|

काठमाडौं :  प्रसिद्ध इतिहासकार, राजनीतिज्ञ तथा साहित्यकार बालचन्द्र शर्माको शतवार्षिकी काठमाडौंमा सम्पन्न भएको छ । बालचन्द्र स्मृतिसभाद्वारा आयोजित समारोहमा समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका संस्थापक उपकुलपति बालचन्द्र शर्माको शतवार्षिकी नेपाल प्रज्ञाप्रतिष्ठानले मनाउनु पर्थ्यो भन्दै प्रतिष्ठानले उनी जस्ता विभूतिको वास्ता नगरेकोमा दुख व्यक्त गरे।

 लेखक अरविन्द रिमालको सभापतित्वमा सञ्चालित समारोहमा पूर्वमन्त्री होमनाथ दाहाल, पूर्वराजदूत तथा परराष्ट्रविद् डा. मदनकुमार भट्टराई, बालचन्द्र स्मृतिसभाका सदस्यसचिव प्रा.प्रयागराज वाशिष्ट र कोषाध्यक्ष कल्पना घिमिरेले बालचन्द्र शर्माको व्यक्तित्व माथी प्रकाश पारे।

 इतिहास, साहित्य र राजनीति विषयमा बालचन्द्र शर्माका १६ वटा पुस्तक प्रकाशित छन्। उनी टङ्कप्रसाद आचार्यको प्रधानमन्त्रीत्वकालमा शिक्षामन्त्री थिए। उनी रूस र फ्रान्सका लागि नेपाली राजदूत बनेर सेवा गरेका थिए। राजा महेन्द्रको कुलपतित्वमा स्थापित नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा शर्मा उपकुलपति समेत भए। समालोचक प्रा.डा. वासुदेव त्रिपाठीका अनुसार बालचन्द्र शर्मा र महाकवि लक्ष्मीप्रसाद देवकोटाको परामर्शमा राजा महेन्द्रबाट नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको स्थापना भएको थियो।

वि.स १९७६ भदौ ३ गते भारतको इलाहवादमा जन्मेका शर्माको २०३२ असार ६ गते काठमाडौंमा निधन भएको थियो । त्यति बेला उनी फ्रान्सका राजदूत थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.