नेताको स्वार्थ पूरा भएसँगै तुहाइन्छ स्थानीयको सपना

|

पर्वत : पर्वतको कुस्मा नगरपालिका १२ पिपलटारीको सिमखेत र फलेवास नगरपालिका-३ शंकरपोखरीको सिमखेतका स्थानीय नागरिकलाई गाउँमा कोही पनि नेता पुग्यो कि घृणा लाग्छ आजभोलि।

निर्वाचनको बेलामा होस वा नेताका अघिपछि हिँड्नुपर्ने कुनै पनि समयमा सिमखेतबासीहरूलाई स्थानीय मल्याङ्दी खोलामाथि रहेको काठे साँघुको विस्थापनको सपना बाँडिन्छ तर जब आश्वासन दिनेहरूका सपना पूरा हुन्छन्, स्थानीयका सपनाहरू फेरि तुहाइन्छन्।

संविधानसभाको निर्वाचनदेखि स्थानीय तहको निर्वाचन हुने बेलासम्मका धेरै नेताहरूले सिसाठाँटीमा रहेको काठे साँघुका विस्थापनको सपना बाँडे। स्थानीयले पत्याए, अनि सोचे ‘अब काठबाट खोलामा खसेर खोलासँगै बगेर ज्युँदैमा मृत्युको अनुभव गर्नुपर्दैन।’ जब चुनावहरू सकिन्छन् अनि जीवनलाई जोखिममा राखेर खोला तर्नुपर्ने अवस्थाको अन्त्य होला भन्ने सपनामा अलमलिएका स्थानीय साँच्चीकै सपनामा अलमलिन थाल्छन्।

कुस्मा नगरपालिका र फलेवास नगरपालिकाको सिमानामा रहेको मर्स्याङ्दी खोलामा झन्डै ३० वर्षदेखि काठका खम्बा तेर्साइएको छ। हरेक वर्ष बर्खाको पानीले ती काठ कुहिन्छन्, अनि अर्को वर्ष पनि काठ फेरिन्छ, त्यसैलाई पुल मान्दै दुई गाउँ र दुई पालिका आउजाउ गरिन्छ।

हिउँदको समयमा मर्स्याङ्दी खोलामा जोखिम नभए पनि बर्खा याममा उर्लिएर भेल आउँछ त्यही भेलमाथि जोडेर राखिएका काठका तीन ओटा पोलबाट गाउँपालिका स्थानीयहरू आवतजावत गर्छन्।

पिपलटारीबासीको केही खेत शंकरपोखरीमा छ अनि शंकरपोखरीका स्थानीयको केही खेत पिपलटारीमा छ। त्यति मात्रै होइन, दुवै तर्पm माध्यमिक तहका विद्यालयहरू छन्। शंकरपोखरीका विद्यार्थीहरू पिपलटारी र पिपलटारीका विद्यार्थी शंकरपोखरीमा अध्ययनका लागि आउजाउ गर्छन्। अध्ययनका लागि होस वा कृषिका लागि नै किन नहोस् आउजाउ गर्दा हरेक दिन जीवनलाई दाउमा राख्दै गुजार्नुपर्ने उनीहरूको बाध्यता छ।

पर्खिँदा पर्खिँदा बूढो भइयो पुल बनेन

‘पोहोर असारमा पनि हाम्री बुहारी लिर्केर साँघुबाट खोलामा खसिन्, बगाउँदै तलसम्म लग्यो, यहीँका नारन भन्नेले घाँस काट्न लागेका रहेछन्, कस्सो देखेर खोलामा हाम फालेर बुहारीलाई बचाए।

यस्ता घटना पटकपटक भइसकेका छन्।’ स्थानीय माया अधिकारीले भनिन्, ‘पुल ल्याउँछम ल्याउँछम भनेको त कति वर्ष भयो, तर पुल आएन, पुल पर्खिँदा पर्खिँदै बुढ्यौली लाग्यो।’ साँघु तर्दा जति नै जोखिम भए पनि वारपार नगरेसम्म हातमुख जोड्ने जोहो नहुने भएकोले ज्यान जोखिममा राखेर जीवन काटिएको अर्का स्थानीय प्रेमबहादुर कार्कीले बताए।

‘यस्तो आवश्यक छ कसैले चासो राख्दैनन्। वरिपरि यत्रो ठुलो गाउँ छ।’ उनले भने, ‘सिमानामा परेर बाँच्नुको पीडा जहाँ पनि यस्तै हुँदो रहेछ कि? हामीलाई बेवास्ता गरिएको हो? मेसो पाउनै सकिएन।’

कार्कीका अनुसार खोलाले खेतीपाती र घाँस दाउरा गर्न आउजाउ गर्ने, अध्ययनका लागि विद्यालय जाने तथा बजार आउजाउ गर्ने धेरै स्थानीयले पटकपटक बगाउँछ। तर खोलाको छेउमा बस्दै आएका कारण पौडी खेल्न सक्ने सीपका कारण पट्क पट्क स्थानीयको ज्यान जोगिएको छ।

खोला किनारमा दुवैतर्फ खेतीयोग्य जमिन भएकोले मल्याङ्दीको पानीले माछापालन, बंगुरपालन, तरकारी खेती लगायतका उत्पादनमूलक काम गर्ने सकिने स्थानीयवासी बताउँछन्। जग्गा उत्पादनयोग्य रहेको भने दुई गाउँका बासिन्दाको खेत वारी र पारी भएकोले खोलाकै जोखिमका कारण खेतीपाती गर्न नै समस्या भएको उनीहरूको गुनासो छ।

कसैले  वास्ता गरेनन्

खोलामा पुल चाहियो भन्दै स्थानीयले सार्वजनिक मञ्च, तत्कालीन जिविस, सम्बन्धित सरकारका विभाग र मन्त्रालयसहित पुग्नुपर्ने ठाउँमा धेरै पटक पुगिसकेका छन्। तर कसैले पनि सुनुवाइ नगरेपछि उनीहरू अहिले पुलको माग गर्दै अन्यत्र धाउन छाडेको भए पनि स्थानीयले सरकारसँग भने पुलको माग राखिरहेका छन्।

शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले धेरै ठाउँमा वर्षौँदेखि यही माग राख्दै आएको भए पनि कसैले वास्ता नगरेको बताए। ‘साँघु भएको ठाउँलाई सिसाठाँटी भनिन्छ, त्यहीँबाट कार्कीनेटाबाट जाने सडक लाने कुरा पनि भएको छ, अब झोलुङ्गे पुल होइन मोटरेबल पुलको आवश्यकता भएको छ।’  उनले भने, ‘कुस्मा र फलेवास दुवै नगरपालिकाले लगानी गरेर हुन्छ वा प्रदेश वा सङ्घीय सरकारलाई भनेर यहाँ तुरुन्त पुलको आवश्यकता छ।’

फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले भने पिपलटारी र शंकरपोखरीलाई जोड्ने कुरा खोलाको दुवै तर्फको किनारमा मोटर बाटो पुगेका कारण अब खोलामा मोटरेबल पुल नै निर्माण गर्ने र त्यसका लागि केन्द्रीय सरकारलाई अनुरोध गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.