजन क्लब हुनेपर्ने नियमावलीमा उल्लेख गरिएको छ। लिगको पहिलोदेखि छैटौं स्थानसम्म आउने मध्येबाट १ क्लब, सातौंदेखि १० औं आउने टोलीबाट २ तथा ११ औं देखि १४ औं स्थानमा आउने टोली मध्येबाट १ टोली हुनुपर्नेछ। त्यस्तै आयोजक, मोसफल र प्रदेश टोलीका टोलीको सहभागिता रहनु पर्नेछ। 

खेलाडी दर्ता नियमावली अनुसार एन्फामा दर्ता भएका खेलाडीहरूले मात्र सहभागीता जनाउन पाउने, प्रतियोगिता आयोजकले आयोजना मिति भन्दा १ महिना पहिला एन्फालाई जानकारी गराउनुपर्ने, प्रतियोगिताको स्तर अनुसार खेलाडीलाई सेवा सुविधा उपलव्ध गराउनुपर्ने लगायतका सर्तहरू उल्लेख भएको नियमावली जारी भएको हो। नियमावलीमा २८ बुँदा रहेका छन। 

एन्फाले पुरस्कार राशीको मापदण्ड समेत तोकेको छ। क वर्गको प्रतियोगिताको प्रथम पुरस्कार कम्तीमा १० लाख, ख वर्गका लागि ८ लाख र ग वर्गका लागि ६ लाख रुपैयाँ तोकेको छ। एउटा क्लबले एक महिनाको अवधिमा ३ वटा भन्दा बढी प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.