प्रधानसेनापतिको सम्पत्ति पहिलो पल्ट सार्वजनिक

|
फाइल फोटो

काठमाडौं : नेपालीसेनाले प्रधानसेनापतिको सम्पत्ति विवरण इतिहास मैं पहिलो पटक सार्वजनिक गरेको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको वेबसाईटमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। आफ्नो एक वर्षे कार्यकालको अवसर पारेर सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रमका बीच मंगलबार उनले आफ्नो सम्पत्ति वितरण नेपाली सेनाको वेबसाईटमार्फत सार्वजनिक गरे। त्यस अवसरमा उनले नेपाली सेनामा आवद्ध सबैलाई पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न सचेत गराए।

प्रधानसेनापति थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको उल्लेख गरिएको छ। त्यसैगरी दुई वटा बैंकमा गरेर ६५ लाख नगद आफ्नो नाममा र श्रीमतिको नाममा ५० हजार नगद रहेको पनि नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ।

श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर सम्पत्ति रहेको तथा काठमाडौं, नवलपरासी र लमजुङमा घरजग्गा रहेको पनि प्रधानसेनापति थापाको सम्पत्ति विवरणमा समावेश गरिएको छ। कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले नेपाली सेनामा हुने भ्रष्टाचार अनुगमन र नियन्त्रणका लागि आगामी वर्ष विशेष योजना ल्याउने घोषणा पनि गरेका छन्।

प्रधानसेनापति थापाले सेनाका रथीवृन्द र अधिकृतहरूको सम्पत्तिको छानबिनको कामलाई पनि अघि बढाउने योजना अघि सारे। उनले नेपाली सेनालाई बदनाम गराउने कुनै पनि काम आफूले गर्न नदिने पनि बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.