|

बैतडी : म्याद सकिएको १४ महिना बितिसक्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन। विस २०७५ को असारमा कालोपत्रे गरिसक्ने सक्ने लक्ष्यसहित निर्माण कार्य सुरु गरिएको विमानस्थल अझै कालोपत्रे हुन नसकिएको हो।

तोकेको समयभन्दा १४ महिना बढी भइसक्दासमेत विमानस्थल कालोपत्रे हुन नसक्नुमा निर्माण कम्पनीको लापर्वाही गरेको स्थानीयको आरोप रहेका छ। निर्माण कम्पनीले भने निर्माण सामग्री अभावका कारणमा समयमै काम नसकिएको बताएको छ।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा सबै काम सकिएर पीच मात्रै गर्न बाँकी रहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताए। 'निर्माण सामग्रीको अभावले तोकिएको समयमा काम पूरा हुन नसकेको हो,' उनले भने, 'ठेक्का भइसकेपछि विविध कारणले काम समयमै सुरु नहुँदा पनि समस्या भएको हो।'

वर्षातको कारण र अन्य प्राविधिक कारणले पनि केही ढिलाइ भएको र अलकत्रा र गिट्टीको अभावले समयमै कालोपत्रे गर्ने काम नसकिएको रावलको भनाइ छ। विमानस्थल निर्माण सुरु भएपछि इन्धनको अभाव, बेलाबेलामा हुने बन्दा हड्ताल र निर्माण कम्पनीको पनि केही लापरवाहीका कारण समयमै सम्पन्न हुन नसकेको हो।

पाटन विमानस्थललाई स्तरोन्नती गर्ने कार्य अन्तर्गत ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ। वर्षात भइरहेकाले कालोपत्रेको काम रोकिएकाले वर्षात सकिने बित्तिकै कालोपत्रेको काम सुरु गर्ने इन्जिनियर रावलले बताए।

विमानस्थलाई कालोपत्रे गर्ने कार्यअन्तर्गत बेस, सबबेस र ड्रेनको सबै काम सकिएको नागरिक उडड्यन प्राधिकरणले जनाएको छ। विस २०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनर्निर्माणको काम सुरु भएको हो।

पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ। यसका लागि करीब मूल्य अभिवृद्धि करबाहेक ११ करोड २९ लाखको लागतमा काम भईरहेको छ।

विमानस्थल कालोपत्रे गर्ने कार्य समयमै नसकिएपछि भएपछि स्थानीयबासी भने निराश भएका छन्। विकास निर्माणका कामहरू समयमै नसकिने रोगजस्तै भइसकेको पाटनका स्थानीय दिनेश विष्टको भनाइ छ। लक्ष्यअनुसार काम नहँदा यहाँका स्थानीयमा निरासा छाएको छ।

पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो। त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो।

विस २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो। यस विमानस्थलका कार्यालयका भवनहरू पनि तत्कालीन १२ वर्षे द्वन्द्वकालमा क्षतविच्छेद भएका थिए। यसका साथै विमानस्थल पुनर्संचालन नहुँदा गौचरन, खेलमैदान तथा सवारी साधन सिक्ने मैदानमा परिणत भएको थियो।

पाटन विमानस्थल कैलालीको गेटा विमानस्थलपछिको सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो। नेपाल सरकारले घोषणा गरेको दश नमुना शहरमध्येको एक शहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुन सके झनै पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास गरिएको छ।

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा र बझांग जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ। पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भुवनेश्वर, उदयदेव मन्दिर, त्रिपुरा सुन्दरी, निङ्गलाशैनी मन्दिर, ईश्वरी गंगा धाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.