|
फाइल फोटो

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा डेंगु रोगको संक्रमण फैलिएको छ। पछिल्लो डेढ महिनायता यस प्रदेशका ६ जिल्लाका २८ जनामा संक्रमण देखिएको हो। डेंगुबाट एकजनाको ज्यान गइसकेको छ।

बुधबारसम्मको तथ्याकंअनुसार कैलालीमा १५, दार्चुलामा ६, कञ्चनपुरमा ४, डोटीमा १,  अछाममा १ र बैतडीमा १ गरी २८ जनामा डेंगुको संक्रमण स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले जनाएको छ।

जसमध्ये डोटीमा एकजनाको मुत्यु भएको छ। ६ जिल्लाकै बिरामीलाई कैलाली र कञ्चपुरका अस्पतालमा चेकजाचँ गर्दा डेंगुको संक्रमण भेटिएको हो।

प्रदेशभर हालसम्म २८ जनामा संक्रमण देखिए पनि कैयौँ व्यक्ति प्रभावित भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। सबै बिरामीहरू उपचारको पहुँचमा नआएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए। बिरामी अस्पतालको सम्पर्कमा आउने क्रम जारी रहेकाले संक्रमितको संख्या बढ्दै जाने उनले बताए।

सुदूरपश्चिममा डेंगुको संक्रमण बढिरहेको छ। यहाँका हरेक अस्पतालमा डेंगु सङ्क्रमित बिरामी छन्। योबाहेक घर–घरमा डेंगु संक्रमित बिरामी छन्। डेंगुको संक्रमण समयमै नियन्त्रण गर्न नसकिए महामारीको रूप लिन सक्ने सेती अस्पतालमा कार्यरत डाक्टर शेरबहादुर कमरले बताए।

‘खास गरी एडिस जातको लामखुट्टे व्यापक भएका ठाउँहरूमा यसको भौगोलिक विस्तार हुँदै नजाला भन्न सकिँदैन,’ उनले भने, ‘किनभने डेंगुको जोखिम सामान्यत कात्तिक मंसिरसम्म रहने गर्छ।’

किट अभाव

कञ्चनपुरको महाकाली अस्पतालमा डेंगुको परीक्षण गर्ने किटको सकिएको छ। स्वास्थ्य विभागले समयमै किट नपठाएकाले अभाव भएको हो।

ज्वरो आएका बिरामीको रगत परीक्षण गर्ने आडिटी किट नहुँदा डेंगु परीक्षणमा समस्या भएको महाकाली अस्पतालले जनाएको छ। पहाडी जिल्ला डडेल्धुरा अस्पताललगायतका अस्पतालहरुमा किट नै नरहेको पाइएको छ।

रोकथामको प्रयास किन भएन्?

डेंगु नियन्त्रणका लागि सरकारले प्रयास गरेको दाबी गरे पनि उपलब्धि कुनै देखिएको छैन। सुदूरपश्चिम प्रदेश सरकार जनताको स्वास्थ्यप्रति गम्भीर नभएको आरोप स्थानीयको छ।

प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले रोगको संक्रमण देखिएको ठाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको भए पनि अन्य ठाउँका लागि भने अहिले केही कार्यक्रम सुरु नभइसकेको बताए।

त्यसका लागि मन्त्रालय मातहतका निकायलाई निर्देशन भने दिइसकेको उनको भनाइ छ। तर मन्त्रालय मातहतका निकाय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय लगायतले डेंगु नियन्त्रणका लागि प्रभावकारी पहल गरेको देखिएको छैन।

‘संक्रमित क्षेत्रमा रोग निण्न्त्रणका लागि टोली नै खटाएर काम भइरहेको छ,’ सूचना अधिकारी खड्काले भने, ‘औषधि छर्नेलगायतका काम अझै हुन बाँकी छन्।’ जनशक्ति अभावलगायतका कारण पनि डेंगु नियन्त्रणका लागि प्रभावकारी पहल भने हुन नसकेको उनले स्वीकारे। स्थानीय तहको भूमिका पनि खासै केही देखिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.