|

काठमाडौं : संघीय राजधानी काठमाडौंमा डेंगुको प्रकोपले महामारीको रूप लिएको छ। 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमामा आउने बिरामीको अवस्थाले डेंगुले महामारीको रूप लिएको पुष्टि गरेको छ। पछिल्लो समय अस्पतालमा डेंगुको रीक्षणका लागि आएका बिरामीमध्ये ७० प्रतिशतलाई डेंगु पोजेटिभ देखिएको छ। 

प्रमुख सरुवा रोग विशेषज्ञ  तथा अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार पछिल्लो तीन दिनमा डेंगुको परीक्षण गराउन आउनेको संख्या बढेको छ भने संक्रमितहरूको संख्या पनि बढ्दो छ। उनले भने, ‘डेंगुको आशंकामा अस्पतालमा जाँच गर्न आउनेको संख्या पछिल्लो समय एक हजार नाघेको छ। चिकित्सकले आशंका गरेकाहरूको मात्रै परीक्षण भइरहेको छ। त्यो संख्या अलि कम हुन्छ तर रिपोर्ट बढ्दोक्रममा छ। हाल अस्पतालमा आएर डेंगु परिक्षण गर्नेमध्ये ७० प्रतिशतलाई डेंगु पोजेटिभ देखिएको छ।'

हाल टेकु अस्पतालमा डेंगुबाट गम्भीर बिरामी भएका २३ जनालाई  भर्ना गरेर उपचार भइरहेको छ। उक्त अस्पतालबाट १२९ जना डेंगुका गम्भीर बिरामी उपचारपछि निको भएर घर फर्किसकेका डा. बाँस्तोलाले जानकारी दिए। 

टेकु अस्पतालको प्रयोगशालामा २१ भदौमा २९६ जनाको परीक्षण गरिएको थियो। त्यसमध्ये १४४ जना अर्थात ६५ प्रतिशतमा डेंकुको लक्षण देखा परेको थियो। 

२२ भदौमा ३६३ जनाको डेंगु परीक्षण गरिएकोमा १९४ जना अर्थात ४४ प्रतिशतमा पोजेटिभ देखिएको थियो भने २३ भदौमा ४४६ जनाको परीक्षण गरिएको थियो। जसमध्ये ३११ जना अर्थात ७३ प्रतिशतमा डेंगुको लक्षण पाइएको थियो। 

टेकुको तथ्यांकले दैनिक रूपमा परीक्षण गराउन आउनेको संख्या र संक्रमित हुनेको संख्या पनि बढ्दोक्रममा रहेको देखाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अहिलेसम्म ५६ जिल्लामा करिब चार हजार बढीमा डेंगु संक्रमण भएको पुष्टी गरेको छ। डेंगुबाट मुलुकमा ६ जनाको मृत्यु भए पनि महाशाखाले ४ जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको छ। मृतक २ जनाको परीक्षण भइरहेको महाशाखाले जानकारी दिएको छ। 

यी हुन् डेंगुका लक्षण र बच्ने उपाय

वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार अचानक ठूलो ज्वरो आएमा, टाउको धेरै दुखेमा, आँखाको पछाडि धेरै दुखेमा, मांशपेशी र जोर्नी धेरै दुखेमा, शरीरमा बिमिरा आएमा, नाक वा मुख कतैबाट रगत आएमा, वाकवाकी लागेमा र बान्ता भएमा तथा बिसन्चो अनुभव भएमा तुरुन्त डेंगुको परीक्षण गर्नुपर्छ। डेंगु लागेको वा नलागेको परीक्षणको एक-दुई दिनमै थाहा हुन्छ। डेंगु छ भने रगतमा प्लेटलेस कम हुँदै जान्छ।

एडिस प्रजातिको लामखुट्टेले मानिसलाई टोकेपछि डेंगुको संक्रमण हुनेगर्छ। लामखुट्टेले टोकेको मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने गर्छ। दुई-तीन दिनपछि लगातार ज्वरो आउँछ, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने जस्ता लक्षण देखिन्छन्। साथै आँखाको पछाडिपट्टीको भाग दुख्ने, वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने लक्षण पनि बिरामीमा देखा पर्ने गर्छ। 

यसलाई वेवास्ता गरियो भने संक्रमण बढ्दै गएर रगतमा प्लेटलेट्सको मात्रा कम हुन गएर शरीरका विभिन्न अंग नाक, गिजाबाट रगत बग्न थाल्ने, दिसा र पिसाबमा पनि रगत देखिनुका साथै रक्तचाप कम हुने, शरीरमा रगतको कमी हुने, मृगौला तथा मुटुमा समस्या देखिने गर्छ।

यस्ता लक्षण देखिएमा डा. पाण्डेले सचेत रहन र स्वास्थ्य कर्मीको सल्लाह लिन सुझाव दिएका छन्। उनका अनुसार घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाइबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पुरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफा राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधीको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.