सन्तबहादुर भन्छन् : नेपालमा पाइलैपिच्छे पैसा रहेछ

|

बारा : बाराको निजगढ–५ खोल्मा टोलस्थित रहोवत गाई फर्मका सञ्चालक सन्तबहादुर मोक्तान र फुलमाया बल व्यावसायिक किसान जोडीका रूपमा चिनिन थालेका छन्। डेढ वर्षदेखिको पशुपालन कर्मले देशभित्रका लाखौं युवाहरुका लागि उदाहरणीय जोडी बनेका हुन्।

सन्तबहादुर मोक्तान वैदेशिक रोजगारीबाट फर्किएका हुन्। उनी दुई पटक गरी मलेसियामा तीन वर्ष काम गरेका उनले वैदेशिक रोजगारी चित्त नबुझेर फर्किए। नेपालमै केही गर्नुपर्छ भनेर फर्किका उनी केही समय घरका पिल्लरहरूमा बुट्टा भर्ने काम पनि गरे।

तर पत्नी फूलमाया भने पशुपालनमा केही गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेकी थिइन्। उनै फूलमायाको त्यो सानो प्रयास आज व्यावसायिक गाई फर्ममा परिवर्तन भएको छ।

फूलमायाको जुक्तिले गाईपालन

व्यवसायको सुरुवात एउटा स्थानीय गाईबाट सुरु गरेकी थिईन्। त्यसलाई बढाउँदै स्थानीय गाईको ठाउँमा उन्नत गाई पाल्न थाले। घरमा सुरुदेखि एउटा भैसी र गाई थियो। उनीहरूले त्यसलाई बेचेर गाई पाल्न सुरु गर्दा फूलमायालाई पति सन्तले साथ दिए। व्यावसायिक गाई पालनका लागि फूलमायालाई परीक्षा दिनुपर्‍यो–एउटा गाई परीक्षणका रुपमा पालिन्। घरमा गाई पाल्दा नफान्ने भएकाले सन्तबहादुर गाई पालन गरेर रिक्स मोल्न चाहदैथे।

‘गाई फाप्दैन, गाई नपाल्ने बरु भैसी पाल्ने भन्नुहुन्थ्यो, फूलमायाले सुनाइन्–तर मलाई भैँसी मन पर्ने थिएन। फूलमायाले गाई नै पाल्ने अठोट गरेपछि सन्तबहादुरले परीक्षणका रुपमा एउटा गाई पाल्न साथ दिए। एउटा गोठ बनाएर गाई पालनको सुरुवात भयो। गाईको दूधबाट आम्दानी हुने देखेर सन्तबहादुरले गाई बढाउन थाले।

मासिक डेढ लाख आम्दानी

लगानी बढाउँदै एउटैको लाख पर्ने गाई हाल्न थाले। ‘पहिला महिनाको २०/२५ हजार हुन्थ्यो,’ सन्तबहादुरले भने–त्यसपछि अझैं थपे ४० हजार भयो, यतिले पनि भएन् अब अझै माथि जानुपर्‍यो भनेर छुट्टै गोठ बनाएँ र आम्दानी डेढ लाख पुगेको छ।’

फर्ममा १३ वटा माउ गाई छ। दैनिक डेढ सय लिटर दूध बिक्री गर्छन्। त्यसबाट १५ दिनमा एक लाख २० हजार सम्म कमाउँछन्। ४० हजार खर्च भएछ। त्यसरी १५ दिनमा नै ६५ हजार आम्दानी लिएका छन्।

मासिक रुपमा एक लाख ५० हजारसम्म मासिक बचत हुने गरेको सन्तबहादुरले बताए। घरछेउमा सहकारीले सञ्चालन गरेको दुग्ध संकलन केन्द्रमा दूध बिक्री गर्छन्। गाईको गोबर पनि बिक्री गर्छन् तर मूत्र संकलन गरेर राखेका छन्।

२० लाख लगानी

२० लाखको लगानी भइसकेको छ। विना धितो गाउँकै बागदेव दुग्ध उत्पादक सहकारीले ४ वटा गाई खरिद गर्न ऋण उपलब्ध गरायो। त्यसपछि नेपाल इन्भेष्टमेन्ट बैंकबाट १५ लाख ऋण निकालेर गाई थपेका छन्।

मासिक ६ प्रतिशत ब्याजदरमा ऋण लिएका उनले त्रैमासिक रूपमा किस्ता र ब्याज गरेर ९७ हजार बुझाउँछन्। राम्रै आम्दानी भएपछि अझै लगानी वृद्धि गर्ने योजनामा छन्। दैनिक ७० लिटरसम्म दूध दिने गाई पाल्ने योजना सुनाए। त्यसका लागि तापक्रम मिलाउन फर्ममा एसी जडान गरेर पाल्ने बताए। सरकारी अनुदान पाउन नपाएकोमा उनले गुनासो गरे।

१० कठ्ठा जमिनमा घाँस खेती

बिहानको ४ बजेखि काम सुरु गर्छन् उनीहरू बिहान १० बजेसम्ममा र बेलुका पनि ४ बजेदेखि ८ बजेसम्म मुख्य काम हुन्छ। त्यो भन्दा अन्य समयमा घाँस हाल्ने र हेरचाह मात्र गरेपुग्छ।

गाईको लागि आहारको पनि राम्रो व्यवस्थपन गरेका छन्। १० कठ्ठा जमिन भाडामा लिएर घाँस खेती गरेका छन्। मकैचरी घाँस र पराल मिलाएर काट्ने विद्युतबाट चल्ने मेसिन छ। घाँसका विउ निजगढ नगरपालिकाको कृषि शाखाले उपलब्ध गराएको थियो। उनीहरूले सिजन अनुसारका विभिन्न प्रजातिका घाँस खेती गर्छन्।

फर्ममा ८० हजारदेखि डेढ लाख २० हजार मूल्य बराबरका गाईहरु छन्। ३५ हजार मूल्य बराबरका स्थानीय प्रजातिका दुईवटा गाई छन्। फर्ममा होलस्टने, नाशानावल र होलस्टेन र नशानावल क्रस गरेर जन्मिएका गाई छन्।

विदेशभन्दा यतै राम्रो

विदेशमा काम गर्दाको पीडा सम्झँदै सन्तबहादुरले १२ घण्टा काममा घोटिँदासमेत राम्रो कमाई नभएको सुनाए। ‘अहिले विहान ४ र बेलुका ४ घण्टा खटेर डेढ लाख आम्दानी हुन्छ,’ सन्तबहादुरले भने, 'त्यहाँ मरेर गर्दा पनि ३० हजार पुग्थेन।’

अरूको दबाबमा बसेर काम गर्नुपर्ने यहाँ आफ्नै खुसीले परिवारसँग रमाईरमाई काम गएकाले स्वेदशमा नै काम गर्न राम्रो भएको बताए। आफ्नै देशमा केही गरेर देखाउन पाएकोमा उनी दंग छन्।

विदेशमा जति खटेर गर्ने हो भने गाईपालनबाट मासिक ३/४ लाख कमाउन सकिने रहेछ भन्ने अनुभूति उनले सुनाए। नेपालमा केही हुँदैन भन्ने ठानेर विदेश पसेका

सन्तबहादुरले ती दिनको स्मरण गर्दै भने,‘नपरीकन थाहा नहुने रहेछ, मैले अहिले थाहा पाएँ, म पनि त्यसैगरी विदेश गएँ, त्यहाँ पुगेपछि दुःख भोगेँ।’ उनले थपे,‘रुखमा पैसा फल्दैन त्यहाँ, बरु विदेशमा गाह्रो छ, नेपालमा पाइलैपिच्छे पैसा छ।'

किसानलाई सहकारीको साथ

बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले परम्परागत रूपमा हुँदै आएको पशुपालनलाई व्यावसायीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ। संस्थाका अध्यक्ष थानेश्वर सापकोटा आफैँ पनि वैदेशिक रोजगारीबाट फर्किएका युवा हुन्।

उनले स्वेदशमा फर्केर गाईपालन सुरु गरे। तर व्यवसायिकरणका लागि अनुभव र वातावरण नबन्दा असफल भएको अनुभूति संगालेपछि त्यहाँको सहकारीमार्फत गाईपालनलाई व्यावसायीकणमा जुटे। संस्थाले वीरगञ्जको लक्ष्मी बैंकबाट सहुलियतमा किसानलाई ऋण प्रवाह गर्‍यो ।

५ करोड ऋण लगानीको अवस्थामा पुगेको संस्थाले ३ करोड ऋण प्रवाह गरिहेको छ भने २ करोड लगानीको अवस्थामा पुगेको छ। संस्थाका अध्यक्ष सापकोटाका अनुसार संस्थाले पशु विमा कार्यक्रम, एक सय रुपैयाँमा नश्ल सुधार कार्यक्रम, निजगढ नगरपालिकाको सहयोगमा निःशुल्क भ्याक्सिनको व्यवस्था, संस्थाले दुग्ध

संकलन केन्द्र शाखा ८ वटा पुर्‍याएको छ। त्यसैगरी संस्थाले किसानलाई मिल्क क्यान वितरण, दूधको पैसामा कट्टि हुनेगरी बजार मूल्यभन्दा कममा पशु आहारको प्रबन्ध, पशु डाक्टरको व्यवस्था मिलाएको छ भने पशु औषधि १० प्रशितशत छुटमा बिक्री गर्दै आएको छ।

किसानलाई पेन्सन

संस्थाले किसानलाई पेन्सनको व्यवस्था गरेको छ। दुई वर्षदेखि कृषक पेन्सन कार्यक्रममार्फत एउटै किसानले दशैंको मुखमा १२ हजारदेखि डेढ लाखसम्म पेन्सन पाउने अध्यक्ष सापकोटाले बताए। संस्थाको सेवा क्षेत्रमा दर्जनको संख्यामा व्यावसायिक गाई फर्म सञ्चालन भईरहेको छ।

पशुको संख्या घट्दो छ भने दुधको उत्पादन भने बढ्दो छ। किसानले व्यवसायिक रुपमा धेरै पशु पालेका कारण दूधको उत्पादन बढेको छ। अढाई वर्ष अघिसम्म दैनिक  २ हजार २ सय ५० लिटर दूध संकलन हुने गरेकोमा अहिले बढेर ६ हजार लिटर पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.