|

विराटनगर : विराटनगर भित्रने तथा बाहिरिने वैकल्पिक सडकको रुपमा रहेको विराटचोक-घिनाघाट सडक ४ लेन बनाउने काम सुरु भएको छ।

प्रदेश १ सरकारको प्रमुख महत्वको मानिने यो सडकलाई ४ लेन बनाउने कार्यको प्रदेशका मुख्यमन्त्री शेरधन राईले सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरे।

२२.५ किलोमिटर लम्बाइ रहेको यो सडक विराटनगर प्रवेश गर्ने कोशी राजमार्गको विकल्पको रुपमा हेरिएको छ। कोशी राजमार्ग पनि ६ लेनको बनाउने काम जारी छ। प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानी रहेको विराटचोक-घिनाघाट ४ लेन बनाउने सडक वहुवर्षे आयोजनाअन्तर्गत राखिएको छ।

सडक शिलान्यास कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री शेरधन राईले यति ठूलो लगानीमा बन्ने यो नै प्रदेशको पहिलो र नमुना सडक आयोजना भएको बताए। उनले ठेक्कामा लिने निर्माण व्यवसायीले नमूनाको रुपमा बनाएर समयावधिभन्दा अगाडि नै सरकारलाई सडक हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे।

 उनले जनताले आफ्नो प्रतितिधिमार्फत संविधान बनेर संघीयता नआएको भए यो सडक शिलान्यास हुने थिएन भन्दै मुख्यमन्त्री राईले दिगो र दीर्घकालीन सोचबाट प्रदेश सरकार अगाडि बढेको बताए। उनले विराटनगरमा दोस्रो मूल ढोकाको रुपमा यो सडक निर्माण कार्य गरेर प्रदेशको समृद्धिको ढोका खोल्न आफूहरूले प्राथमिकतामा राखेको पनि बताए।

सडक निर्माणको जिम्मा लिने निर्माण व्यवसायीको अनुगमन र मूल्यांकन तथा निगरानी आफूले पनि गर्ने बताउँदै मुख्यमन्त्री राईले गुणस्तरमा कुनै सम्झौता नहुने पनि स्पष्ट पारे। सडक शिलान्यासका क्रमममा बोल्दै संघीय सांसद अमनलाल मोदी, प्रदेशसभाका सांसदद्वय विजय विश्वास र राजकुमार ओझाले ४ लेनको सडक हुँदा यसको दीर्घकालीन महत्व हुने बताएका थिए भने सडक निर्माणका क्रममा गुणस्तरमा ध्यान दिन सबै नागरिकलाई आव्हान गरेका थिए। 

२२.५ किलोमिटर सडकलाई ३ वटा प्याकेजमा विभाजन गरिएको छ। जसमध्ये २ वटा १०/१० किलोमिटरको सडक ठेक्कामा लागेको भए पनि बाँकी रहेको २.५ किलोमिटर सडकको भने ठेक्का लगाउने प्रक्रियामा रहेको मोरङको पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए।

दुईवटा प्याकेजको ठेक्का भने गत असार ३१ गते सम्झौता भएको हो। सम्झौता अनुसार आगामि २०७७ साल असार मसान्तसम्ममा सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ।

सडक निर्माणको काम भने असोज १ गतेदेखि सुरु हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। वस्ती भएको क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटर हुने गरी सडकको डिजाइन गरिएको छ।

सेन्टर पोइन्टबाट ३५/३५ फिट कालोपत्रे हुने र दुवै छेउमा १०/१० फिट टाढा छोडेर मात्रै निजी घर निर्माण गर्न पूर्वाधार विकास कार्यालय मोरङले अनुरोध पनि गरेको छ। दुवै प्याकेजको ठेक्का श्रेष्ठ रमण एपेक्स जेभीले लिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.