|

काठमाडौं : उपत्यका तथा उपत्यकाबाहिर बेवारिसे रुपमा भेटिने शवहरूको व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई अष्ट्रेलियाको शिक्षण संस्था बक्स हिलले १५ सय अष्ट्रेलियन डलर सहयोग गरेको छ। मंगलबार एक कार्यक्रमबीच रकम हस्तान्तरण गर्दै बक्स हिलका म्यानेजर जोन क्यूले ‘बस्नेतको काम मानवीय भावनाले ओतप्रोत रहेको’ बताए।

६ वर्षअघि दुर्व्यसनबाट निस्केका बस्नेत, त्यसयता समाजसेवामा होमिँदै आएका छन्। आर्यघाट तथा अन्य स्थानहरुमा भेटिने शवहरुको व्यवस्थापनमा जुट्नु उनको दैनिकी हो। ‘दुर्व्यसनमा छँदा आफ्नै जीवन देखेर विरक्त लाग्थ्यो,’ कार्यक्रममा उनले भने, ‘एकदिन जीवन बदल्ने निधो गरें, र शव व्यवस्थापन कार्यमा होमिएँ।’

‘बाँचुन्जेल त मानिसले समान रुपमा बाँच्न पाएका छैनन्,’ बस्नेतले भने, ‘मरेपछि पनि शवमाथि अन्याय हुने गरेको छ, त्यसलाई रोक्नु आजको आवश्यकता हो।’

अष्ट्रेलिया जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएका कन्सल्टेन्सीहरुको छाता संस्था नायरले उक्त कार्यक्रमको संयोजन गरेको हो। नायरका अध्यक्ष विज्ञान श्रेष्ठले अष्ट्रेलियन शिक्षण संस्थाले नेपालप्रति देखाएको सदासयताको प्रशंसा गरे। नायरका महासचिव उद्धव खड्काले भने, ‘बस्नेतजीले सम्मानयोग्य काम गर्नुभएको छ, सहयोग गर्न पाएकोमा हामी खुसी छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.