जनताको पैसामा मस्ती गर्नेलाई चेतावनी दिएका हौँ : सेक्रेटरी मनिष

|

भद्रपुर : झापाको गौरादह र बिर्तामोडमा गराइएको बम विस्फोट घटनाको जिम्मेवारी नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका झापा जिल्ला सेक्रेटरी मनिषले थाहाकर्मीलाई फोन गर्दै बम विस्फोट गराएको घटनाको जिम्मेवारी लिएका हुन्।

जनताको पैसामा मस्ती गर्ने जनप्रतिनिधि, कर्मचारी र सहकारीका व्यक्तिलाई जनताकै माग अनुसार कारबाही स्वरूप गौरादह नगरपालिकाको गाडी र बिर्तामोडको सहारा नेपाल सहकारी संस्थाको भवनलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला सेक्रेटरी मनिषले थाहाकर्मीलाई बताए।

सेक्रेटरी मनिषले थाहाकर्मीसँग टेलिफोन संवादमा भने, ‘पछिल्लो समयमा झापाका स्थानीय तहका जनप्रतिनिधिले विकास निर्माणमा खर्च गर्नुपर्ने जनताको पैसामा गाडी चढ्ने, बेरुजु रकम बढाउने, भ्रष्ट्राचार र अनियमितता गर्ने भ्रष्ट नेतृत्व विरुद्ध जनताको आवाज उठिरहेको बेला हामीले जनताकै पक्षमा नेतृत्व गरेर कारबाही

सुरु गरेका हौँ’ उनले भने, ‘गौरदहमा नेतृत्वमा विवादका बाबजुद तीन वटा गाडी खरिद गरिएको छ, फर्जी व्यक्तिलाई कृषिको बजेट दिएर अनियमितता गरेको छ, स्थानीय तहमा एउटा मोटरसाइकल भए पुग्दा समेत जनप्रतिनिधिले जथाभाबी गाडी खरिद गर्ने जस्ता गतिविधिलाई रोक्न चेतावनी स्वरूप बम विस्फोट गराएका हौँ।’

सहकारीको प्रसङ्गमा बोल्दै सेक्रेटरी मनिषले थाहाकर्मीले भने, ‘लगानी गरेर आफू मालिक हुने सहकारीको नियम विपरीत, राज्यका नीति अनुसार नचलाउने, जनताको लगानीमा आफू मालिक भएर सहकारी चलाउने र जनतालाई ऋणको भार थपेर आत्महत्याको बाटोतर्फ प्रेरित गर्ने जनगुनासो आउन थालेपछि पार्टीले ठुला सहकारीलाई कारबाही गर्ने अभियान सुरु गरेको हो।’

‘पछिल्लो समयमा ठुला सहकारीले जनतालाई चरण आर्थिक शोषण गरिरहेको जनआवाज उठिरहेको बेला हाम्रो पार्टीले यसलाई सम्बोधन गर्ने अभियानमा लागेको हो’, उनले भने, ‘सहकारीको नाममा बम्ह्लुट गरेर अगाडि बढिरहेको र सहकारीका नेतृत्व तहले आफ्नो चरित्र नसुधारे जिल्लामा कुनै पनि गतिविधि गर्न दिदैनौं।’  

विप्लव नेतृत्वको नेकपाले आइतबार मध्यरातमा गराएको बम विस्फोटबाट गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा क्षति पुगेको छ, भने बिर्तामोडमा सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा क्षति पुगेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार बम विस्फोटबाट गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्ण रूपमा क्षति भएको छ।

त्यस्तै बिर्तामोड नगरपालिका २ स्थित चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नव निर्मित भवन अगाडि शक्तिशाली बम विस्फोट गराएको छ। सहारा गराइएको विस्फोटबाट भवनको झ्यालको सिसी फुटेको, सुरक्षा गार्ड बस्ने पोस्टमा र मे १ च १८५१ नम्बरको गाडीको सिसी फुटेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

यता, प्रहरीले बम विस्फोट गराएको आशङ्कामा दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ। उनीहरूको नाम प्रहरीले खुलाएको छैन। यसअघि विप्लव नेतृत्वको कार्यकर्ताले गैर नेपालीलाई नागरिकता दिएको आरोपमा बिर्तामोडको गरामनीस्थित संयुक्त वडा कार्यालयमा बम विस्फोट गराएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.