|

म्याग्दी : ‘सेवा नै धर्म हो, धर्मशास्त्रले भन्छ। ‘बाँच र बाँच्न देऊ, दार्शनिक र समाजशास्त्रीहरुले भन्छन् । धर्मशास्त्र,समाजशास्त्री,दार्शनिकहरुले जे जे भने पनि सबैभन्दा महत्वपूर्ण हुन्छ ‘हाम्रो आत्माले के भन्छ र हामीले के गर्छौं।

२०७१ सालमा स्थापना भएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले करिब ६ वर्षको समयावधिमा १२० भन्दा बढि गरिब बिरामीहरुको उपचारका लागि १ करोड ९० लाख रुपैयाँ सहयोग गरेर नेपालकै नमूना परोपकारी संस्थाको रुपमा स्थापित भएको छ।

कोषले स्थापनाकालदेखि हालसम्म १ करोड ८९ लाख ८२ हजार ८७६ रुपैयाँ आर्थिक संकलन गरी १ सय २९ जना विरामीको उपचारका लागि १ करोड ९० लाख रुपैयाँ सहयोग गरेको ओमकुमारी शान्ति कोषका उपाध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिए। यसैगरी डेढ करोड रुपैयाँको अक्षय कोष अभियानमा लागेको ओमकुमारी शान्ति कोषमा  हालसम्म रु ८४ लाख ४९ हजार ५ सय ३२ रुपैयाँ मुल कोषमा जम्मा भएको उपाध्यक्ष गौतमले बताए। कोषमा ७ सयको हाराहारीमा आजिवन सदस्य रहेका छन्। न्यूनतम ४ हजारदेखि १५ लाखसम्म बिरामीको उपचारमा खर्च भएको छ। 

हाइपोप्लाष्टिक एनिमिला रोगबाट ग्रसित बनेकी बेनी नगरपालिका–४ की ओमकुमारी पुन (शान्ति) को उपचारका लागि सहयोग जुटाउने उद्धेश्यले म्याग्दीका केही मनकारी व्यक्तिहरुको अग्रसरतामा स्थापना भएको यस संस्थाले छोटो समयमा नै परोपकार र मानवतावादको नयाँ परिभाषा स्थापित गर्न सफल भएको ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले बताए।

गत माघमा आफ्नो ३० प्रतिशत कलेजा काटेर ९ महिने बालिकामा प्रत्यारोपण गरी बालिकालाई बचाएका संस्थापक केसीका अनुसार ‘२०७१ सालमा जसको उपचारमा आर्थिक सहयोग जुटाउने र जीवन बचाउने उद्धेश्यले सहयोग संकलन अभियान संचालन गरियो तर दुर्भाग्य, प्रयाप्त आर्थिक र सयौं मानिसहरुको शुभेच्छा हुँदा हुँदै पनि उनै ओमकुमारी पुन (शान्ति) ले यो संसार छोडेर गइन्। बाँकी रहेको उनको चाहना र उपचार गरेर बचेको १३ लाख रुपैयाँबाट उनकै नाममा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपरेका विपन्न विरामीहरुलाई आर्थिक सहयोग गरी उपचारमा मदत पुर्याउने उद्धेश्यले ओमकुमारी शान्ति कोषको स्थापना भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.