|
फोटोहरू :  फँडानी भएको केराबारी र फँडानी भएको केराबारीसहित बलराम बल(किसान)

हेटौँडा : २०७५ वैशाख १७ गते चितवन भएको घटना हेटौंडामा दोहोरिएको छ। चितवनमा किसानको बगानमै पसेर तीन हजार ९४ केराको बोट काटेको पाइएको थियो।  एक समूहले १२ किसानको १५ लाख रुपैयाँभन्दा बढीको केरा फाँडेर नष्ट गरेका थिए।

बुधबार हेटौंडा उपमहानगरपालिका-१२, भोर्लेस्थित एक किसानको केराबारी ५५० बोट केरा काटेर त्यस्तै प्रकृतिको घटना दोहोरिएको हो। भोर्लेको दोरङगे डाँडामा रहेको नमो बुद्ध कृषि फर्मको केराबारी मंगलबार राति अज्ञात समूहले फँडानी गरेको छ। बलराम बलले फर्म दर्ता गराई १३ कठ्ठा ७ धुरमा ७ सय बोट केरा लगाएका थिए। बुधबार विहान स्थानीयले अज्ञात समूहद्वारा केराको बगैंचा फँडानी भएको फेला पारेपछि अहिले उक्त घटनाले चितवनको घटना दोहोरिएको भन्दै हेटौँडामा खैलाबैला भएको छ।

किसान बलले गत वर्ष चैत्र महिनामा ५ लाखको लगानीमा व्यावसायिक रुपमा केरा खेती सुरु गरेका थिए।  केरा फल्न सुरु भइसकेको छ र केही समयपछि आम्दानी सुरु हुने समयमा केराको फँडानी भएको भन्दै बलले चिन्ता व्यक्त गरेका छन्। बलले पदमपोखरी प्रहरी कार्यालयमा निवेदन दिइसकेका छन्।

घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा ५ जना बालकलाई स्थानीयबासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो। नाबालक भएकोले वडा अध्यक्षको समेत आग्रहमा ती बालकलाई अभिभावकको जिम्मा लगाइएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिएन्।

बालकको समूहले बदमासी गरेको जस्तो देखिए पनि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए। उनले किसानसँग व्यक्तिगत दुष्मनीको कारण पनि घटना भएको हुन सक्ने भन्दै दोषीलाई कुनै पनि हालतमा नछोड्ने बताए। 

यस्तै वडा नम्बर १२ अध्यक्ष ललित घलानले फँडानी भएको केरा खेतीको अनुगमन गरेका छन्। घलानका अनुसार कुनै लागुऔषध प्रयोग गर्ने टोलीले घटना घटाएको हुन सक्ने देखिएको छ।  घटना भएको राति नै गाउँबाट अज्ञात समूहले ४ वटा कुखुरा चोरी गरेर राति पोलेर खाएको र केही छोडेर भागेको देखिएकोले घटना शंकास्पद भएको वडाध्यक्ष घलानले बताए।

किसानले बीमा नगरेकोले दोषी पत्ता लगाइ दोषीबाट नै क्षतिको रकम दिने वडाले तयारी गरिएको उनले बताए। दोषी पत्ता नलगाए वडाको पहलमा किसानलाई राहत दिने घलानले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.