|

बैतडी : एक महिनाअघि पहिरोबाट बिस्थापित सुर्नयाका पहिरोपीडितले अझै राहत पाउन नसकेको गुनासो गरेका छन्। गत साउन २२ मा सडकका कारण गएको पहिरोबाट विस्थापित भएका सुर्नया गाउँपालिका–८ मल्लोढोलेका ६ घरपरिवारले अझै राहत पाउन नसकेका हुन्। उनीहरु छिमेकीको घरमा शरण लिएर बसिरहेका छन्।

नेपाल रेडक्रस सोसाइटीको सामान्य राहतबाहेक अरु राहत नपाएको उनीहरुले गुनासो गरेका छन्। पहिरोले घर तथा खेतबारी गुमाउँदा समेत कसैले नहेरेको स्थानीय अम्मर बोहराले गुनासो गरे। पीडित परिवारहरुलाई खान लाउनमै समस्या भएको छ।

पहिरोले लालबहादुर बोहरा, डम्मर बोहरा, अम्मर बोहरा, महावीर बोहरा, रमेश बोहरा र धौलसिंह बोहराको परिवार विस्थापित भएका छन्। उनीहरुको घर जग्गा सबै पहिरोले पुरेको छ। घरबारविहीन भएको एक महिना हुनै लाग्दा समेत कसैले चासो नदिएको पीडितहरुले गुनासो गरेका छन्। 

सतबाँझ श्रीभावर सडकखण्ड अन्तर्गत ढोल्यामोढदेखि वडा कार्यालयसम्म खनिएको सडकका कारण पहिरो खस्दा ६ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने २२ परिवार पहिरोको उच्च जोखिममा रहेको वडा नम्बर ८ का अध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए। पीडित परिवारको समस्या समाधानका लागि गाउँकार्यपालिकाको बैठकमा छलफल गरिने उनको भनाइ छ।

गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले पहिरो प्रभावितको व्यवस्थापनका लागि सरोकारवालाहरुसँग छलफल गरेर अघि बढ्ने बताए। यता जिल्ला प्रशासन कार्यालय बैतडीले पनि विस्थापित भएका पीडितको पुनस्र्थापनाका लागि पहल थालिएको बताएका छन्। प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलेले प्रभावित क्षेत्रको अनुगमन गरिसकेको र पुनस्र्थापनाका लागि मन्त्रालयमा जानकारी पठाएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.