|

काठमाडौं : सरुवा रोग अस्पतालको एउटा मापदण्ड के हो भने एक बिरामी अर्को विरामीसँग छोइन हुन्न तर सोमबार बिहान टेकुस्थित नेपालकै एक मात्र सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा बिरामीहरू एकअर्कासँग ठेलमठेल गर्दै लाइनमा थिए। कुनै ठूलै मेलामा हेर्नका लागि लाइन लागे जस्तै बिरामीको लाइन थियो। लाइन मिलाउँदै थिए अस्पतालका सहयोगी।

पैसा तिर्ने लाइनदेखि रिपोर्ट लिने ठाउँसम्मै बिरामीहरूबीच ठेलमठेल देखिन्‍थ्यो। चिकित्सकलाई देखाउन रगत लिन तथा टिकट काट्ने ठाउँका बिरामीहरू दुई घन्टादेखि उभिँदा पनि पालो नआएपछि निराश दखिन्थे। केही चिकित्सकहरूले लाइनमा बसेका अलि गम्भीर बिरामीलाई छुट्टै बोलाएर पारम्भिक परीक्षणसमेत देख्न पाइन्थ्यो।

यो आज मात्रै होइन पछिल्लो एक सातादेखि यस्तै भइरहेको छ। लाइन मिलाउन अघि सरेका एकजना सुरक्षाकर्मीले बताए। उनले भने, 'यस्तो त कहिल्यै भएको थिएन जुन पनि बिरामी छन् लाईनमा धेरै समय राख्न पनि गाह्रो तर के गर्नु विकल्प छैन।'

पछिल्लो समय राजधानीमा फैलिएको डेंगुको परीक्षण गराउन आउनेको निकै भिड भएको अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए।

उनका अनुसार अस्पतालको इतिहासमै यति धेरै बिरामी एकैपटक अस्पताल आएका थिएनन्, बिहान ९ बजे देखि पाँच बजेसम्म यस्तै भिड हुन्छ।

डेंगु परीक्षण गराउन आउनेको भिड बढेपछि अहिले अस्पतालले बेड संख्यादेखि चिकित्सक, प्यारामेडिक्ससम्म थपिदिन मन्त्रालयलाई पत्राचार गरेको छ। यस्तै प्रयोगशालामा उपकरण थप्न र आवश्यक जनशक्ति मिलाइदिनसमेत आग्रह गरेको छ।

पछिल्लो समय टेकु अस्पतालमा दैनिक १ हजार बढी बिरामीको भिड लाग्ने गरेको छ। थोरैसंख्यामा कार्यरत चिकित्सक तथा प्यारामेडिक्सलाई यो भिडको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ।

अशन र डल्लुका धेरै बिरामी

डा पुनका अनुसार काठमाडौंको असन, ठमेल, नयाँबजार  भोटेवहालका धेरैमा डेंगु ज्वरो देखिएको बताए। उनले भने, ‘ खोलाको छेउ भएर लामखुट्टे धेरै हुने क्षेत्र भएर हो कि  असन, नयाँ बजार डल्लु तीरमा धेरै विरामीमा डेंगु देखिएको छ।'

उपत्यकामा २ सय ५४ मा डेंगु

महाशाखाका अनुसार हालसम्म उपत्यकामा दुई सय ५४ जनामा डेंगु भएको प्रमाणित भएको छ।  माहाशाखाका अनुसार यो संख्या टेकु अस्पताल उपत्यकाको अन्य सरकारी अस्पतालमा आएका बिरामीको मात्र भएको बताएको छ।

देशभर ३८ सय ९० जनामा डेंगु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका को अनुसार हालसम्म देशभर ३८ सय ९० जनामा डेंगु देखिएको छ भने  ६ जनाको मृत्यु भए पनि महाशाखाले चारजनाको निधन भएको बताएको छ।

यद्यपि, दुई जनामाको  डेंगुबाटै हो वा होइन भन्ने अझै परीक्षण भइरहेको बताइएको छ। महाशाखाका अनुसार देशभर करिब २ हजार ६ सय बिरामीमा डेंगुको संक्रमण आशंका गरिएको छ।

तीमध्ये सबैभन्दा बढी प्रदेश ३ मा दुई हजार १० जना छन् । त्यस्तै, प्रदेश १ का ८ सय ३१ मा डेंगु देखिएको छ भने प्रदेश २ मा ३९, गण्डकी प्रदेशमा ८ सय ४०, प्रदेश ५ मा १सय ५३  कर्णाली प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २२ जनामा डेंगुको संक्रमण देखिएको छ। यो तथ्यांक सरकारी अस्पतालमा उपचारको लागि आएकाकाको मात्र रहको माहाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.