|

जाजरकोट : नलगाड नगरपालिका ६ का सुदाम खड्काले जाजरकोट अस्पतालमा खुट्टामा लागेको घाउको उपचार गर्न आए पनि औषधि नपाएको गुनासो गरे।

जिल्ला अस्पतालको फार्मेसीमा औषधि नपाउँदा निजी मेडिकलमा गएर औषधि किन्न बाध्य भएको उनले बताए। स्थानीय खड्काले भने, ' मैले स्वास्थ्य विमा गरेको छु। तर अस्पतालमा औषधि नपाउँदा बाहिर गएर निजी औषधि पसलबाट औषधि खरिद गर्न बाध्य भएँ।' 

त्यस्तै कुशे गाउँपलिका ४ मा का जनक सिंहले टाइफाइड ज्वँरो आएर जिल्ला अस्पतालमा उपचार गराए। तर औषधि नपाएर निजी औषधि पसलमा गएर औषधि किन्न बाध्य भएको उनले बताए। उनले भने, 'स्वास्थ्य विमा गरे पनि आफूले बाहिरबाट औषधि किन्नु पर्दा दुख लाग्छ।'

विरामीले जाजरकोट अस्पतालमा अहिले गाउँमा लगाउने औषधि, गाउँ सिलाउने सिलक आई ब्रोफिन, गाउँमा लगाउने मुप्रेसन मलहम, एमपी कोलोकसा सिफेकजिम लगायतका १७ भन्दा बढी औषधि नपाएर निजी मेडिकलमा गएर खरिद गर्न बाध्य भएका छन्। यस्ता औषधि नपाउँदा सवै भन्दा बढी स्वास्थ्य विमा गरेका विरामी मारमा परेका छन्। 

आफू विरामी भए पनि बाहिर औषधि किन्न रकम खर्च गर्नुपर्दा डवल मारमा परेको विरामीकाे गुनासाे छ। जाजरकोटका अधिकांश स्वास्थ्य संस्थामा यही समस्या रहेको पाइएको छ।

स्थानीय तहको बजेट कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले अघिल्लो आर्थिक वर्षको हिसाव (मलेप) स्पष्ट नभएका कारण औषधि खरिदमा समस्या भएको डाक्टर केशर कार्कीले बताए। साथै आफ्नै लेखापाल नहुँदा पनि दैनिक कारोवारमा समस्या आएको उनले बताए। अस्पतालमा ४ वटा दरबन्दी खाली रहेका कारण काम गर्न समस्या भएको छ। 

जिल्लाका ७ वटा स्थानीय तहले औषधि खरिद नगर्दा स्वास्थ्य संस्थामा निशुल्क पाइने सवै खालका औषधि नपाएको स्थानीयको गुनासो छ। जिल्लाका ३ ठाउँमा प्राथमिक स्वास्थ्य केन्द्र भए पनि चिकित्सक नहुँदा उपचारमै समस्य हुँदै आएको छ।

नलगाड नगरपालिकाको दल्लीमा ३ महिनादेखि एमविविएस दरवन्दीमा कार्यरत चिकित्सक नहुँदा दैनिक अहेवको भरमा उपचार हुँदै आएको छ। त्यस्तै गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा १ वर्षदेखि चिकित्सकको दरवन्दी खाली रहेको छ। बारेकोट गाउँपालिकाको लिम्सामा एकजना करारमा नियुक्ति गरिएका चिकित्सकको भरमा स्वास्थ्य संस्था चलेको छ।

कुशे गाउँपालिकाका ५ वटा स्वास्थ्य संस्थामा दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा उपचारमा दैनिक समस्य भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।उनले गाउँमा भएका स्वास्थ्य संस्थामा केही भएका स्वास्थ्यकर्मीले आवश्यक उपकरणको अभावमा काम गर्न मुस्किल भएको बताए। 

गाउँमा विरामीको अनुहार हेरेर र हातले छामेर मात्र उपचार गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। टाढा गाउँबाट स्टेचर, डोकोमा बोकेर विरामी ल्याइए पनि तोकिएको औषधि र उपयुक्त उपचार नहुँदा दैनिक स्वास्थ्यकर्मी र विरामीको द्बन्द्ब मात्र निम्तिएको स्वास्थ्यकर्मीहरू बताउँछन्। सम्झाई, बुझाई गरे पनि विरामीको समस्य हल नहुँदा आक्रोषित हुने गरेको उनीहरूको गुनासो छ। 

अधिकांश विरामीहरू निजी औषधि पसलमा लिएर उपचार गरेर फर्कने गरेको बारेकोट गाउँपालिका ४ का देवी बोहोराले बताए। यातायातको पहुँच नहुँदा डोको र स्टेचरमा बोकेर ल्याएको पीडा, औषधि नपाएपछि उठ्ने रिसले गर्दा स्वास्थ्यकर्मी र विरामीका आफन्तबीच द्बन्द्ब बढ्ने गरेको उनको भनाई छ। समयमै कार्यालयमा उपस्थित नहुने कर्मचारीको कारण पनि विरामीले समयमै उपचार नपाउनु अर्को कारण बनेको छ।

विरामीसँग रुखो बोली, झर्किने कार्यशैलीले गर्दा उपचारमा गएका विरामी झन तनाव हुने गरेको बताउँछन्। स्वास्थ्य संस्था टाढा हुँदा र औषधि नपाइने समस्यले गर्दा अधिकांश ग्रामीण क्षेत्रमा स्थानीय रोग पालेर अकालमै ज्यान जाने गरेको स्थानीय शिक्षकहरू बताउँछन्।

आर्थिक अभावमा उपचार गर्न नसक्दा अधिकांशको ज्यान जाने गरेको छ। गाउँमा हुने स्वास्थ्य संस्थामा व्यवस्थापन, भवन र विरामीलाई राख्ने ठाउँ नहुँदा उपचार भन्दा पीडा बढी हुने गरेको छ। 

गाउँमा आत्महत्या, हत्या, अन्य करणले मृत्यु भएका शवहरू सदरमुकाम खलंगामा बोकेर ल्याउदा यहाँका स्थानीय हैरान भएका छन्। गाउँका स्वास्थ्य संस्थामा मेडिकल अधिकृत ( एमविविएस ) चिकित्सक नबस्दा सदरमुकाम शव बोकेर ल्याउनु परेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.