|

काठमाडौं  : नेपालमा हरेक वर्ष पाँच हजारभन्दा बढीले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ।

नेपाल प्रहरीको आर्थिक वर्ष २०७५/०७६ को तथ्यांकअनुसार नेपालमा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका छन्। जसमा १८ भन्दा कम उमेरका ९ प्रतिशत, १९ देखि ३५ वर्ष उमेर समूहका ४० प्रतिशत, ३६ देखि ५० वर्षसम्मका ३० प्रतिशत, ५१ वर्षदेखि ६९ वर्ष उमेर समूहका १६ प्रतिशत तथा ७० वर्षमाथिका ५ प्रतिशत रहेको पाइएको हो।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा वार्षिक ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन्, जसमध्ये ९० प्रतिशत घटना मानसिक समस्याका कारण हुने गरेको छन्। जन्मेदेखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्यालाई बताइएको छ।

विश्वमा औषत २० जनाले आत्महत्या प्रयास गर्दा १ जनाले आत्महत्या गर्ने अध्ययनले देखाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ४० सेकेण्डमा १ जनाको आत्महत्याका कारण ज्यान जाने गरेको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार वैदेशिक रोजगारका क्रममा मृत्यु हुनेमध्ये १०.४ प्रतिशत मृत्यु आत्महत्याका कारण हुने गरेको छ।

आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनद्वारा गरिएको मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था र चुनौती’ विषयमा अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले नेपालमा प्रत्येक वर्ष पाँच हजारभन्दा बढीले आत्महत्याबाट मृत्यु हुने गरेको बताए।

कार्यक्रममा मानसिक स्वास्थ्यको अवस्थाका विषयमा प्रस्तुति दिँदै कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले मनोसामाजिक समस्या, जैविक, अनुवांशिक, सांस्कृतिक लगाएतका तत्त्वहरूले आत्महत्यामा भूमिका खेल्ने बताए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले हाम्रो समाजमा व्याप्त पुरातन सोचका कारण मानसिक स्वास्थ्यको उपचार प्रभावकारी नभएको बताए। 'नेपालमा मानसिक रोगको कुनै उपचार छैन, यो श्रापका कारण हुन्छलगायतका धारणा अझै पनि व्याप्त छ। विगत लामो समयदेखि मानसिक रोग सरकारको प्राथमिकतामा नै परेन’ प्रवक्ता श्रेष्ठले भने ‘हामीले अन्य रोगहरूलाई मात्र प्राथमिकता दियौँ।’ मानसिक स्वास्थ्यको क्षेत्रमा हुने लगानीले गुणस्तरीय जीवन सुनिश्चित गर्न सकिने उनको बताए।

गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्र रमण सिंह मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै सरोकारवाल संस्थाहरू समन्वय गरेर काम गर्नुपर्ने बताए। उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारा पोखरेलले नेपालमा ‘इस्यु बेस्ड’ भएर बहस गर्ने प्रवृत्ति रहेको भन्दै उनले यस्तो प्रवृत्ति परिवर्तन गर्न आवश्यक रहेको बताए। सरकारले मानसिक स्वस्थ्य प्रभावितलाई ४३ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने तयारी गरिरहेको पनि उनले जानकारी दिए।

यस्तो स्वभाव देखाउँछन् आत्महत्या गर्नुपूर्व मानिस

नेपालमा अझै पनि आत्महत्याका विषयमा विभिन्न भ्रमहरू रहेका छन्। आत्महत्या गर्ने व्यक्तिले अरूको ध्यानाकर्षण गर्नकै लागि आत्महत्या गर्छन् भन्ने भ्रम छ। सबै जसो आत्महत्या आवेगमा आएर गर्ने अझ धेरै छन्। तर, अधिकांश आत्महत्या योजनाबद्ध रूपमा गरिने विज्ञहरूको भनाइ छ।

आत्महत्या गर्नुअघि व्यक्तिमा छटपटी र एक्लोपन महसूस गर्नु, लागुऔषध तथा मादकपदार्थ सेवन गर्नु,निद्रामा गढबढी हुनु, भावनात्मक उतारचढाव, भविष्यप्रति निराश हुनु, हेलचेक्राई पूर्ण व्यवहार देखाउनु, साथीभाइ तथा आफन्तबाट टाढिँदै जानु,सामाजिक सञ्जालमा आत्महत्या वा निराशाजनक अभिव्यक्तिहरू प्रकट गर्नुजस्ता लक्षण देखाउछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.